
सडकको जाम धुवाँधुलो लखतरान भएर घर पुग्दा आज पनि सातै बज्यो । छोराछोरी आँगनमा खेल्दै रहेछ्न् ।
सोफामा झोला, टेबुलमा मास्क, भुइँमा मोजा, बेसिनमा कपप्लेट कट्कटिइरहेका । पानी पँधेरै चुलो अँधेरै ।
कन्सिरी तात्तिएर आयो ।
“ओइ ! भित्र आओ त ।”
“यो लथालिङ्ग र भताभुङ्ग के गरेको ? आफ्ना सामान, आफूले गरेको फोहोर व्यवस्थापन गर्नु पर्दैन ? कुन तिमेरकी आमालाई नोकर राखेका छौ र थुपार्दिएका ? कुन जन्मका साहू रहेछौ नि तिमेरु मेरा !”
मैले अठारै पूराण एकैचोटि वाचन गरेँ ।
छोरी सोफाको झोला र मोजा टिपेर कोठामा पसी । छोरा भाँडा माझेर हिँड्यो । एकैछिनमा घरमा सन्नाटा छायो ।
मलाई पनि कस्तो पारो तात्तिएको । राम्ररी सम्झाएको भए हुन्थ्यो नि । आखिर म त पचासको नोट पो हूँ त । पाँच दश बीस पच्चीस सबैका अनुभव अटाएका छन् पचासमा, भन्छ एउटा मन । बच्चा हुन् र ? जहिल्यै ज्यू ज्यू गर्न । नाङ्लो ठटाएर हात्ती तर्साउनु नि पर्छ कहिलेकाहीँ, भन्छ अर्को मन ।
खाना तयार गरेँ । केटाकेटीलाई बोलाउनु पर्यो । अघि त्यतिविधि प्रवचन दिएको छ । तर छोरीले त ढोकाको चुक्कुल लगाइछ । एकपटक आमाले गाली गर्दा सल बोकेर पासो लाग्न हिँडेको सम्झेँ । बुझ्ने भएकी छोरीलाई त्यो फलानथोक ….चैं नभनेको भा”नि हुने मैले नि ।
छोराको कोठामा पसेँ । पसिनै पसिनाले निथ्रुक्क भएर पल्टिएको रहेछ । मन अमिलो भयो । फेरि छोरीको कोठामा छिडीबाट चियाएँ । मधुरो विद्युतको प्रकाश, जोडले पङ् चलिरहेको, ऊ आफ्नै सुरमा उता फर्केर बरबराइहेकी । सार्है चित्त दुखाएछु । गएर कान समाएर माफी मागौँ या के गरौँ ? अन्यमनस्कताको शिकार भएँ म ।
“किन एकोहोरिनु भएको आमा ? नयाँ जेनेरेसन पो त दिदीले टिकटक बनाएकि हो”, छोरोले भन्यो ।
‘अनि तँ चैं असिनपसिन भएर के पुरुषार्थ गरेर आको नि ?’
“सिक्स प्याक बनाउनु पर्यो नि । प्ल्यांक गरेर आएको । “



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

