साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सोच

Chovar Blues Mobile Size
दीपक समीप

झलक्क हेर्दा ऊ त्यति राम्रो मान्छे त होइन । तैपनि उसले दिनदिनै नयाँ–नयाँ केटीहरू कसरी घुमाउँछ ?

म सोच्न थाल्छु….

ऊ सामान्य सरकारी जागिरे हो । तैपनि उसलाई दिनदिनै दोहोरी रेष्टुरेण्ट धाउन कसरी पुगिरहेको छ ?

म सोचमग्न हुन्छु….

पहिले हामी एउटै घरमा भाडामा बस्थ्यौं । हालसालै नयाँ घर किनेर ऊ डेराबाट मुक्त भएको छ । गाउँको त्यति जाबो जग्गा जमिन बेचेर शहरमा घर किन्न त गाह्रै पर्छ र पनि उसले घर कसरी किन्यो ? कतै चिठ्ठा पो पर्यो कि !

sagarmani mobile size

म गम्भीर सोचमा छु…

पहिले–पहिले सँगै पैदल अफिस जाने हामी आजभोलि ऊ आफ्नै गाडीमा हुइँकिने गर्छ । पदोन्नति पनि भएको छैन । छोराछोरी विदेशमा कमाउन पनि गएका छैनन् । फेरि कुनै चिठ्ठा परेको पनि हामीलाई थाहा भएन । मान्छेले कसरी प्रगति गर्छन् हँ ?

म सोच्न बाध्य भएको छु…

जाडोको याम थियो । घाम ताप्न भनेर म घरबेटीको घरको छतमा टहलिँदै थिएँ । तल सडकमा रमिता देखियो । बुझ्दा, पत्ता लाग्यो– उसको घरमा अख्तियारले छापा मारेर उसलाई समातेर लगेछ।
अब भने, मैले उसको बारेमा सोच्नै छोडिदिएँ ।

प्रतिक्रिया
Loading...