डाक्टर सापले मलाई एक महिनापछि फलो अपमा बोलाउनु भएको थियो । महिना दिन नपुग्दै रोग निको हुनुको साटो झन् बल्झिँदै जान थाल्यो । डाक्टरले तत्कालै एक दुई दिनभित्रमै अस्पताल आउन भन्नुभयो । उहाँ अबको दुई दिनपछि विदेश जानुपर्ने सेड्युल रहेछ ।
साथमा बुढी जाने भई । म रोगीलाई सम्हाल्न गएकी बुढी आफैं गाडी लागेर लखतरान हुन्थी । बुढी सधैं भन्ने गर्थी, “बुढा मेरो सानैदेखिको रहर छ जहाज चढ्नी । लौ न पूरा गरिदेऊ न ।” एक मनले सोचेँ बुढीको रहरलाई मैले पूरा नगरिदिए कसले पूरा गरिदिने ? अहिले पूरा नगरिदिए कहिले पूरा गरिदिने ? जे पर्छ पर्छ ऋण लागे लागे लागोस् । अहिले काठमाडौं जाँदा जहाजमै जाने हो । मन दह्रो पारी फुकाएँ । त्यही दिन भाइलाई भोलीको लागि पोखरा टु काठमाडौंको दुईवटा जहाजको टिकट लिइदिन भनें ।
“बुढा भोलि त पहिलोपटक प्लिन चढ्नी हो नि । फुटो खिचेर फेसबुकाँ हाल्न पर्च है । मोबाइलमा चार्ज छ कि छैन । फूल चार्ज गर नि फेरि उहाँ पुग्दा नपुग्दै चार्ज नैं सकिएला ।” बुढी राती अबेरसम्म यस्तै गन्थनमन्थन गर्दै बसिराखेकी थिई ।
भोलिपल्ट बिहानै हामी काठमाडौंको लागि प्रस्थान गर्नुपर्ने थियो । तीन दिन देखि लगातार पानी परिराखेको थियो । दिउसो १ बजेको फ्लाइट थियो । हामी यति हतारमा थियौँ कि गाउँबाट करिब १ घण्टाको बाटो जिपमा र ढाइ घण्टाको बाटो बसमा यात्रा गरिसकेर पनि लगभग १० बजे एयरपोर्टमा पुगिसकेका थियौँ । प्लेनको यात्राको पहिलो अनुभव के होला कस्तो होला ? मनमा खुलदुली हुनु स्वाभाविक नै थियो । फ्लाइटको समयभन्दा करिब एक घण्टा अघि नै हामी एयरपोर्टभित्र छिर्यौं । मलाई नौलो संसारमा आएजस्तो लाग्यो । सबै ठाँट बाँट र रवाफका साथ एयरपोटको भित्र र बाहिर गरिराखेका थिए । गाउँबाट झरेका हामी । हाम्रो पहिरन र हाउभाउलाई देखेर होला मान्छेहरु खिसीको नजरले फर्किफर्की हेर्थे ।
हामी एयर पोर्टमा छिर्नेबित्तिकै फोटो खिच्न थाल्यौँ । मोबाइलको मेमोरी फूल नहुदाँसम्म फोटो खिचियो । खिचेका फोटा जति सबै फेसबुकमा अपलोड गरेँ । अनि क्याप्सनमा लेखेँ ‘ट्राभलिङ टु केटिएम’ । मन ढुकढुक हुन थाल्यो किनकि जहाजमा पाइला राख्ने बेला भएको थियो ।
खराब मौसमका कारण जहाज उड्न केही समय लाग्ने भनी सूचना आयो । मौसम सुधार हुने कुनै संकेत देखिएन । फ्लाइट कुरी बस्दा बेलुकाको ६ बजिसकेको थियो । तर फ्लाइटको अत्तोपत्तो थिएन । मन पोल्न थाल्यो । भोलि दश बजेभित्र अस्पताल पुग्न सकिएन भने डाक्टरलाई भेट्न पाइँदैन । भाइलाई फोन गरेँ । उसले भन्दै थियो, “हतारै भए नाइट बसमा जानु न त के भयो र ?” जहाजको टिकट भाइको आफ्नो ट्राभल एजेन्सीबाट लिएकाले मलाई त्यसमा टेन्सन लिइराख्नपरेन ।
मैले नाइट बसको टिकट लिएँ । संयोगले गाउँको एकजना भाइ भेट भयो । “दाइ तपाईँ यहाँ ? अनि अघि भर्खर मात्रै फेसबुकाँ एयरपोटको फोटो हाल्नुभा थ्यो त । प्लेनको फोटो बसको यात्रा हा हा गजब छ है !” उसले मतिर फर्केर खित्का छाडेर हाँस्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।