०७२ को भुइँचालोले घाइते बनाएर थन्केको बाजेको पालामा बनेको बुडो दराजमा थन्केर बसेको शैक्षिक प्रमाणपत्रलाई आज सपनामा देखियो भनेर सुनाउँदै थियो धन बहादुरले । अक्करे भिरबाट बाको बाले सकिनसकी सखुवाको टिम्बा फोरेर बनाएको दराज घाइते भएको भन्दा दराजभित्र थन्किएको शैक्षिक प्रमाणपत्र खोइ के के भए के के ।

सुशील लामा

अरब आउनुअगाडि धेरै पटक धेरै ठाउँमा त्यो प्रमाणपत्र बोकेर जुत्ताको तलुवा खिइन्जेल जागिरको निम्ति अनुनय बिनिनय गरियो हजुरहरुको चरणमा परेर । साइनो बिनाको नेतृत्वले शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट ऋण दिनेछु भन्ने कुराको पछि लागेर लाख कोसिस गरे । सफल हुन सकेन । अन्ततोगत्वा नेपाली युवाको रोजगारको विकल्प मेनपावर कम्पनीको शरणमा परेर धनकमाउन धनकुटाबाट धरान हुँदै अरब छिरेको धन बहादुर । १२-१५ वर्ष खर्चेर हाँसीहाँसी हासिल गरेको शैक्षिक प्रमाणपत्र खासै काममा आएन धन बहादुरको जिन्दगीमा ! धेरै बौद्धिक मेहनतले प्राप्त गरेको प्रमाणपत्रको नक्कल फोटोकपीको खिल्ली उडाउँदैछ । अरबको ५०° तातो गर्मीले ।

ज्याला मजदुरी गरेर भए पनि निराअक्षर धन बहादुरको बाले राम्रैसँग दिएको थियो शिक्षा-दीक्षा धनबहादुरलाई । धनबहादुर को बाले औपचारिक शिक्षा नलिएको भए पनि थाहा थियो उनलाई शिक्षाको बारेमा । त्यसैले आफू हारेर भए पनि आफ्नो छोराछोरीलाई जिताउन गाउँले मुख्याको खप्कीदेखि हातमा उठेको ठेलाको पर्वाह नगरी निरन्तर जोती रहे गोरुले सरी हली बनेर साहु भनाउँदो मुख्याको खेतबारीमा । सन्तीको सुदूर सुनिश्चित उज्ज्वल भविष्यको खातिर खर्चेको पसिनाले कमाइरुपी छोराले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र पुरानो मैलो फाइमा गुम्सेर बस्दा धन बहादुरको बाको नदुखेको होइन । तर के गर्ने नातावादले ग्रासित भएको देशका सबै ठाउँहरु निरही बनेर टुलुटुलु हेर्नुको विकल्प के नै हुन्छ र भुइँमान्छेको ।

धनबहादुरको धन कमाउने सपनाहरू पराइ मुलुकले पूरा गर्लान् या नगर्लान् त्यो भविष्यको गर्भको कुरा हो । तर धन बहादुरले तनमन खर्चेर प्राप्त गरेको शैक्षिक प्रमाणपत्रको सक्कलकपी कहिलेसम्म थुनेर बस्ने हो बुडो घाइते दराजभित्र ..।