‘लौ म हिँडे है दर खान । राति आउन ढिला हुन्छ ।’ सखारै श्रीमानलाई ब्युझाउँदै भनेकी थिएँ ।

अघिल्लो दिन पनि भाइले दरको निम्तो सम्झाएको थियो । साथीसँगी र दिदीबहिनी भेट्न पाइने उत्सुकताले दङ्ग थिएँ । झिसमिसेमै तयार भएकी थिएँ ।

मनोहर पोखरेल

‘फेरि सुत्नु होला नि ।’ हल्लाउँदै थपेकी थिएँ– ‘केटाकेटी भोकै पर्लान्, पकाएर छोराछोरीलाई पनि खुवाउनुहोला ।’

यसपटक भाइले घरमा टेण्ट लगाएको थियो । टेबुल, कुर्सी, साउन्ड सिस्टम, चिसोतातो सबै व्यवस्था गरेको थियो । भाइले नाच्ने, रमाइलो गर्ने प्रस्ताव गर्दै भन्यो– ‘यसपटक पकाउने झन्झट नगरेर होटलबाटै मगाएको दिदी ।’

कारणसमेत अर्थ्याउँदै प्रष्ट पारेको थियो– ‘पकाउने काममा अल्झिँदा रमाइलो गर्नै पाइँदैन । वर्ष दिनको चाड पकाउँदा र खाँदामै ठिक्क, कुरै नगरी छुट्टिने बेला भइसक्छ ।’ दर खाँदै दिदीबहिनी जिस्किँदा गज्जब रमाइलो भयो ।

घर फर्किदा राति अबेला भइसकेको थियो । श्रीमान् ढल्किएका थिएँ । नानीहरु दायाँबायाँ सुतेका थिए ।

आफूलाई भने होटलको परिकारले चित्तै बुझेको थिएन । पहिले आमाले घिउभात, मासु, तरकारी, अचार, दही खुवाएको सम्झेँ । भोलि व्रत थियो ।

आज पनि व्रत लिनु उपयुक्त हुन्थेन । भान्सामा छिरेर कसैले थाहा नपाउने गरी खानाको सुरसार गर्न थालेँ । वरपरकाले थाहा पाए माइतमा खुवाएनन् भनेर जिस्काउलान् भन्ने डर पनि थियो ।

श्रीमानले खाना पकाउन रोक्दै भने– ‘फ्रिजमा तयारी अवस्थामा छ दर, तताएर ल्याऊँ । एक्लै खान मनै लागेन ।’

श्रीमानको पछिल्ला कुराले झनै जिल्ल परेँ – ‘अब दर पनि सँगै खाने हो, व्रत पनि सँगै बस्ने हो ।’