ठुलो घर। बाहिरबाट देख्दा वरिपरि बन जंगलले घेरेको । ती आमै सधैँ देखिन्छिन् त्यही झ्यालको ग्रीलमा हातले समातेर बाटोतर्फ हेरिरहन्छिन् ।

रेणु नयाँ नयाँ त्यो सहरमा सरूवा भएर आएकी । बिहान अफिस जाँदा पनि देख्छिन् आउँदा पनि । उनको उत्सुकता बढ्दै गयो । कसलाई थाहा होला !

कुञ्जदेवी उपाध्याय (असम)

एकदिन छिट्टै अफिसबाट आउने मौका मिल्यो । उनी सिधै आएर त्यो गेटअघि स्कुटी राखिन् । ठुलो गेट खोलेर भित्र पसिन्। बाहिर कोही थिएन । घरको मुल ढोका खुल्ला भएको हुनाले रेणु भित्र पसेर हेर्छिन् । सबै सामान थिए घरमा । तर धेरै दिनदेखि व्यवहार नभएको जस्तो लाग्यो।

उनी त्यो झ्यालतिर लागिन् । आमै त्यहीँ थिइन्।

मनमा हरेक शंका लिएर बोलाइन् आमै… ।

शब्दघरका चार दिवारमा ठोकिएर आवाज रोकियो । फेरि बोलाइन् । आमैले बल्ल उनीतिर हेरिन् तर कुनै जिज्ञासा थिएन आँखामा।

धेरै कोसिसपछि बात भयो । कुनै आर्मी अफिसरकी पत्नी रैछन् आमै । युद्धमा पतिले प्राण बलिदान दिएपछि एकमात्र छोरो रात्रिको अँध्यारोमा कसैले बोलाएर लगेछ । आएनन्।

आजसम्म त्यो झ्याल छेउ बसेर छोराको प्रतीक्षा गरिरहेको जानकारी मिल्यो । आमैका आँखामा न आँसु थिए न आवेग ।

रेणुको शान्तना दिने भाषै थिएन । उनी भगवान् सँग आमैको छोरो सही सलामत घर फर्काउने प्रार्थना गर्छिन् ।