“देश परिवर्तन गर्न क्रान्तिको आवस्यक छ ।”
केही जमातले यही भनेर जप्दै हिँड्थे । गणतन्त्रसम्म पुग्यो तर उनीहरु मात्र उडुसझैँ मोटाए । चुसे, लुछे र चपाए ।
बिराजमान रायमाझीले जागिर खान धेरै कसरत गरे । क्षेत्री हुनाको कारण सरकारी कोटामा परेनन् । ८१% ल्याउँदा पनि मधिशे, जनजाति, मुस्लिम, दलित भन्दै धनाड्य परिवारका ५०% सम्म पनि अंकभार नल्याउने छनौट भए । उनलाई नकारियो । उनी आर्थिक रुपमा अत्यन्त दयनीय अवस्थाबाट गुज्रेका थिए ।
न व्यवसाय गर्न वातावरण थियो । न सरकार तथा राज्यबाट व्यवसाय गर्न युवाहरुलाई पहल गरियो । उनी लगायत ५ लाखभन्दा बढी स्नातक सकेका युवाहरु पलायन भएका थिए । यो देशको ठूलो नोक्सान हो । शिक्षित तथा विशिष्ट क्षमताका युवाहरु पलायनले देश खाडलमा जाक्थ्यो । उनले ऋण धन गरेर सोह्र लाख बुझाएपछि कन्सल्टेन्सीले भिजा प्रोसेस गरिदियो । उनी जापान पुगे । तीन वर्षमा ऋण छिने । अब उनलाई व्यवसाय गर्न सक्ने पैसा कमाउनु थियो । उनी लागि परे ।
एक बिहान साथीले आग्रह गर्यो, “नेपालबाट टोकियो घुम्न नेता आएका छन् रे, भेट्न जाऊँ ।”
उनले तर्कँदै भने, “हैट! किन जाने प्रतिक्रान्तिका मतियारहरु भेट्न । क्रान्ति भएको थ्यो भने असी लाख युवा पलायन हुनु पर्ने थिएन । क्रान्तिको अर्थ-परिवर्तनहरु जनताको आर्थिक अवस्थामा रुपान्तरण हुनु पर्छ, हक अधिकार सुनिश्चित हुनुपर्छ । जीवनयापन सहज र सरल हुनु पर्छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।