मोबाइलमा नयाँ नम्बरबाट घण्टी बज्नु मेरो लागि कुनै नौलो कुरो थिएन । नयाँ अफिसको कामसँगै नयाँ स्टाफ र साथीहरुको फोन आइरहन्थे। फिल्डको काम परिरहने हुँदा गाउँका किसानको फोन पनि बारम्बार आइरहन्थ्यो । फोन उठाउँदा बितिक्कै हेल्लो नभनी आवाज आयो सर नमस्ते, मैले नमस्ते भनी फर्काएँ।

रविन बास्ताकोटी

उता बाट अ…. सर हजुर हाम्रोमा गाईले के भन्दै अन्कनाउँदै बोलेको आवाज आएपछि मैले बुझिहाले किसनको फोन हो। अनि सोधै भन्नु त के थियो होला ? अलि मधुरो स्वरमा आवाज आयो हाम्रो घरको गाइले बहर खाजेको छ।मैले बुझे कृत्रिम गर्भाधानको फोन रहेछ।

गाउँमा प्रविधिको पहुच सँगै कृत्रिम गर्भाधानको सानादेखि ठुला कृषकहरुमा कृत्रिम तरिकाबाट गर्भाधान गराउने प्रचलन लोकप्रिय बन्दै गएको थियो । गाईभैंसीलाई डोर्याउँदै बहर, रागोसँग लैजान नपर्ने, घरमा नै प्राबिधिक आएर कृत्रिम गर्भाधान गराइदिने हुँदा किसानको समय बचत हुने, पशुको नश्ल सुधार भई दुध उत्पादन बढ्ने कुरा बुझेका किसानहरुले कृत्रिम गर्भाधान गराउने रहेछन्। बहर खोजेको समय, घरको लोकेसन इत्यादि नोट गरी म साढे चार बजेतिर आउँछु भनी फोन राखिदिए।

फोनमा दिएको लोकेसनअनुसार केही ढिलो गरी म किसानको घरमा पुगेँ । घरमा बुढी आमा र रातो लिपिस्टिक लगाउने महिला थिइन्। त्यति साह्रै उमेर नकाटेकी हुनाले कृत्रिम गर्भाधानका लागि सामग्री तयारी गर्ने क्रममा आवश्यक सहयोग र सामग्री जुटाउँदा कुराकानी सहज होस् भनी भाउजु साइनो लगाई कुरा गरेँ । कृत्रिम गर्भाधान सकिसकेपछि कृत्रिम गर्भाधानपछि के के खान दिन हुने र नहुने विषयमा आमैले चासो व्यक्त गरिन् । मैले केही बार्न पर्नै वैज्ञानिक कारण नरहेको जानाकारी दिएपछि आमै भित्र छिरिन् । रातो लिपिस्टिक वाला भाउजुले थप प्रश्न गरिन् ।

‘बहर लगाएपछि वा कृत्रिम गर्भाधानपछि नुन दिन हुँदैने रे नि सर ?’

त्यतिकैमा भित्रबाट सानो नानी आइपुगिन् मामु मामु गर्दै । मैले जिस्किने पारामा सोधिदिए। भाउजु यो नानी जन्मँदा तपाईंले कति दिन बिलिनो तरकारी खानुभयो ? भाउजु लाजले लिपिस्टिकजस्तै रातो मुख लगाउँदै पानी ल्याएको अम्खोरा टिपेरभित्र लागिन्।