ममता मृदुल

श्रीमतीलाई लिएर भरतपुर क्यान्सर अस्पतालभित्र पसे ।अमिलो मन बोकेर डाक्टरको छेउमा पुगे ।

अवस्था राम्रो छैन एक पटक फेरि दिसा, पिसाब, रगत, एक्सरे र भिडियो एक्सरेको रिपोर्ट हेरेर डाक्टरले भने ।

“के भन्यो डाक्टरले ? सञ्चो त हुन्छ नि ?”

ससुरा बुवाले फोनमा भन्नुभयो ।

“रिपोर्ट सबै ठिकै छरे । एउटा अर्को जाँच पनि गराउनुस्, भन्नुभएको छ ।” उहाँलाई सम्झाउँदै भने ।

होटेलको कोठामा रातभर छट्पटाउँदै बसेकी श्रीमतीको पीडाले म पनि छट्पटाउनुको विकल्प खोज्थेँ । म लाचार थिएँ ।

सुई, औषधिले पनि उनको पीडा कम हुँदैनथ्यो ।

“उनीलाई लास्ट स्टेज क्यान्सर भएको छ । शरीरभरि फैलिसकेको छ । उपचार सम्भव छैन । अब केमो थेग्न सक्नुहुन्न । घर लग्दा हुन्छ ।”

डाक्टरको कुराले म छाँगोबाट खसेजस्तो भएँ। छेउकै कुर्सीमा थुचुक्क बसेँ ।

रुँदै अनुनय विनय गरेँ । बचाइदिन आग्रह गरेँ ।

उनले भने , ‘म सकेसम्म बचाउन चाहन्थेँ तर सक्दिनँ ।’

आँसु पुछेर कृत्रिम मुस्कान अनुहारमा ल्याउँदै डाक्टरको कोठाबाट म बाहिर निस्केँ ।

“सामान्य समस्या रहेछ । घरमा आराम गर्दै तीन महिना औषधि खाए ठिक हुन्छ भनेको छ ।

मेरो कुरा सुनेर उनको मलिनअनुहार हँसिलो भएर आयो।

ओछ्यानबाट उठ्ने कोसिस गर्दै उनले भनिन्, ‘त्यसो भए चिन्ता नलिनु म पाखोबारी सबै खन्छु ।’

‘तपाईं काममा जानु, कान्छो छोरालाई भैंसी फुका भन्नू है फुनमा ।’