शान्ति सापकोटा

“गैरे कान्छाको छोरा विनोद आएछन् नि !” आमाले सुनाइन् ।

“के भो त ?” छोरी झर्की ।

“काठमाडौं पढ्न ग’का कति राम्रा भर्भराउँदा भएछन् । दुःख गर्न नपरेर होला नि !”

“होस् न त, तपाईँलाई कति चासो परेको ?”, आँखा तरी छोरीले ।

आमाले फेरि लामो सुस्केरा हाल्दै भनिन्, “के गर्नु हामीले त तेरो दाइलाई काठमाडौं पढाउन सकिएन । कोदालो मच्चाउँदै गाउँमै पढ्यो बरा । अहिले त पखेरा बारीमा सुन्तला लाउँछु भन्छ । कृषिबाट जुनार र कागतीका बिरुवा ल्याइसक्यो । के के हो के के यसको भाउँतो पनि । अरुका छोरा विदेश गएर कमाएर ल्याएर ढलाने घर बनाइसके । ऊ यहीँको माटोमा पसिना छर्नुपर्छ पो भन्छ । दिक्क भएँ म त ।” आमा एकोहोरो फत्फताइरहिन् ।

छोरीले फेरि एकपटक घुरेर हेरी आमालाई ।

“ए छोरी हँसिया ले त । एक मुठी घाँस काटेर ल्याउँछु पाडी करायो ।”

छोरीले खुट्टा ठटाउँदै गएर हँसिया ल्याई र फुत्त फ्याँकिदिई आमाको छेउमा ।

उनी घाँस काट्न जाँदै थिइन् । मूल बाटोको चौतारोमा मानिसहरु घिरिप्प जम्मा भएको आँखाले देखिन् । कानले पनि सुनिन्, “गाँजा,…चरेस,….कठै ! गैरेले गैरीखेत सप्पै बेचेर छोरालाई काठमाडौं पढ्न पठाका त हेर ! च्व…च्व…च्व…!”

के भएछ ? भनेर भीड पन्छाउँदै पुगिन् चौतारीमा उनी । भिडमा प्रहरीबिच घेरिएको उही विनोद थियो । उसका दुवै हातमा हत्कडी लागेका थिए ।