लक्ष्मी रिजाल

‘तिमी लोभी त थिइनौ । के सारो लालची बनेकी । आफैँले नै कमाउनु पर्याजस्तो ।’ पतिदेवको कुराले मेरो अन्तस्करणलाई च्वास्स घोच्यो ।

मैले पनि अन्धाधुन्ध घुँयत्रो हान्दै जवाफ फर्काएँ; ‘कहिले लोभको जातै नभाकी भन्ने ! कहिले भने लोभले पुरिएकी ठान्ने ?’

‘ए बाबा, मेरो तलब बढेको छ । भुईंतलाबाट माथिल्लो तलामा सरौँ न । खर्च बढ्दा आम्दानी पनि बढे त भइगयो नि ।’ अरूबेला पतिदेवको यस्तो भनाइ ठीकै लाग्थ्यो तर त्यस बेला मलाई पटक्कै मन परेन ।

अन्ततः हामी बीच अन्तरविरोध बढेर नाम्चेतिर लाग्यो । उनी आम्दानीका बलले मलाई झुकाउन चाहन्थे । म भने सुँगुरजस्तो शरीरलाई छरितो पार्न चाहन्थेँ । मनका सारा विकारलाई मिल्काउने डम्पिङसाइटको खोजीमा थिएँ । रोगरहित जीवनशैली बनाउन चाहन्थेँ । आफ्नो यस्तो मनोभावनामा कुठाराघात हुने आशयले ठसमस भइनँ ।

हामी छुट्टिने मनसायमा पुग्यौँ । उनी ठूली छोरी च्यापेर दरबार जत्रो भव्य महलमा बस्ने भए । म सानी छोरीलाई मनाएर फुलबारीको झुपडीमै मुण्टो लुकाउने भएँ ।

केही घण्टापछि उनी लुरुक्क परेर मछेउ आए र प्रेमपूर्ण स्वरमा भने– आखिर किन तिमीलाई यिनै अर्काका बोटबिरुवा र सस्तो झुपडी मन परेको ?
मुसुक्क मुस्कुराएर एउटा लेख दिँदै भनेँ; ‘कारण सप्पै यसमै छ ।’

लेखिएको थियो– रुखबिरुवाले हाम्रो नेगेटिभ इनर्जी लिन्छन् र सधैँ हामीलाई पोजेटिभ इनर्जी दिन्छन् । नाङ्गो पैतालाले भुईं स्पर्श मात्रैले पनि शरीरले अनगिन्ती फाइदा भेट्छ । अप्राकृतिक जीवनशैलीले मान्छे मोटाउँछ । मोटो शरीर रोगको घर हुन्छ । तसर्थ प्रकृतितिर फर्कनुमै सबैको कल्याण छ ।