१. बेकामे किसान

गोपाल र हर्के खेतमा काम गरिरहेका थिए । यो वर्ष गाउँको पुरै खेतको आली लगाउने र कान्ला तास्ने काम उनीहरुले भ्याए भने पनि हुन्छ । गाउँमा काम गर्ने मान्छे भेटाउन नै मुस्किल छ हिजोआज । धन्न गोपाल र हर्के छन् जसले गर्दा अझै पनि उर्लापुरको फाँट भरिएको छ । काम गर्दा गर्दा थकित भएर उनीहरु कदमको रुखको छायाँमा बसेर आराम गर्दै थिए । भीमसेन बा आइपुग्नु भयो र सोध्नुभयो, “के छ बाबुहरु हो तिमीहरुको खबर ? मेरो पनि खेत रोप्नु पर्ने ढिलो हुन लाग्यो । कहिलेलाई खाली छौ तिमीहरु ? ”

ढाकामोहन बराल

“खोइ बा, अर्को हप्तासम्म त उठिसकेका छौँ क्यारे, हामीहरुलाई मात्र कुर्न थाल्नुभयो भने ढिलै पो हुन्छ कि । ए साँच्चै, हजुरको छोरा राकेश के गर्दै छन् आजभोलि ?”, गोपालले भन्यो ।

“ऊ त काठमाडौँतिर छ हिजोआज । ऊ कहाँ तिमीहरुजस्तो बेकामे हो र ! उसको त भिजा लागिसक्यो ।”, भिमसेन बाको जवाफ थियो ।

२. पार्ट-टाइम गर्लफेण्ड

अघि सुपरमार्केटमा क्रेडिट कार्ड घोट्न लगाई । “सामान्य, मेकअपको सामान हो” भन्दै स्पष्टीकरण दिन खोज्दै झोला देखाएकी थिई । सामान्य मेकअपको सामान किन्न पनि राकेशको नै क्रेडिट कार्ड घोट्नु पर्ने उसलाई । अस्ति पनि साथीहरुसँग बसिरहेको बेलामा एकोहोरो फोन बजिरह्यो ।

“तुरुन्त दश हजार ट्रान्सफर गरिदिनु न, आज ब्युटिपार्लर जानु थियो ।”, भन्दै थिई । रेष्टुरेण्टमा खाजा खाएपछि बिग्रेको मेकअप मिलाउन ब्यागबाट लिपिस्टिक निकाल्न खोजी नागरिकताको प्रमाण पत्र झर्यो ।

“किन नागरिकताको प्रमाण पत्र बोकेर हिँड्या ?”, राकेशले सोध्यो ।

“हिजो सहकारीमा सानो काम थियो घरमा थन्क्याउन बिर्सेछु ।”, उसले जवाफ आयो । सानो साइड ब्याग के खोज्दा पुनः नागरिकताको प्रमाणपत्र खस्यो । राकेशले टिपेर दिन खोज्यो । उसको नजर जन्म मितिमा पर्यो ।

“धत् आफ्नै श्रीमतीभन्दा बुढी केटी लिएर पो घुमिरा ।”, उसले मनमनै भन्यो । आफूले उसको सुन्दरताको लागि गरेको लगानीको हिसाव गर्न थाल्यो ।

“यसलाई जति लगानी आफ्नै बुढीलाई गरेको भए त … ।”