सत्या अधिकारी

“दाइ ! आजबाट बा ८३ बर्ष पुगेर ८४ लाग्नु भयो”,  कान्छो बोल्यो ।

“त्यै त। अघिल्लो वर्षदेखि नै आफ्नो चौरासी गर्न कर्कर गर्दै हुनुहुन्थ्यो । बेला नभएको बहाना गरें । अब के भन्ने हो ?”, भन्दै जेठो आत्तियो।

“कस्लाई के ध्याउन्न, घर ज्वाइँलाई खानको भनेजस्तै”, भनेर माइलो सर्लक्कै पन्छियो।

तीन सन्तानको  मनसाय बुझेर उनी  केही नबोली झोक्राइरहेका थिए ।  मेरो नजर  उनीमाथि  पर्यो । म बिगत सम्झिन थालेँ, “सुब्बा हुँदा  उःबेला  कत्रो रवाफ थियो ? नपुग भन्ने केही थिएन । कति मायाले  हुर्काएका सन्तान ! सुब्बिनी  मरेपछि  बुढा फाउनेको ताउलोजस्तो भए । सबैको आँखाको कसिङ्गर भएर बाँच्नु पर्यो, बिचरा !”

एकदिनको कुरा हो । सबै आआफ्ना खेतमा  व्यस्त थिए । खेतको डिलबाटै माइलोको छोरो करायो,   ” ठुल्बा ! झट्टै आउनु न ! हजुरबाले हामी सबैलाई ठुलाठुला आँखाले हेर्नु भयो । बोलाउँदा बोल्नु नि भएन ।”

उसका कुराले जेठो छोरो , बा भएको ठाउँतिर खोलियो (दौडियो) ।  अरू भाइ नि आए । तीनै भाइ मिलेर हतार हतार बालाई तुलसीको मठमा सारे । बिस्तारै गाउँले सबै जम्मा भए । सबैले राम नाम जपे । बुहारीहरू पनि धोको पुर्याएर रोए । आँगनको एक कुनामा झोक्राएका  छोराहरु एकै स्वरमा  बिलौना गर्दै थिए, “यो वर्ष बाको चौरासी धुमधामसँग गरौँला भन्ने थियो, पापी दैवले दिएन ।”