“राहत वितरण शाखा यही हो ?” झ्याल बाहिरबाट एकजना बयालिस-त्रिचालिस वर्षकी महिलाले सोधिन् । साथमा एकजना लोग्ने मानिस पनि थियो, उनको `श्रीमान्´ हुनुपर्छ । उमेर पनि उनीभन्दा खासै फरक थिएन । उसले “हो” भनेको केहीबेरमै ती महिला कार्यकक्षभित्र पसिन्, उनीसँगै आउने मानिस बाहिरै बस्यो । झोलाबाट एउटा तस्बिर निकालेर फाँटवाला रमाकान्तलाई देखाउँदै भनिन्- “यी बेपत्ता हुने मेरा `श्रीमान्´ हुन् हजुर !
ऊ नियुक्ति लिएर जिल्ला प्रशासन कार्यालयमा हाजिर भएको केही महिना मात्र भयो । आएको भोलिपल्टै राहत फाँटको जिम्मेवारी तोकिएको थियो उसलाई । निकै भयो त्यो शाखामा सेवाग्राहीको भिडभाड हुन छोडेको । जिल्लाका प्रायःजसो पीडित परिवारले उहिले नै राहत बुझिसके, एकाधले मात्र लिन बाँकी भएर होला।
उनले यसअघि नै राहतको पहिलो र दोश्रो किस्ता बुझिसकेकी रहिछन् । अहिले चाहिँ अन्तिम किस्ता लिन आएकी हुन् ।
“मैले हजुरको कागजपत्रहरू सबै एक एक गरेर पढेँ । गजबकै पीडा भोग्नु परेको रहेछ ।”
उसले ती महिलाको अनुहारमा हेर्दै भन्यो ।
रमाकान्त आफैँ पनि द्वन्द्व पीडित हुन्, परिस्थितिले गम्भीर बनाएको छ। नबोली नहुने ठाउँमा मात्र आफ्नो कुरा ट्वाक्क राख्छन् । अनावश्यक भूमिका बाँध्ने बानी छैन उनको । तर किन हो कुन्नि, आज यी महिलासामु उसको पीडा रोकिन सकेन ।
“द्वन्द्वकालमा मेरो बुवालाई पनि त घरबाटै थुतेर लगेका हुन् नि, खै ! अहिलेसम्म कुनै अत्तोपत्तो छैन । बेसहारा हजुर बुवा, हजुर आमा त्यही पीडाले थलिएर दुई वर्ष पनि पुग्न नपाउँदै बित्नुभयो । म डेढ वर्ष जतिको थिएँ रे, मामाघरमा हुर्केको हुँ म । परिवारका कसैको पनि अनुहारसम्म सम्झना छैन मलाई । राहत अर्कैसँग गएकी आमाले पाउँछिन्, कानूनले सबैभन्दा पहिले उनैलाई चिन्छ । के गर्नु ! आफूलाई त समाजले मात्र चिन्छ ।”
उनको अनुहारमा निकैबेर एक टकले हेरेपछि उसले भन्यो, “हजुरले ल्याएको यो फोटो चाहिँ म राख्छु नि, है ! हजुरसँग अर्को प्रति होला नि ! किन किन हजुरको `श्रीमान्´को यो तस्बिरमा मैले आफ्नो बुवाको रूप देखेँ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।