श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी गरिरहेको छ । फूलमाया नेपालमा कस्मेटिक पसल गरेर गुजारा चलाइरहेकी छे । श्रीमान् अलिक किचकिचे छ । अनावश्यक शङ्का गर्छ श्रीमतीप्रति । जमाना डिजिटल छ । इन्टरनेटबिना जीवन अधुरो छ । अपुरो छ । कामको समयबाट थोरै फुर्सद मिल्नेबित्तिकै फूलमाया फेसबुक चलाउँछे ।
धेरै दिनपछि फेसबुक खोलेर हेर्दा फ्रेन्डरिक्वेस्टको लामै लाम लागेको भेटिन्छ । माली के.सी.को नाउँबाट आएको मित्रतानुरोध स्वीकारी फूलमायाले । हुलिया केटाको, नामचाहिँ केटीको । तुरुन्तै म्यासेज आयो, ‘हाई’। उसले पनि तुरुन्तै फर्काई ‘हेल्लो’ । सामान्य परिचय भयो । म्यासेज लेख्ने क्रमले निरन्तरता पायो । टेक्स्टबाट अडियो हुँदै भिडियो कलसम्म खुलेर कुरा हुन थाल्यो । एकदिन कुरा नहुँदा संसार शून्य भएको महसुस गर्थे दुबै ।
फूलमायाले आफू विवाहित भएको र आफ्नो श्रीमान् साउदीमा भएको अनि असाध्यै शङ्का गरेर प्रताडना दिने गरेको, सहन नसकेर कुनै दिन आत्महत्या गर्ने सोच बनाएको कुरा आफ्नो मालीलाई सुनाई । मालीले साहसिक सल्लाह दियो – ‘यस्तो कायर कुरा नगर । म छु नि ! म पनि विवाहित नै हुँ । र पनि तिमीलाई प्रेम गर्छु । म अहिले युरोपमा छु, तर घर बिगार्न चाहन्नँ । तिमीले पनि आफ्नो घर बिग्रिन दिनुहुँदैन । तिम्रो कस्मेटिक पसल छ, कामलाई सुचारु राख । राम्री छ्यौ, त्यसैले पनि तिम्रो श्रीमानमा भय उब्जेको हुनसक्छ ।’
फूलमाया श्रीमानले जति कचकच गरे पनि वास्ता गर्न छोडी । लगनशील भएर आफ्नो काममा लागिरही । कस्मेटिक पसल भएकाले हजार किसिमका मानिसहरू आउँथे । श्रीमानको कच्कच यथावत छ । ऊ भने बेप्रवाह आफ्नो व्यवसाय वृद्धिमा लागिरही । पृष्ठभूमिमा प्रेरणा र उर्जा दिने माली थियो । उनीहरू एक मायालु प्रेमिल जोडीसँगै असल साथी र शुभचिन्तक पनि थिए । फूलमायाको कस्मेटिक पसल अब भव्य पार्लरमा परिणत भइसकेको थियो । हात र साथ मालीको थियो
एकअर्कालाई समस्या पर्दा आपसी साथ र सहयोग गर्थे । फूलमाया मालिका हरेक कुरा अनुशरण गर्थी । उसको सफलतामा मालीकै भूमिका छ । अहिले उसको श्रीमानको भन्दा धेरै कमाइ फूलमायाको हुन्छ, नेपालमा । अब त बुढोसँग पनि उसको सम्बन्ध सुध्रिदै थियो भने मालीसँगको प्रेम पनि यथावत् थियो । ऊ साँच्चै माली नै थियो फूलको । फूलहरूलाई निमोठेर हैन, मायाले स्याहार्दै हुर्काउन र फुलाउन सक्ने अनौठो क्षमता थियो मालीसँग । उसले मायाले स्याहारेर आज फूलमायालाई फूलजस्तै फक्रिन सक्ने बनायो । तर उनीहरूको प्रत्यक्ष देखभेट भने हुनै सकेको छैन अहिलेसम्म ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।