बिहानको दस बजिसकेको थियो । सरकारी कार्यलयको प्रवेश द्वारमा कर्मचारी, सेवाग्राही पस्ने निस्कने क्रम चलिरहेको थियो। सोही समयमा मेरो आँखा एउटा दृश्यमा गएर रोकियो।
सामान्य देखिने एक महिला आफ्नो काम लिएर सायद कार्यालय प्रवेश गर्दै थिएन, सोही अवसरमा सोही कार्यलयमा कार्यरत् एक कर्मचारी बाहिर निस्कँदै थिए । कर्मचारीको पोशाक लगाएको देखेर सेवाग्राही महिलाले कर्मचारीलाई हात जोडेर नमस्कार गरिन्। कर्मचारीको पोशाक लगाएका ती कार्यालय सहयोगी कर्मचारीले भने सेवाग्राहीलाई न त हात जोडेर नमस्कार फर्काए न त मुखले कुनै औपचारिकता निभाए ।
नजिकैबाट त्यो दृश्य नियाली रहेको मलाई भने लाज लाग्यो । किन कर्मचारी यतिसम्म गैरजिम्मेवार छन् भनेर । त्यसमा पनि करारको कार्यलय सहयोगी ? कि त कार्यलय सहयोगीलाई बानी नपरेको हुन पनि सक्छ, नभए किन सेवाग्राहीले हात जोडेर गरेको नमस्कार फर्काएको होला भनेर मेरो मनमा जिज्ञासा जागिरह्यो । हाम्रो देशमा करारमा रहेको कार्यलय सहयोगी “पिउन”ले त भाउँ खान्छन् भने उच्च ओहदामा रहेका कर्मचारी, जनप्रतिनिधिले किन नखाउन् । “मुस्कान सहितको सेवा” भन्ने नारामा मात्र सिमित रहेकै हो त सेवाग्राही र आम जनताप्रति राज्यका निकायका कर्मचारी र जनप्रतिनिधिहरुको व्यवहार कहिले परिवर्तन आउने होला ?
‘मुस्कानसहितको सेवा’ प्रवाह गर्नेहरुको चर्तीकला देखेर म भने हैरानी महसुस गर्दै दिनभर टोलाइरहेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।