गोपाल खनालl

विद्यालय जान आउन एक घण्टाको उकालोओरालो गर्नुपर्थ्यो । विभिन्न विषयमा कुरा हुन्थे । कुराले बाटो काट्न सहज हुन्थ्यो । कुरै कुरामा हामीले एकदिन समीको फेदमा बसेर आफ्ना भविष्यका योजना सुनायौँ । उसले डाक्टर बन्ने योजना सुनाई । मैले इन्जिनियरको । नम्रता हो उसको नाम । एकदम फरासिली, राम्री पनि उस्तै । एसएलसीपछि ऊ लागी काकाका साथमा काठमाडौँ । मैले गाउँमै पढेँ । पढाइ त मेरो पनि राम्रो थियो अवसर मिलेन । ऊसँग चिठीपत्रमा कुरा हुन्थ्यो । उच्च मावि तहको अध्ययनपछि ऊ लागिछ विदेश । एकदिन फोन गरी के गर्दै छौँ ? मैले भने मास्टरी गर्दै छु । पढ्दै, पढाउँदै छु । दैनिक खर्च चलाउन पनि काम नगरी सुख थिएन मलाई ।

उसले भनी, ‘इन्जिनियरको सपना देख्थ्यौ मास्टरीमा अल्झ्यौ ? के गर्छौ मास्टरी गरेर ? भोलि परिवार कसरी पाल्छौँ ?’ प्रश्न गरी । नेपालका सन्दर्भमा यो प्रश्न जायज थियो । जे होस् आफू आज डाक्टर भएको पनि मास्टरले पढाएरै हो भन्ने उसले हेक्कै नगरी मज्जैले भनी ।

‘के गर्नु देखेका सपना सबै सकार नहुँदा रहेछन् । बाध्यता, जे होस् म खुसी छु’ जवाफ दिएँ । समय बित्दै गयो । ऊसँग लामो समय सम्पर्क भएन । स्वाभिमानी पेसा म यसमै रमाएँ ।

डाक्टरी सकेर उसले बिहे गरिछ । श्रीमान् इन्जिनियर रे ! बच्चा भर्ना गर्न आएकी उसले स्कुलमा भेटेर सर्माउँदै भनी,‘शिक्षक बिना त सबै सपना मर्छन् नि । मैले यो त हेक्कै गरेनछु । तिम्रो पेसाप्रति सम्मान छ । मेरो छोरालाई पनि मास्टर नै बनाउने हो । राम्ररी पढाइदेऊ है ।’ ऊ छोरा भर्ना गरेर कारमा फर्की । मैले केही नबोली एकोहोरो हेरिरहेँ ।