शान्ति सापकोटा

रिठ्ठेले धेरै वर्ष गाउँ बेँसी, बनपाखा गर्यो कोदाली बोकेर । तर जति गरे पनि उसको दैनिकी त्यो भन्दा फेरिएन । चुल्हो उसैगरि मात्रै बलिरह्यो मुस्किलले । छ महिना नभई मुखियाकोमा पचिसो माग्न धोक्रो बोकेर पुग्नैपर्थ्यो । तर एकदिन बेसीमा पानी लगाउन गएको रिठ्ठे एकाएक हरायो । गाउँमा गाँइगुइँ हल्ला चल्यो । “अब सहरतिरै पसिन्छ भन्दैथ्यो रे केही दिन अघि धनेसँग ।”

वर्षौं भएको थियो कोदाली खेतको ऐंसेलुको झाङमुनि लडिरहेको । बिस्तारै वरपरका ससाना झारहरु बढेर कोदालीलाई बेर्न थालिसकेका थिए । नचलाएकोले खियाले पनि अँधेरिएको थियो । कोदालीले त्यही अँधेरो मुख लगाएर भन्यो, “हुँदा हुँदा अब मलाई तिमीहरू गन्हाउने लहराले समेत बेर्न थाल्यौ ?”

ऐरेलुको झालले अझै कोदालोलाई बेर्दै भन्यो, “तिम्रो रिठ्ठे अब गाउँ फर्किंदैन। ऊ सहरमै बस्छ। रिठ्ठेको पाखुरीमा बसेर खुब बहादुरी देखाएका थियौ नि पहिले त हामीलाई उखेली उखेली । अब पर्यौ नि हाम्रै फेला ।”

“तिमीलाई अब कसैले काँधमा चढाउँदैन । उचाल्दैन, पछार्दैन । पहिले रिठ्ठे हुँदा घर फर्किंदा टलक्क टल्किन्थ्यौ । अब टल्किदैनौ । अब त सिस्नो, गन्धे, ऐरेलु, वनमाराले गाउँ ढाक्ने हो । हाम्रा दिन आएका भनेका यिनै हुन् ।” गन्धे झारले पनि ताउ लाउँदै भन्यो ।

ऐरेलुले कोदालीको बिँडलाई अझ बलियोसँग बेर्दै गयो । अरू झारले पनि झन् कस्दै गए । कोदाली निरीह भयो ।
कोदाली कहाँ हरायो रिठ्ठेसँगै, अहँ कसैले सुइँको सम्म पाएन ।