धेरैपटकको प्रयासपछि मन्त्राणीज्यूलाई भेटेर हल्दीरामले सबै कुरा निवेदन गर्यो । पैसाले भरिएको ब्याग पनि मन्त्राणीज्यूलाई अर्पण गर्यो ।
‘नाइँ नभनिबक्सियोस्, मन्त्राणीज्यू यो पैसा त मैले हजुरले यसो सपिङ गर्नुहोस् भनेरमात्रै । मन्त्रीज्यूलाई भनेर आगामी बजेटमा यी चार चिजको भाउ बढाइदिहाल्नुस् , तब धापासी हाइटमा हजूरलाई आधा रोपनी जग्गा उपहार । त्यत्तिमात्र हैन हुजुर, अर्को सालको बजेट भाषणपछि तेहाँ सुइमिङ पुल, गार्डेन भ‘को बंग्ला बनाइ दिने जिम्मा पनि मेरै भो, हुजुर ।’
मन्त्राणी चन्दप्रभाले यसो विचार गरिन्, ‘हल्दीरामको कुरा पनि नराम्रो त हैन । हामीले मागेका हैनौँ क्यारे, उसले आफैँ ल्याएर दिन्छभने लिन किन नहुने ? मन्त्री र मन्त्राणीको धाकमात्रै त ठुलो हो नि, आफूसँग दुईजोर गतिला लुगा छैनन् । छोराछोरीलाई भनेजस्तो राम्रो विद्यालयमा हाल्न सकिएको छैन । अरु मन्त्राणीहरु गहनाले पहेंलै भएर हिँडछन् आफूसँग सुनको के कुरा चाँदीको सिक्रीसमेत छैन । तर मन्त्री मान्लान्जस्तो लाग्दैन । जहिले तहिलेको अकडो बुढा न हुन् ? सधैं माक्र्सवादी विचार, सिद्धान्त, देशभक्ति, निष्ठा र इमान्दारिताकै कुरा गरिरहन्छ्न् ।’
‘खै, मन्त्रीज्यूले मान्लान्जस्तो लाग्दैन मलाई । इमान्दारिताको माामिलामा कडा हुनुहुन्छ । तैपनि म कुरा गर्छु नि ।’ मन्त्राणीज्यूको आश्वासन पाएर हल्दीरामले बलजफती पैसाको ब्याग त्यहीँ छाडेर गयो ।
रातिको खाना खाइसकेर शयनकक्षमा जाँदा पनि चन्द्रप्रभालाई हल्दीरामको प्रस्ताव मन्त्री दिनबन्धु रेग्मीलाई भन्ने आँट आइरहेको थिएन । तर नभनेर पनि भएको थिएन, त्यसैले डराई डराई उनले हल्दीरामको प्रस्ताव सुनाइन् ।
चन्द्रप्रभाको कुरा सुनेर मन्त्री दिनबन्धु मन खोलेर उन्मुक्त हाँसो हाँस्दै भने— ‘यो मामलामा तिमी लाटी नै छौ, बजेटमा चारथोक सामानको भाउ बढाइदिए बापत ओमप्रकाश गोयलले हामीलाई भैंसेपाटीमा एक रोपनीमा बनेको बंग्लो र पाँच करोड दिने पक्कापक्की भैसकेको छ । हाम्रा छोराछोरी विदेशका महङ्गा विद्यालयमा पढ्ने पक्का । ल भन, तिमीलाई अरु के चाइयो ?’— अँध्यारोमा मन्त्रीज्यूको खित्का टाढाटाढासम्म सुनिइरहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 










