इन्दिरा गौतम (असम)

दाजु-भाइको करेसो जोडिएको घर । जेठो पढाइ लेखाइमा अब्बल हुनाले हाकिमको पदमा कार्यरत छ । कान्छो सानो तिनो कम्पनिको जागिर खान्छ । दाजु-भाइको असाध्यै मिलाप तर देउरानी-जेठानीको बोलचाल छैन ।

बेलुका झमक्क साँझ पर्न आँटेको थियो । कान्छो गाईगोरु थन्काउँदै थियो । श्रीमती भान्साघरमा बेलुकाको खाना बनाउँदै थिई । केटा-केटी पढ्नमा व्यस्त । आफ्नो घरको सिकुवाबाट जेठानीले बोलाई, “बैनी, ए बैनी …?”

“आहा, धेरै दिनपछि आज आफैँ पहिला बोल्नु भयो दिदी । छेउको भूत र परको भगवान् मिल्दैन नि । आफू जति नै हुरुक्क गरे पनि कहिल्यै खुसी हुन्नन्। घैँटोमा घाम पो लागेछन् कि क्या हो आज ? आफ्ना भनेको आफ्नै हुन् ।” खुसी हुँदै बोल्न कुद्दै बाहिर निस्किन् ।

“भन्नु त दिदी ! के भयो ?”

“लुतो आयो है!! आज साउने सङ्क्रान्ति रैछ । लुतो तिम्रोतिर फाल्न बोलाको ।”

अगाडिको आँगनमा आगोको अगुल्टोले अब आउने ठुलो सङ्कटको चित्र कोर्दै थियो।

देउरानी जील्लाराम परेर कठिन परिस्थितिसँग कसरी लड्ने त्यो सोच्न बाध्य भई।