ढाकामोहन बराल

“ बाबा आज हजुरको पनि बिदा छ, मेरो पनि बिदा छ एकछिन खेलौँ न ल ।” भन्दै छोरीले क्यारमबोर्ड निकालिन् ।

“हुन्छ ल म छोरीले भनेको मानिहाल्छु नि ” भन्दै म पनि तयार भएँ ।

क्यारमको गोटी हान्दै मैले छोरीलाई सोधेँ, “आज किन बिदा भएछ छोरी ? ”

उनले जवाफ दिइन्, “भानु जयन्ती भन्छन् खोइ के हो थाहा भएन ।”

मैले फेरि सोधेँ, “स्कूलमा सरमिसहरुलाई सोधिनौ ?”

“बिदा भएपछि भयो नि, अब किन सोध्ने ।”

छोरीको जवाफ थियो । बिदा घोषणा गरे आफ्नो कर्तव्य पूरा गरेको सोच्ने राजनैतिक नेतृत्व, बिदा पाएपछि खुसीले बुर्लुक्क हुने हामी कर्मचारी, शिक्षक तथा विद्यार्थी भएपछि कसैको पनि जन्म जयन्तीले कुनै महत्त्व राख्दो रहेनछ । पूरा एक दिन बिदा दिनुभन्दा एक घण्टा आज भानुभक्तको बारेमा बुझाउने कार्यक्रम राखेको भए धेरै राम्रो हुन्थ्यो । संस्कृतजस्तो जटिल भाषामा लेखिएको रामायाणलाई सरल नेपाली भाषामा लेखेर सर्वसाधरणलाई आफ्नै भाषामा पनि भगवानको कथा पढ्न र बुझ्न पाइन्छ भनेर सिकाउने भानुभक्तको बारेमा छोरीलाई बझाउन बुबाले सधैं पढ्ने गर्नु भएको रामायणबाट नै सुरु गर्ने निर्णय गरेँ । पूजाको कोठाबाट छोरीलाई बुबाले पढ्ने गर्नु भएको रामायणको पुस्तक निकाल्न लगाएँ । छोरी काखमा आएर बसिन्, म पाना पल्टाउँदै गएँ । “एक दिन नारद सत्यलोक पुगि गया…। ”