साथीहरूलाई सधैं भन्ने शब्द नै यही हुन्थ्यो पूर्णकलाको, टिकटक आएपछि समय काटेको थाहै नहुने ।
छोरीले एकाउन्ट खोली दिएपछि पूर्णकलालाई टिकटकमा रुची पलाएको थियो । हरेक दिन दर्जनौँ भिडियोहरु बनाउँदै अपलोड गर्नेमात्र नभई आफ्ना भिडियोमा आएका लाइक र कमेन्ट हेर्ने नशाजस्तै भएको थियो ।
“ला ला, छोरी एकछिन मोबाइल समात्, यो गीतमा पनि टिकटक बनाम्”, आमाको यो अनुरोधले छोरीलाई पनि झर्को लाग्ने बनाइसकेको थियो ।
“मेरा कार्यालय पोसाक लगाएर टिकटक नबना भनेर कति भन्नु हँ तलाई ?”, एकदिन त रिसको पारो ह्वात्त बढ्यो श्रीमानको ।
पूर्णकला कहिले बाटोमा कहिले घरको छतमा, बजारमा, विभिन्न समारोहहरूमा, आफू सहभागी भएको कुनै पनि स्थानको भिडियो बनाउन छाडिनन् । अरूको देखासिकी गरी अङ्ग प्रर्दशनका केही भिडियोहरूसमेत बनाउन पछि परिनन् उनी । अश्लील कमेन्टको पनि उनले वास्ता गरिनन् । जसले जति भने पनि उनको यो लत कसैले छुटाउन सकेनन् ।
एकदिन बाटोको छेवैमा टिकटक भिडियो बनाउँदै गर्दा पछाडिबाट मोटरसाकइकलले नराम्रोसँग धक्का दियो । ड्याम्म नालीमा बजारिएकी उनी एक महिना अस्पतालको बसाइपछि ह्वील चेयरको सहायताले घरमा फर्किइन् ।
“टिकटकको हावाले देखिस् के भो ? आखिर जीन्दगी नै बर्बाद पारिस् है ?”, श्रीमानले दोहार्याए । पूर्णकलालाई बिस्तारामै पल्टिनु पर्ने बाध्यता थियो ।
आमाको चिन्ताले झोक्रिएर छेवैमा बसेकी छोरीलाई मोबाइल दिँदै पूर्णकलाले भनिन्, ‘बेडमै लडेको भए पनि एउटा भिडियो बनाइदेऊ न छोरी, भाइरल भइन्छ कि ।’
हरिचन्द्र ढकाल
सशस्त्र प्रहरी निरिक्षक, जनकपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।