वसन्त अनुभव

तोया गुरु भन्ने बित्तिकै सबै विद्यार्थी थुरथुर हुन्थे । साह्रै सशक्त र कडा मिजासको हुनुहुन्थ्यो, उहाँ । उहाँको पेरियडको घण्टी बज्ने बित्तिकै मनमा एक किसिमको त्रास उत्पन्न हुन्थ्यो । अरू सबै गुरु गुरुमाले दिएको गृहकार्य छोडेर पनि डरले गर्दा म उहाँको नियमित गर्दथे ।

“रमेश ! कक्षामा जानुपर्दैन् । यहाँ लुकेर के गरेको ?” एक्कासि तोया गुरुको आवाजले म झसङ्ग भएँ । उहाँको गृहकार्य नगरेको हुँदा म बाहिर लुकेर बसिरहेको थिएँ ।

“गुरु ! ….म .. म .. त्यो .. त्यो । होमवर्क … ।” थरथर काँप्दै बोल्ने प्रयत्न गरेँ ।

“के बाख्राको पाठोझैँ म्या ! म्या !! गरेको ?! के होमवर्क ? के कुरा हो ?” हातमा छडी लिएका गुरु मेरो सामु प्रकट हुनुभयो । भय र त्रासले म लर्याकलुरुक भएँ । मेरो सातोपुग्लो उड्यो ।

“मलाई नपिट्नुस् सर । प्लिज सर ! नपिट्नुस् । जीउ सञ्चो नभएर मात्र नगरेको हुँ । अब सधैँ होमवर्क गर्छु नि । मलाई माफ गर्नुहोस् ।” आँखा बन्द गरेर हात जोडिकन रुदैँ अनुनय विनय गरेँ ।

“धत् लाटा ! मैले पिट्छु भनेर पो डराएको !? आज होमवर्क नगरेर के भो त । तिमी त नियमित गर्ने जेहनदार विद्यार्थी । यो छडी त पढाउदा शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्न ल्याएको, पिट्न होइन नि । लौ हिँड, अब कक्षामा जाऔँ । ” तोया गुरुले छडी भुइँमा राखेर मलाई सुम्सुम्याउँदै भन्नुभयो ।