ढुकुरका जोडीजस्ता उनीहरू कहिल्यै छुट्टिँदैनथे । प्रशस्त जायजेथा र आर्थिक रूपमा सम्पन्न भए पनि अचाडू थिएनन् । गाउँका सबैसँग समान व्यवहार र समभाव राख्दथे । चचारभाइ छोरा र तीन बहिनी छोरीका धनी ती जोडीले आफ्ना सन्तानलाई सुबिस्तामै हुर्काए, पढाए, लेखाए अनि बिहेवारी समेत गरिदिएर बाआमाको कर्तव्य पूरा गरे । सबैका जायजन्म पनि भएकाले उनीहरू निकै सन्तुष्ट देखिन्थे ।

लोकनाथ पुडासैनी

“डाँडामाथिको घाम ! के भर छ र ! हाम्रो सास छँदै तिमीहरूले अब आआफ्नो सुर गर्नुपर्छ ।” थिरप्रसादले छोराहरूलाई अलग हुने सल्लाह दिए ।

बहानाको खोजीमा रहेका उनीहरू बाआमाको सल्लाह पाउनासाथ छुट्टिएर भिन्न भए । बुढाबुढी कान्छो छोरासँग बस्न थाले । विडम्बना ! अलग भएको वर्ष दिन नबित्दै देउकलीको देहावसान भयो । त्यसपछि थिरप्रसाद अपाङ्गजस्तै हुन पुगे ।

“…छोराछोरी, सबै बराबरी ! मलाई के चाहियो र !” भन्दै आफ्नो जिउनी सबैलाई भाग लगाइदिए ।

पर्सिपल्ट– उनी टिभी हेरर बस्दै थिए, छोरा र नातिनातिनाले खाना खाएर निक्लिए । सधैँ उनीहरूभन्दा पहिले खाना खान बोलाउने बुहारीले त्यसदिन उनलाई बोलाइनन् । ‘हतार भएर होला, अब बोलाउलिन्’ भनेर घुटुक्क थुक निल्दै थिए – “बा ! छोराहरूले क्यै भन्नु भएन ? आजदेखि हजुरले तीतीन महिना पालैपालो चारै भाइकोमा बाँढिएर खाने, बस्ने रे ! हिँजो सल्लाहा भा’थ्यो । त्यसैले …!” जुठोभाँडो लिएर निक्लेकी बुहारीले भनिन् ।

बुहारीका भनाइले थिरप्रसादमाथि बज्र पर्यो । उनका हात गोडा काँपे, थर्थराए, नौनाडी गले । हातको रिमोट फ्यात्त खस्छ । आँखा धमिलिन्छ । हेर्दा हेर्दैको टिभीमा कुनै आकृति देख्दैनन् । बसेको ठाउँबाट उठ्न पनि सकेनन् । भित्ता समाएर बल्लतल्ल उठे । अनि, त्यसैको सहारामा श्रीमती सम्झँदै तगाराबाट बाहिरिए ।