साँझको धमिलो परिवेश । फेवातालको वारि किनारमा ताल बाराही माताको महाआरती सुरु हुने तरखर भइरहेको थियो । आरती हेर्नेहरूको भिडबाट उछिट्टिएर केही मानिसहरू तालको बिचमा रहेको ताल बाराही मन्दिरको दर्शनका लागि डुङ्गामा चढे ।

विष्णुप्रसाद आचार्य “अतृप्त”

सिमसिम पानी पर्दै थियो । सूर्यास्तसँगै चलेको बतासको कारण शान्त तलाउको पानी लहर लहर भएर उछालिएको थियो । अस्ताउँदो घामको मधुरो आभाले तालको पानी पूरै सिन्दुरे रङले पोतिएझैँ देखिथ्यो । तालमा पोखिएको धमिलो उज्यालोमा वरपर बालिएका बत्तीहरूले प्रकाश थपिरहेका थिए ।

स्याफ्रोन त्यही डुङ्गाबाट मोबाइल क्यामेराको सहायताले`क्यान्डिड सट´लिँदै रमाइरहेको थियो । खानेपानीको समेत दु:ख हुने सहर धरानबाट तालैतालको नगरी पोखरामा घुम्ने अवसर पाएकोमा ऊ त्यसैत्यसै पुलकित पनि देखिन्थ्यो ।

स्याफ्रोन चढेको डुङ्गामा एउटी सुन्दर युवती पनि सवार थिइन् । डुङ्गामा सवार सबैको सामूहिक फोटो खिच्ने क्रममा उसको क्यामराको पहिलो र मुख्य निसाना तिनै युवतीमाथि सोझिँदै थियो । उनको रोमान्टिक हाउभाउ र सौन्दर्यले स्याफ्रोन सम्मोहित भइरहेको थियो ।

ताल बाराही मन्दिर पुगेपछि अरू भक्तजनझैँ ती दुई पनि आआफ्नो धुनमा मस्त रहे । मन्दिर परिक्रमा र पूजाआजाको सिलसिलामा आक्कलझुक्कल देखादेख भए पनि परिचय गर्ने र फोन नम्बर प्राप्त गर्ने सुविधाजनक वातावरण भने त्यहाँ बनेन । स्याफ्रोनलाई नौलोतौलो ठाउँमा अपिरचित युवतीसँग छिट्टै नजिकिन केही सङ्कोच र मूलत: पुरुष स्वाभिमानले पनि रोकेको थियो ।

मन्दिरबाट फर्कँदा एउटै डुङ्गामा फर्कने प्रस्तावचाहिँ युवतीसमक्ष उसले राख्न खोजेको थियो । तर उनी प्रस्ताव पेशको योजना बन्नुअघि नै मन्दिरबाट ओझेल भइसकेकी रहिछन् । वारि आएपछि उसको मनले नवपरिचित अनुहारका बारेमा धेरैथरि कल्पना सजायो । तर उसले ती युवतीका बारेमा केही भेउ पाउन भने सकेन ।

तालको किनारमा रहेको भिरालो हरियो चौरमा बसेर स्याफ्रोनले दायाँबायाँ नजर घुमायो । ऊ केही मूल्यवान् वस्तु हराएझैँ बेचैन देखिन्थ्यो । चिसो बतासले हो वा अरू केही कारणले हो उसको शरीर थोरै काँपिरहेको पनि थियो । उसले ती युवती छिनमै देखिने र छिनमै अलप हुने कुनै `जलपरी’ हुन सक्ने अनुमान पनि लगाउन भ्यायो ।

नजिकै चिया पसल थियो, मट्का चिया मात्र पाइने पसल । उसले चौरमा पल्टिएर एउटा चिया अर्डर गर्यो । एउटा लुखुरे केटाले चौरमै चिया ल्याइदियो । चिया खाइसकेर पैसा तिर्न जाँदा उसले चिया पसलमा टाँगिएको फ्लेक्स बोर्डमा यस्तो लेखिएको देख्यो, “मायामा धोका खानुको सट्टा कृपया एउटा मीठो मट्का चिया खाएर जानुहोला ।”

यो वाक्य हुँदै चिप्लिएको उसको आँखा अलि पर उभ्याइएको एउटा ठूलो झल्लरी छातामा गएर टाँसियो । जहाँ तिनै युवती केही छेल परेर मट्का चिया तयार पार्दै थिइन् ।