लघुकथा : बा चले बैकुण्ठ
तिम्रो हातमा भएको मोबाइल हिजो पसलेको थियो । तिमीले किन्यौ र तिम्रो मान्यौ । कोरिन्छ, दाग लाग्छ ,टुट्छ, फुट्छ भनेर जतन गर्यौ । माया लाग्यो आफ्नो भन्ने भ्रममा छ्यौ । भोलि बिग्रन्छ, चल्दैन अनि फोहरमा मिल्काउँछ्यौ, त्यो तिम्रो रहन्न ।

अन्तिम अवस्थाको चाल पाएजस्तै गरी भुवानन्द बाले अह्राए – ‘अब मलाई तुलसी मठनिर सार ।’

जुटेका सबै मिली बाजेलाई मठनिर सारे।
पत्नी हरिमाया र छोराछोरीहरु वरिपरि बसेर रुन थाले।
‘रुनु हुँदैन हरिमाया । तिमी नै रोयौ भने यी छोराछोरीहरु कसरी सम्हालिन्छन् ? मलाई हाँसेर विदा देऊ । यो त प्रारब्धको खेल हो।’ – हरिमायालाई सम्झाउँदै बाजेले भने।

वातावरणमा मौनता छायो ।
तर बाजे रोकिएनन् बोल्दै गए – ‘यो रङ्गमञ्चमा हामी अभिनय गर्ने कलाकार हौँ । निर्देशक अन्तै छ । हामीलाई जे जस्तो निर्देशन गर्छ हामी त्यस्तै अभिनय गर्छौँ।’
‘पर्दा खुल्नुअघि तिमी कहाँ थियौ ? म कहाँ थिएँ ? आआफ्नो बाटोबाट आएका थियौँ । यहाँ रङ्गमञ्चमा भेट भयो । तिमीले मलाई मेरो भन्यौ, मैले तिमीलाई मेरी भनेँ । यो त फगत भ्रम हो । न म तिम्रो हुँ, न तिमी मेरी हौ । केही समयसँगै बस्यौँ । यी छोराछोरी भए त्यसैले हामी भ्रममा फस्यौँ । यी पनि कहाँ हाम्रा हुन् त ? यी पनि फरक फरक बाटोबाट आएका हुन् भोलि फेरि आ आफ्नै बाटो लाग्छन् ।’
‘तिम्रो हातमा भएको मोबाइल हिजो पसलेको थियो । तिमीले किन्यौ र तिम्रो मान्यौ । कोरिन्छ, दाग लाग्छ ,टुट्छ, फुट्छ भनेर जतन गर्यौ । माया लाग्यो आफ्नो भन्ने भ्रममा छ्यौ । भोलि बिग्रन्छ, चल्दैन अनि फोहरमा मिल्काउँछ्यौ, त्यो तिम्रो रहन्न । त्यस्तै तिमीले मलाई पनि मेरो ठान्यौ तर म अब तिम्रो हैन । निर्देशकको इसाराले पर्दा बन्द भए पछि म अदृश्य हुन्छु र हिजो फरक बाटोबाट आएझैँ फरक बाटोबाट आफ्नो गन्तव्यतिर लाग्छु । यसमा चिन्ता मान्नु पर्ने केही छैन । अतःमलाई हाँसेर विदा गर । मलाई मेरो बाटो जान देऊ ।’
बाका कुराले हरिमाया र छोराछोरीका आँसु थामिएनन् । उपस्थित सबैका अनुहार मलिन देखिए ।
बा बोल्न छोडे र आँखा चिम्लिए तर अनुहारमा पीडाको कुनै छनक थिएन । अनुहार प्रशन्न र कान्तिमय देखिन्थ्यो ।
सबैले बाको मुखमा गङ्गाजल राखिदिए ।