डिल्लीप्रसाद अधिकारी

“जीवित मान्छे काल आएपछि मर्छ । काललाई टार्न सकिँदैन । कतिपय समयमा भगवान् कृष्णले भने समयको गतिलाई रोकेको पाइन्छ ।
काल भनेको समयकै पर्यायवाची त हो ।”, नवीनले अझ थपे, “मान्छे बिमारीले मर्दैन, कालले मर्छ ।”

नवीन सर ओशो पूजक हुन् तर आफैँलाई नास्तिक हुँ भन्छन्।

“नास्तिकले कसैमाथि आस्था राख्तैन, तर तपाईँ ओशोमा आस्था राख्दै हुनुहुन्छ । ओशोलाई पनि भगवान् रजनीश भन्छन् होइन ?”, मैले सोधेँ ।

“म ओशोमा होइन उसको दर्शनमा आस्था राख्छु ।”

उनी पूर्णरूपले भौतिक छन् । भगवान् मान्दैनन् । घरमा पूजापाठ हुँदैन । तर उनका नानीहरू भने पढ्नमा ज्ञानी छन् । पुस्तकलाई प्रेम गर्छन् । ‘चाणक्यले भनेका छन्…’ भनेर नानीहरूलाई नवीन चाबुकले तह लगाउँदै छन् । चाबुकले मात्र तह लाउन सकिने त उसकी स्वास्नी छ र चाणक्यले `स्वास्नीलाई पनि बेला बेला चाबुक लाउनुपर्छ´ भनेको उनले पढेका छैनन् होला, नत्र त उनी चाणक्य दर्शन पनि फलाक्ने गर्थे हाेला । कि नारीवादको छाप उनमा गहिरो छ र हो कि ?

ओशोमा लिप्त उनी सम्भोगद्वारा समाधि लिने योजनामा छन् । बातचितमा नवीन ओशो दर्शनका कुरा फलाक्न भुल्दैनन्, र अरूका कुरा काट्दा आनन्द मान्छन् । साह्रै बेसी बोल्छन् अतिथिसँग । उनले बोलेपछि अरूले चुपचाप बस्नुमात्र हो ।

आफ्ना भाइभतिजालाई उनी सानो गल्लीमा पनि ठूलो सजाय दिएर महान् बन्ने गर्छन् भने आफ्नो नोकरलाई समानताको भाव राख्नसँगै खाना खान्छन् । थुप्रै विशेषता भएका नवीन सरले एकदिन मलाई फोन गरे र भने, “म तपाईँकहाँ आउँदै छु । एक घण्टामा आइपुग्छु ।”

म खाजा बनाएर उनलाई पर्खिरहेँ । तीन घण्टापछि उनी ड्राइभर र सपत्नी उपस्थित भए । पत्नीको अनुहार उज्यालो थियो । आउनेबित्तिकै उनले पानी आफैँ सारेर खाइन्, र मसँग उनीहरूको आत्मीयता प्रमाणित गरिन् । वाह ! घरमा म एक्लै थिएँ । उनको ड्राइभरले भन्यो, “सरले आफैँ गाडी हाँक्नु भयो । गाडी ट्रकसँग ठोकियो । झण्डै कालका मुखमा परियो । सरको भूल थिएन । तर ड्राइभरसँग के मुख लाग्नु ?”

काल त्यसरी पनि आउँदो रहेछ । धन्य कसैलाई क्यै भएनछ। सबै खाजा खान थाले । मैले पनि खाएँ ।

अब यो कथा लेखिसकेपछि नवीन, उनकी पत्नी र ड्राइभरले खाजा खाएका भाँडाकुँडा टेबलबाट उठाएर समयमै माझ्नु मेरो परम् कर्तव्य हो ।