लघुकथा 

रीता बलामी

उमेरमै विशालकी आमाको मृत्यु भयो । विशाल सहरमा बस्थ्यो । परिवारै आमाको संस्कार गर्न आए र पन्ध्रौँ दिनमा फर्के । “ल पीर नगर्नु,पकाएर खानु । पैँतालिसको कामलाई आउँला । केही परे फोन गर्नु,” विशालले बुबालाई भन्यो ।
बुहारीले भनी, “के गर्नु बुबा, हजूर एक्लै हुनु भो । पैँतालिसपछि उतै जाऊँ बरु । धेरै पीर नर्गनुस् है ।”
उनका आँखा पिलपिलाइरहे । नाति, नातिनाको साथले मन केही भुलेको थियो, फेरि उही पीडा र पत्नी वियोगको घाउ बल्झियो ।
आमाको एक वर्षको कामलाई आएको बेला पल्ला घरे काकाले बाउ र छोराबुहारीसँगै भएको मौका छोपेर भने, “हेर, विशाल ! तिमीहरू यहाँ बस्न सक्तैनौ, बुबा उता जान मान्नुहुन्न, बिरामी हुँदा एक गिलास पानी तताएर दिने कोही छैन । मेरी बूढीको बहिनी पर्ने एकजना असल आइमाई छिन्, म कुरा अघि बढाउँछु है ?”
विशाल पड्किहाल्यो, “के कुरा गर्नुभाको काका ! जोरीपारीले के भन्छन् ? यस्तो घर भाँड्न नआउनुस् है । हेर्नुस् है बुबा, यस्ता वाहियात कुरा सोच्ने हैन । म त यो घरमा पाइला नि टेक्दिनँ नि फेरि ।”
त्यसपछि कहिल्यै कसैले यो कुरा दोहो–याएन ।
समयको लीला! झन्डै दस वर्षपछि विशालकी पत्नीको बस दुर्घटनामा परेर मृत्यु भयो । बुबाचाहिँ गाउँबाट आएर परिवार सम्हाल्ने कोसिस गरे । विशाल दुब्लाउँदै गयो । कोहीसँग पनि राम्ररी बोल्दैनथ्यो । राति लर्बरिँदै आउँथ्यो । ५, ६ महिना यसै बित्यो ।
एक दिन शनिबार विशालको मिल्ने साथी घर आयो । छोराछोरी र बुबा सबैलाई विशालको निराश हालत बुझाउँदै फेरि बिहे गरिदिन आग्रह ग–यो । बुबा र छोराछोरीले बोल्नु अगाडि विशाल नै बोल्यो, “कहाँ अब छोराको बिहे गर्ने बेला…. ” उसले पुरै नबोल्दै बुबाले भने, “लौन बाबु, तिमीले ठ्याक्कै मेरो मनको कुरा भन्यौ । छोराछोरीलाई म सम्झाउँछु। एक्लै बाँच्न कति गाह्रो हुन्छ! विशाल, तँ चुप लाग्, तेरो बिजोग हेर्न सक्तिन म…. ।”
“हजुरबुबा, हजुर त यति सकारात्मक र बुझ्झकी हुनुहुँदो रहेछ… हामी त बुझिहाल्छौँ नि ! हुन्छ, हामी पनि त सधैँ सँगै बसिरहन सक्तैनौँ नि!” छोरोले भन्यो ।
सबैको यत्रो सहमति पाएर पनि विशाल शीर उठाउन र खुसी हुन सकिरहेको थिएन । उसलाई ठूलो ग्लानि भइरहेको थियो ।
“हजुरबुबा, हजुर यस्तो बुझ्ने मानिस भएर पनि आफूचाहिँ किन यत्तिका वर्ष एक्लै बस्नुभाको त ? हजुरलाई पनि त झन् कति गाह्रो भो होला !” छोरीको यो भनाइले विशालको मुटुमा तिखो बाण रोपियो । आफू महाअपराधी, पढेलेखेको पाखण्डी र निर्दयी बोध भयो । हजुरबुबाले केही बोलेनन् ।
विशालले आँसु थाम्न सकेन र बुबाको गोडा समाउँदै “म अपराधी हुँ बुबा, म पाखण्डी, निर्दयी र स्वार्थी रहेछु । मलाई माफ गर्दिनुस्,” भनेर निकैबेर रोइरह्यो ।
छोराछोरी र साथीले केही बुझेनन् । बाउछोरालाई ट्वाँ परेर हेरिरहे ।

फर्पिङ