“हजुरबुबा ! हजुरबुबा !! बाबामम्मी कहाँ जानुभयो ?”, एक सुरले टी.भी. हेरिरहेको मलाई सानी नातिनीको आवाजले झसङ्ग बनायो । ऊ भर्खर बिस्ताराबाट उठेर आँखा मिच्दै मेरो सामुन्ने उभिएकी थिई ।
“खेतको मेलोमा गएका छन्, नानु । बिहान सबेरै गएका हुन् । सिजनमा धान नरोपे, खेतीपाती नगरे, के खाने ?”, नातिनीलाई चियाखाजा दिँदै मैले भनेँ ।
नातिनीले चिया खाजा खान थाली । म पुनः टी.भी. हेर्न थालेँ । टी.भी.ले असार पन्ध्र अर्थात् राष्ट्रिय धान दिवसका दृश्यहरू देखाइरहेको थियो ।
एकैछिनमा टी.भी.ले पाँच तारे होटलको भव्य हलमा भइरहेको कार्यक्रमको प्रत्यक्ष प्रसारण दिन थाल्यो । बडो तामझामका साथ मन्त्रीले धान दिवसको उद्घाटन गर्दै थिए।
“हजुरबुबा ! त्यो मान्छेले के गरेको ?”, गमलामा धान रोपेर धान दिवसको उद्घाटन गरिरहेका मन्त्रीलाई देखाएर नातिनीले जिज्ञासा राखी।
“धान रोपेका, नानु !”, टी.भी.बाट ध्यान नहटाएरै मैले जवाफ दिएँ ।
“हाम्रो घरमा पनि त गमला छन् नि । यही धान रोप्न छोडेर बाबामम्मी किन खेतमा जानुभएको त हजुरबुबा ?” नातिनीको प्रश्नले मलाई सोचमग्न बनायो। अनि भावुक हुँदै भनेँ, “हेर नानु ! ती त ठूला मान्छे, गमलामा रोपेरै खान पुग्छ। तर हामी त साना मान्छे, खेतमा नरोपेर उँभो हात लाग्दैन बा !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।