पीआर आकाश

“साहुनी एक बोत्तल दिनु त !”

“अहो ! माइलो आज निकै खुसी छस् ।” माइलो एक हातले रक्सिको बोत्तल समाउँदै अर्को हातले पैसा दिन्छ ।

“ए…आज हाताहाती पो ! अझ हात्ती नै रैछ गाठे । अनौठै भयो नि ! हातमा पैसो परेको दिन त यसको छाँटकाँटै अर्कै हुन्छ । हिजो अस्तिको नि कटाइदिन्छु है !”

“हुन्न हुन्न यो छोरीले स्कुलाँ पा’को खाजाको पैसो हो । फेरि घरमा बुढीले मार्छे । बिस्तारै तिरौंला नि साहुनी । किन पीर मान्छ्यौ । हात खुट्टा बसिसकेका भए पो चिन्ता !”

“त्यस्तो बुढीको डर लाग्नेले त रक्सी नै नखानु नि !”

“लाग्छ नि डर । बुढीको आवाज कानमा पर्यो कि यो रौसीको नशा त काँ हो काँ गायब ।” साहुनी रिसाएको भावमा खाता हेर्दै कड्केर बोलिन् ।

“पहिलेको यत्रो बाँकी रैछ । कहिले तिर्छस् त ! मैले यहीँबाट कटाइदिएँ पहिलेको नि !” माइलो केही बोल्न सकेन ।

माइलो लरखराउँदै भट्टीबाट घरतर्फ लाग्छ । मन्द अध्यारो भान्छामा बुढी अँगेनाको वरिपरि जुठो लोटाउँदै थिई । छेवैमा उसकी छोरी भुन्टी भित्तामा टाँसेको कागजमा हेरेर एकाहोरो टोलाइरहेकी थिई । त्यो कागजमा विद्यालयले दिएको खाजाको रुटिन थियो । आजको खाजाको रुटिनमा मासु र चिउरा रहेछ ।

“ए भुन्टीका बा । हिजो स्कुलाँ पा’को यसको खाजाको पैसा खै ? आज यसले खाजामा मासु चिउरा लानी भनेर सता’की छे ! यस्तो महको जमाना दिनको पन्ध्र रुपैँयामा मासु चिउराको खाजा कसरी आउँदो रैछ कुन्नि ! स्कुलले बनाएर खुवाए पनि सक्थ्यो होला नि । सबैलाई एकैठाउँमा बनाउँदा केही सस्तो पनि पर्थ्यो ।”

माइलो जिब्रो लरबराउँदै बोल्छ, “ए त्यो पैसा ! त्यहाँ तल साहिँलीको भट्टीमा तिर्न थियो मैले त तिरिदिएँ ।” रिसले चूर हुँदै भुन्टेकी आमाले जुठो लोटाउँदै गरेको हातको गोबरले माइलोको अनुहारमा हान्छे । मुखमा लागेको गोबर फ्याँक्दै माइलो बोल्छ, “खाजाको पैसाले खाजा खाएँ मैले के बिराएँ…।”