लोकनाथ पुडासैनी

 

मालपोत कार्यालयको प्राङ्गणदेखि सडकसम्म पाइलो राख्ने ठाउँ थिएन । कोही सल्लाह–साउती, कोही कागजका मुठा च्यापेर कुदाकुद गरिरहेका देखिन्थे । लेखापढी सेन्टर र छेउछाउका पसलहरू दश नबज्दै भरिभराउ थिए । त्यही कोलाहलयुक्त भिडमा प्रतीक्षारत दुईजना महिला वार्तालाप गर्दै थिए ।

‘हजुर जग्गा पास गर्न आउनु भा’ त होला ?’

‘हो ।’

‘किन्ने कि बेच्नु हुने हो ?’

‘बेच्ने मान्छे हजुर । के गर्ने रिनले गाल्यो । हजुर नि ?’

‘म चाहिँ किन्ने ।’

‘ए ! कुन ठाउँको जग्गा लिन लाग्नु भा’हो ?’

‘जराङको ।’

‘अनि हजुरले कताको बेच्न लाग्नु भा’ त ?’

‘मैले नि जराङकै हो ।’

‘ए…! एकै ठाउँको किन्ने बेच्ने पो परिएछ त ।’ दुवैजना फिस्स हाँसे ।

‘कस्को जग्गा लिन लाग्नु भा’र छ त हाम्रो जराङमा ?’

‘खै ! मान्छे देख्न, भेट्न पा’ होइन । भगवतीको भन्थे ।’

‘आब्बै …, के अचम्म नै ! भगवतीको रे ?’

‘त्यसै भन्थे ।’

‘के भन्दै हुनुहुन्छ ! त्यो भगवती भन्ने मान्छे त मै हुँ त !’

‘ए … हो र … ? ऐलेसम्म था’पा’होइन ! एकैचोटी पास गर्ने बेलाँ हेर्नु त !’

‘अँ त नि ! मलाई नि अचम्मै लाग्यो । किन्ने बेच्ने नै नचिनिने कस्तो जमाना आयो हजुर ! त्यैँ माथि हामी महिला ! कुखुरा परेवाको मूल्य नि अरूहरूले नै गर्दिने भए ! … बरु जग्गाको मूल्य कति राख्नु भा’थ्यो कुनि ?’

‘खै ! नाम मात्रै त हो । भाउताउ त ऊ ह्वाँलाई सोध्नु पर्छ । म त ल्याप्चे लाइदिन आ’को । बरु किन्ने मान्छे तपाईं ! तपैँलाई नै था’होला नि !’ भगवती बोलिन् ।

‘बागडोर नभएका हजुर हामी उस्तै त हौँ । मैले नि ह्वाँलाई नै सोध्नु पर्छ ।’

उनीहरूका कुरा सुन्दै केही पर उभिएका दुई पुरुष मुसुमुसु हाँस्दै थिए ।