१. काल विभाजनको लघुकथा – शिक्षक
रासा

रासा

आज पनि किरण मिस आउनु भएन । उहाँ अङ्ग्रेजी राम्रो पढाउनुहुन्छ । किन आउनु भएन, थाहा भएन हामी विद्यार्थीहरूलाई ।

हामी नौ कक्षामा पढ्छौँ ।

आज शुक्रबार । छिटो छुट्टी हुने दिन । छिट्टै घर फर्किन पाउने दिन । तर, उहाँको कक्षामा प्रिन्सिपल सर नै आउनुभयो । हामी त वाल्ल !

प्रिन्सिपल सरले पनि अङ्ग्रेजी विषय नै पढाउनुहुन्छ – हामीलाई होइन, कक्षा दशलाई मात्र ।

सरले भन्नुभयो – ‘आज म तिमीहरूलाई पढाउन आएको होइन । किरण मिस आउनु भएन, त्यसैले मात्र …….। तिमीहरूले ड्राकुलाको कहानी सुनेका छौ ? त्यसको फिल्म हेरेका छौ ?’

हामी जवाफहीन छौँ ।

उहाँ पुनः बोल्नुभयो -‘ ब्राम स्टोकर भन्ने मान्छेले ड्राकुला किताब लेखेका छन् । त्यसको फिल्म पनि बनेको छ । म त्यही सुनाउँछु ।’

हामी चुपचाप नै छौँ ।

उहाँ कथा सुनाउनुहुन्छ । सुनाउँदै जानुहुन्छ ।

हामी सुनिरहेका छौँ । डरले खुम्चिएका छौँ । नि:शब्द पनि छौँ ।

उहाँ रोकिनुहुन्छ । कथा सकिन्छ ।

हामी सुस्तरी चलमलाउँछौँ । लामो सास तान्छौँ । एकले अर्काको अनुहार हेर्छौँ । बोल्दैनौँ ।

सर फेरि वाचाल हुनुहुन्छ – ‘ल त, आजलाई यत्तिकै । जाने बेलामा एउटा कुरा भन्छु – डु एज आइ से, बट डु नट डु एज आइ डु ! ओके, बाइ !’

उहाँ निस्किनुहुन्छ । हामी पनि बाहिरिन्छौँ ।

छुट्टी ।

**

आज । हामीले स्कुल छोडेको पनि लगभग बीस वर्ष भैसकेछ । अहिले हामी सबै आ-आफ्ना ठाउँमा कार्यरत छौँ ।

पुराना ती स्कुलका दिनहरू सम्झनामा आउँछन् । आइरहन्छन् । विशेषतः प्रिन्सिपल सरले भन्नुभएको त्यो एउटा कुरा सम्झिरहन्छौँ – म जे भन्छु त्यो गर्नू , म जे गर्छु त्यो नगर्नू !

प्रिन्सिपल सर खुब रक्सी पिउनुहुन्थ्यो । मजाले चुरोट तान्नुहुन्थ्यो । हामीलाई थाहा थियो । उहाँ हामीलाई रक्सी पिउनु हुन्न, चुरोट तान्न हुन्न चाहिँ भन्नुहुन्थ्यो ।

**

यतिबेला हामीलाई रक्सी पिउन मनलाग्छ । चुरोट तान्न मनलाग्छ । तर, हामी सरलाई सम्झन्छौँ । उहाँको कुरा सम्झन्छौँ । यसर्थ, यी कुरा गर्दैनौँ ।

###

नेपाली लघुकथामा ५० को दशकलाई सक्रिय काल भनिनुपर्छ । यही समयको सुरुवाती दिनदेखि नै नेपाली लघुकथामा सक्रिय कथाकार हुन् रासा । उनी अध्ययनशील छन् । थोरै शब्दहरूमा धेरै भाव पोख्ने क्षमता रासामा छ । उनी कुसल अनुवादक पनि हुन् । प्रस्तुत लघुकथा “शिक्षक” शैली र प्रस्तुतिले बेजोड बनेको लघुकथा हो । यस लघुकथाले शिक्षकलाई हेर्ने र पढ्ने कुराको सीमा तोकिदिएको छ । कथा यथार्थवादी धारमा बगेको छ ।

==============

२. सङ्ग्रहभित्रको लघुकथा – म शिक्षक नै बन्छु, बा !
घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’

घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’

सरकारी स्कुल पढाउने शिक्षक बुबाले कलेज पढ्दै गरेको छोरोलाई भने, “तिमी सिभिल इन्जिनियर बन्नुपर्छ ।”

छोराले भन्यो, “बुबा, म सिभिल इन्जिनियर बन्दिनँ ।”
“किन र ? अनि के बन्छस् त, डाक्टर ?” आश्चर्य मान्दै बुबाले सोधे ।

“नाइँ बुबा, म डाक्टर पनि बन्दिनँ ।” छोराले उत्तर दियो ।
“हैन तँ के बन्छस् त ?”
“म एक कर्तव्यनिष्ठ, इमानदार शिक्षक बनेर हजारौँ सुन्दर मनहरू, उत्पादन गर्न चाहन्छु ।”

“यत्रो लगानी गरेर अङ्ग्रेजी स्कुलमा पढाएँ, शिक्षक बन्छु पो भन्छ, ए ! शिक्षक बन्न त सरकारी स्कुल पढे पनि पुग्छ ! दिमाग के भएको छ, हँ ?”

“हैन बुबा, म फरक ढङ्गले सोच्दैछु । तपाईंले मलाई अङ्ग्रेजी स्कुलमा पढाएर गल्ती गर्नु भो भनेर पनि सोच्दैछु । भन्नुस् त, अङ्ग्रेजी स्कुलमा पढाइएका कुन छोराछोरी, देशमा टिकेका छन् ? विकसित देशका उत्कृष्ट विश्वविद्यालय पढ्न जाने नाममा, उतै हराएका छन् , सबै । तपाईं आफू पनि सरकारी विद्यालयको शिक्षक बनेर, देशको बारेमा कहिल्यै केही चिन्ता गर्नु भो ? छोराछोरी यही देशमा बसेर केही गर्नुपर्छ भन्ने कहिल्यै सोच्नु भो ? खाली, छोराछोरी विदेश जान्छन्, मनग्य पैसा कमाउँछन् , मात्र सोच्नु भो । करोडौँ कमाएर विदेशमै हराएर, देश बन्छ र ? देश बन्न त आफ्नै माटोमा उभिएर, माटोमै आफ्ना बुद्धि, विवेक र पसिना बहाउनुपर्छ । कसैले देश बनाउँछु भन्दैमा, बन्दोरहेनछ; मन , वचन र कर्म एक हुनुपर्ने रहेछ । मैले के बुझेको छु भने, यो देश बनाउन शिक्षित नागरिक भएर मात्र पुग्ने रहेनछ; मन वचन र कर्म एक हुनु पर्ने रहेछ । नैतिक, अनुशासित, इमानदार र सुन्दर मन पनि चाहिने रहेछ । म शिक्षक बनेर शिक्षित नागरिक मात्र हैन, देशको लागि काम लाग्ने नागरिकहरू जन्माउन चाहन्छु । त्यसैले म शिक्षक नै बन्छु, बुबा !

###

नमस्ते आधुनिक लघुकथा मञ्चले हालै “शिक्षक” विषयक लघुकथा सङ्ग्रहबाट १३३ लघुकथाकारहरूको लघुकथालाई प्रकाशनमा ल्याएको छ । यसै सङ्ग्रहबाट लघुकथाकार घनश्याम डल्लकोटी “कृष्णजी शर्मा”को “म शिक्षक नै बन्छु, बा” लघुकथा लिइएको हो । घनश्याम डल्लाकोटी “कृष्णजी शर्मा” चर्चा नरूचाउने लघुकथाकार हुन् तर उनीले लघुकथामा गरेको समर्पणले उनीलाई सधैं चर्चामा चुलाउँदै लगिरहेको छ । कृष्णजी शर्मा थोरै लघुकथा लेख्छन् तर धेरै लघुकथाकारहरूलाई अनावरण , स्थान र सम्मान दिने कार्यमा लागिरहन्छन् । उनी नमस्ते आधुनिक लघुकथा मञ्चको संस्थापक व्यवस्थापक हुन् । प्रस्तुत लघुकथा “म शिक्षक नै बन्छु, बा ” ले अभिभावक र सन्तानको संवादमार्फत असल शिक्षक र राष्ट्रप्रेमको वहस चलाएको छ । कथा थोरै आदर्शवादतिर लर्किएको छ ।

=========

३. समूहभित्रको लघुकथा – हामी गुरुचेला
सकला पण्डित

सकला पण्डित

“खै , म्याम यसले पढेर खाने भएन । जतिबेला नि टेही मोबाइलमै झुन्डिरहन्छ ।अरु विषयमा त जसोतसो पास हुन्छ , नेपालीमा चाहिँ जहिले फेल भएर ल्याउने भन्या । टपाईंले यसो हेर्डिनु पर्यो ।नत्र यो आठ कक्षामै बस्ने भो।”

पोहोर साल आठ कक्षामा पढ्ने रोशनलाई उसकी आमाले मसँग भेटाउँदै भनेकी थिइन् ।

नौं र दस कक्षालाई नेपाली विषय पढाउने मलाई उसको पढाइबारे जानकारी थिएन । सानो बच्चा भएकाले खासै फुर्सद नहुने हुँदा पनि उसकी आमाको विशेष अनुरोधलाई नकार्न नसकेकोले ” हुन्छ नि त साँझतिर पठादिनु ” भनेकी थिएँ ।

दिनभरि प्राइभेट स्कुलको जागिर , साँझ घर पुग्न नपाउँदै ऊ आइपुगिहाल्थ्यो । घरमा मातृभाषा बोल्ने विद्यालयमा अङ्ग्रेजी , नेपालीमा त ऊ जिरै रहेछ । तै पनि क ख देखि नै सुरु गरेर दुई महिनामा खरर पढ्न सक्ने बनाइदिएकी थिएँ मैले।

रोशन नौ कक्षामा पुग्नु र कोरोनाको कारण विद्यालय बन्द हुनु पनि एकैसाथ भयो । विद्यालयले अनलाइन कक्षा सुरु गर्ने हुँदा सबै शिक्षकहरुलाई तयार हुन आग्रह गर्यो । प्रविधिसँग खासै परिचित नभएकी मेरा लागि घरैबाट जागिर खानु फलामको चिउरा चबाउनुसरह भयो । अब दुईवटा विकल्प रहे मेरासामु – जागिर छोड्ने कि जसरी हुन्छ सिकेर अनलाइन कक्षा पढाउने । राम्रोसँग ल्यापटप खोल्न पनि नजान्ने मलाई अब कसले सिकाइदेला यो सब । निकै तनावग्रस्त भएको बेला झट्ट रोशनलाई सम्झिएँ ।

अचेल पुनः रोशन उहीँ समयमा दिनदिनै मेरो घर आउन थालेको छ । फरक यत्ति कि पहिले म उसलाई पढाउथेँ भने अहिले ऊ मलाई सिकाउन थालेको छ ।

###

सकला पण्डित लघुकथामा कमै पढिएको नाम भए तापनि उनको कथाकारितामा प्रष्टता र शुद्धता देखिन्छ । कथानकलाई जराबाट उखलेर टुप्पोमा पुर्याई पाठकको सामु कथालाई सजाउन सक्ने हैसियत लघुकथाकार सकलामा छ । प्रस्तुत लघुकथा “हामी गुरुचेला ” थोरै शब्दमा अत्यन्तै कलात्मक र प्रष्ट रूपमा लेखिएको लघुकथा हो । कथामा गुरु र चेलाले बेलाबखत आफ्नो भूमिका बदल्न सक्षम छन् भन्ने देखाइएको छ ।

============

४. समसामयिक लघुकथा : गुरु र शिष्य
तोयानाथ सुवेदी

तोयानाथ सुवेदी

गुरुका एक सच्चा शिष्य थिए । उनी एकदिन गुरुलाई भेट्न गए । त्यो बेला गुरु अध्ययनमा लाग्नु भएको थियो ।

शिष्यले आश्चर्य मान्दै सोधे, ” हजुर त गुरु हुनुहुन्छ ,फेरि हजुरले अध्ययन गरिरहनु पर्दछ र ?”

गुरुले आलटाल गर्नुभयो ,तर शिष्य मानेनन् ।

अन्तमा गुरुले भन्नुभयो, ” शिष्य बाबू ! जीवनको पाठशालामा शिष्य बन्न जति सजिलो हुन्छ त्यति नै अप्ठ्यारो गुरु बन्न हुने भएकाले तिमीहरूकै बारेमा अध्ययन गरिरहेको छु र गरिरहेको थिएँ ।

गुरुको कुरा सुनेर शिष्य नतमस्तक भए ।

###

ओखलढुङ्गा जन्मी हेटौंडालाई कर्मथलो बनाई लघुकथा लेख्न रुचाउने लघुकथाकार हुन् तोयानाथ सुवेदी । उनी सोखका लागि लघुकथा लेख्छन् तर ती लघुकथाहरूमा उनी गजबले भाव र दर्शन पोख्छन् । उनीका प्रायः लघुकथाहरूले पाठकलाई सजिलैसँग स्पर्श गर्ने गरेका छन् । लघुकथाकार तोयानाथ सुवेदी “लघुकथा पाठ्य श्रव्य दृष्य प्रतिष्ठानसँग जोडिएर लघुकथाको विकासको लागि लघुकथा वाचनमा संलग्न पनि छन् । प्रस्तुत लघुकथा “गुरु र शिष्य”मा लघुकथाकार तोयानाथ सुवेदीले कथाको साथमा दर्शनको लेप पनि दलेका छन् । कथा सुन्दर र युगकालीन बनेको छ ।

=========

५. मलाई मन परेको लघुकथा : मल्लिका मिस
राजन सिलवाल

राजन सिलवाल

बसबाट यात्रा गर्दा कथाकार भरसक अन्त्यतिरको सिट रुचाउँथ्यो । यसको प्रत्यक्ष दुईवटा फाइदा थिए । पहिलो, खाली पछिल्लो बस छोडेर कोही न कोही भद्र पुरुषले सिट छाडिहाल्छ नि भनेर बच्चा झुण्ड्याउँदै गाडी चढ्ने महिला वा ‘बाबु ! मलाई उल्टी हुन्छ । सिट छाडिदिनू न है’ भन्ने सज्जन नारीका विवशता र चलाखीमा त्यागी हुन भरसक पर्दैन । दोस्रो, कन्डक्टर र खलासीले खाँदेका मान्छेहरूको हुल ढोकादेखि बसको मध्य भागसम्मै ठेल मठेल हुने हुनाले सास फेर्न किञ्चित सुविस्ता हुन्थ्यो ।

दुई तिनवटा बसलाई सिट प्राप्तिकै लागि छाडेपछि बल्लबल्ल उसले ढोकादेखि दोस्रो लहरको सिट पायो । बस भरिँदै गयो । आफूले मान्नुपर्ने चिनेजानेका कोही चढिहाल्ला र सिट त्याग गर्नुपर्ला भनेर ऊ निहुरिएर मोबाइलमा हरायो । उभिने मानिसहरू थपिँदै गए । कसैले भन्यो, “दाइ ! उकुसमुकुस भयो । झ्याल खोल्नुस् न ।” झ्याल खोलेपछि उसले देख्यो एकजना प्रौढालाई । काँधमा स्त्रीब्याग भिरेकी । दायाँ हातमा थकाउने खालको किनमेल झोला । अनुहार तेर्सा कम र बढी ठाडा धर्काहरूले सुशोभित । युगौँ अगाडि देखे देखेजस्तो तर उसले सोच्न सकेन कहाँ देखेको, कहाँ भेटेको ।

उनले पुलुक्क कथाकारलाई हेरिन् । उसले चिनिहाल्यो मल्लिका मिसलाई । अभिवादनसहित उसले आफ्नो सिट त्याग गर्यो । तिन कक्षासम्म पढेर उसले त्यो स्कुल छाडेपछि केही वर्ष मल्लिकाले त्यहाँ पढाइरहिन् र पछि कता पुगिन् उसको जानकारीमा थिएन । खलासीले उसलाई अलि पछि, अलि पछि भन्दै पुछारतिर पुर्याइसकेको थियो । ओर्लँदाखेरि मिस ढोकाबाहिर उभिरहेकी थिइन् । पैसा दिन लाग्दा कन्डक्टरले भन्यो, “त्यो दिदीले दिसक्नुभयो ।” मिसलाई भन्यो, “ म तिर्थेँ नि मिस । हजुरले किन हतार गरेको ?”

विषयान्तर गर्दै मिसले सोध्नुभयो, “कति पढ्यौ त्यो भन ।” तिनवटा डिग्री गरेकोमा उसले बधाई खायो । “निकै उम्दा थियौ पढ्नमा, कहाँ पुग्यौ ?” मिसले फेरि सोधिन् । कथाकार एकछिन घोरियो । भन्यो, “तपाईँ हिँडेकै बाटोमा छु । कहाँ पुग्छु थाहा छैन ।”

“भनेपछि तिमी मास्टरी पो गर्छौ ?” कथाकार पाठकलाई सोध्न चाहन्छ— “ मल्लिका मिस प्रशन्न भइन् कि खिन्न ?”

###

लघुकथाकार राजन सिलवाल लघुकथाकार मात्र हैनन् उनी लघुकथाको प्रशिक्षक पनि हुन् । “लघुकथा डबली” को संस्थापक व्यवस्थापक उनी थोरै र स्तरीय लघुकथा लेख्छन् । प्रस्तुत लघुकथा “मल्लिका मिस” शिक्षक सम्मानको कथा हो । लघुकथा खुल्ला समापनमा लेखिएकोले शिक्षकप्रति थप भाव पाठकहरूले व्यक्त गर्ने ठाउँ सुरक्षित राखिएको छ ।