“रुद्री पूजा लगाउने विचार गरेको छु, लौ न बाबु कसरी व्यवस्था गर्ने होला ? सन्तान सबै विदेशतिरै रमाएका छन् । हामीलाई सहरमा यो सास्ती । बरु गाउँमै बस्न दिएको भए त छिमेकी, आफन्त, इष्टमित्र हुन्थे । यहाँ त को न को ?”– महेश्वर बाजेले एकनारायणसँग दुःख बिसाए ।
“जसोतसो व्यवस्था मिलाउँला नि बाजे चिन्ता नगर्नुस् । पैसो भएपछि सबै कुरा भै हाल्छ ।” बाजेलाई आश्वस्त पार्न खोजे एकनारायणले ।
“यस्तो साँघुरो आँगन छ । कता लिङ्गा गाड्नु, कता मण्डप बनाउनु ? फेरि सालका, बाँसका लिङ्गा, केराका बोट यो सहरमा कताबाट खोज्नु ? दुना, टपरी पनि चाहिए । म त बडो असमञ्जसमा परेँ बाबु ।”, बाजे अझै विश्वस्त हुन सकेनन् ।
“अरु किनमेल, पूजा सामग्री जुटाउँदै गर्नुस् । दुना, टपरी, लिङ्गा आदिको जिम्मा मेरो भयो ढुक्क हुनुस् ।”- एकनारायणले वचन दिए ।
बाजेले पूजाको लागि आवश्यक पर्ने किनमेल सबै गरे । पण्डितको रायअनुसार पूजासामग्री आदि पनि जोहो गरे । यज्ञस्थल निर्माणको लागि एकनारायणलाई खबर गरे ।
“आहा ! कस्तो भनेकै जस्तो साइजका लिङ्गाहरु पाइएछन् । आजै काटेर ल्याएका जस्ता, कति हरिया हुन् ? कुनै पात पनि नओइलिएका । यी दुना, टपरी पनि कति राम्रा ? बाबुलाई त बडो गाह्रो भएहोला यी सामग्री जुटाउन ?” – बाजेले सहानुभूति प्रकट गरे ।
“केही गाह्रो भएन बाजे । नेपालीको आवश्यकता अनुसार छिमेकी राष्ट्रले सबै चिज बनाइदिएका छन् । यी लिङ्गाहरु, केराका बोट एवं दुना, टपरी सबै प्लाष्टिकका हुन् र सुन्दर पनि छन् । यी लिङ्गाहरु गाड्न खाल्टा खन्नु पनि पर्दैन । जमिनमा आफैं अडिने गरी बनाएको छ । हामीले केही गर्न पनि नसक्ने, संस्कार परम्परा छोड्न पनि नसक्नेका लागि उत्तम विकल्प यही हो ।” एकनारायणले जवाफ दिए।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।