साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

साताका छानिएका चर्चित पाँच लघुकथा

Chovar Blues Mobile Size

१. कला विभाजनका लघुकथा – बिचरा स्वामीजी
धनराज गिरी

शहरमा एक भव्य आश्रमको चर्चा भयो । एक होनहार आध्यात्मिक महापुरुषको बारेमा समाचार आउनथाल्यो । “त्रिकालदर्शी स्वामीजी” यस्तो फुकियो । भारतमा योग दीक्षा लिएर आएका, अर्का रामदेव, एक बोल्यो, चिया दोकानमा ।

“रामदेव कि कामदेव ?”. अलि जागृत चेत भएको युवा बोल्यो । चर्चा भयो । भीड लाग्यो ।

आश्रमको एक नियम थियो । उपस्थित भक्त र भक्तिनीहरूले एउटा ठूलो बहीमा आफ्नो नाम, वतन, उमेर, योग्यता र मोबाइल नम्बर लेख्नुपर्ने ! मानियो । केही महिनापछि हरेक काल स्त्रीदर्शी स्वामीजीले छानी छानी दामिनी र कामिनीहरूलाई फोन लगायो । “कसलाई खोज्नुभयो ? हजुर को हो ?” हरेक फोनमा आमोईको आवाज आयो ।

“हैट, चलाख भएछन् अब जनताहरू ! मेरो सक्कली रूप थाहा पाए क्यारे ! सूत्र फेल भयो । यसपालिको भ्यालेन्टाइन खेर जाने भो ! अब यो स्वामी हुने ढोंग नगरे हुन्छ । युवतीहरू यो साले आशाराम र रामरहिमका कारण सजग भए ! यो बालेन युग हो ।”, यस्तो सोच्यो स्वामीले, र तीन दिनपछि आश्रममा ताला लाग्यो । एक जना सबै करामत थाहा पाएका रवीन्द्र आले, मनमनमा, “बिचरा स्वामीजी !”

कथा सकियो ।

“यौन र अर्थको मामिलामा कसैको पनि विश्वास नगर्नू !”, आले गुरुले कक्षामा पढाएका थिए ।

###

नेपाली लघुकथामा धनराज गिरीको उपस्थिति ५० को दशकमा हो, यस दशकलाई नेपाली लघुकथाको सकृय काल भनिनु पर्छ । लघुकथाकार धनराज गिरी मनमौजी स्रष्टा हुन् । उनी मूलत: गजलकार हुन् । लगातार गीत र गजल गायन र वाचन गर्न सक्ने अत्भूत क्षमता स्रष्टा धनराजमा छ । उनीसंगको हरेक यात्रा कल्पनाभन्दा बाहिरको हुन्छ । लघुकथामा धनराज गिरी राजमार्गलाई छोडेर काँडेभीरमा हिड्न रुचाउँछन् । तसर्थ उनका अधिकाशं लघुकथाहरूले लघुकथाको प्रष्ट राजमागर्ग छोडेका छन् । “औंला” लघुकथासंग्रह धनराजको प्रकाशित कृति हो । प्रस्तुत लघुकथा “विचरा स्वामीजी” आध्यात्मिक सुगन्धमा लेखिएको यथार्थवादी लघुकथा हो । कथा वर्तमान लघुकथाको लिगमा दौडेको छ ।

==========

२. सङ्ग्रहभित्रको लघुकथा – ऋण
खेमराज पोखरेल

उसको मन अशान्त थियो । गुरु ब्रम्हचारीको आश्रममा पुग्यो ।पार्किङ्ग लटभरि भक्तका गाडीहरू थिए । ठूलो हल थियो । तगझग थियो । भूइँको आसनमा बस्यो । भित्तामा झुन्ड्याइएको ठूलो स्किनमा गुरुजी देखापरे । मेडिटेसन गर्न सिकाए । एक घण्टाको मेडिटेसन कार्यक्रमपछि गुरूजी आफै हलमा देखा परे ।

गुरूवाणी भयो – शान्त रहनु । मरेर जाँदा केही लगिदैन नाशवान् छ संसार । मैले यो आश्रम जनहीतको लागि बनाएको हुँ । आश्रम बनाउन दाताहरूको ठूलो भूमिका छ ।मुक्तिको बाटो दान हो ।

रनाह लागेर उ घर फिर्यो । पँलेटी कसेर बसेकाले घुँडो बेस्सरी दुखेको थियो । जिउ करकर गरिरहेको थियो । खायो र सुत्यो । तन्द्रामा पुगेपछि भगवान आए । भगवानले सोधे – भक्त ! तिम्रो भक्तिबाट म खुसी भएँ । तिमी हिडेको भौतिक बाटो छोडिदेऊ । परमार्थको बाटो मसंग हिंड ।

उ अलमल्ल पर्यो । अनि उस्ले भगवानलाई भन्यो – साहुको बेमान हुन मिल्दैन प्रभु ! हिजो मात्र २० वर्षे कर्जा लिएको छु ।

###

“श्रीवल्ली”लघुकथाकार खेमराज पोखरेलको पछिल्लो लघुकथासंग्रह हो । अरू कथासंग्रहहरूमा झै यसमा पनि लघुकथाकार पोखरेलले ७१ वटा लघुकथाहरू नै संग्रहमा सजाएका छन् । “ऋण” लघुकथा पुस्तकको ६३ पेजमा सजिएको छ । लघुकथाकार खेमराज पोखरेल शारिरीक उचाईले मात्र हैन बौद्धिक उचाईले पनि नेपाली लघुकथामा अग्ला छन् । केही खेमाले उनलाई लघुकथाको गुरु पनि मान्छन् । उनी लघुकथा लेख्ने र सिकाउने काम संगसंगै गर्छन् । प्रस्तुत लघुकथा “ऋण” अध्यत्म र भौतिकताको रंगमा लेखिएको लघुकथा हो । लघुकथाले पहिले आफ्नो भौतिक दाहित्त्व समाप्त गरिसकेपछि मात्र अध्यात्ममा लाग्न प्रेरणा दिन्छ ।

=========

३. समूहभित्रको लघुकथा – तिर्खा
बि.बि. याक्खा

उसको पाईलाहरु फटाफट अघि बडिरहेको थियो । चुपचाप बाटोमा भेटिने होटलले बोलायो – ए मनुवा ! भोक मेटेर जाउ ।

उसले जवाफ फर्कायो – मेरो चाहाना पेटको भोक हैन भन्यो।

तेस्तै मधुशालाले बोलायो -आउ मनुवा! मदहोस बनेर रमाउन।

फ़ेरि कहिले पनि बेहोसीमा जिउने बानी छैन भन्दै अघि बढयो।

उनको अन्त कतै बिना अलमलले सबैले अनौठो मान्दै नै थिए!

एकाएक उनको पाईलाहरु एउटा लाईबेरी भित्र पुगेर रोकियो।

हातमा पुस्तकका ठेली लिएर केहिछिन पछि त्यो बाटोहुँदै घरतर्फ फर्किन्दै खुशीले सबैलाई मुसुक्क हास्दै भने – पधेरोसम्म पुगेर आएको।

###

लघुकथाको विकासमा “लघुकथा सौन्दर्य” लचिले समूह हो । यस समूहमा लघुकथा सम्बन्धि हरेक कुराहरू सहज रुपमा राख्न पाइने काइदाको छुट छ । यसै समूहबाट बि.बि. याक्खाको “तिर्खा” लघुकथा लिइएको हो ।
लघुथाकार बि. बि. याक्खा राई जाति अन्तर्गतको याक्खा भाषाको पहिलो लघुकथाकार हुन् । उनी समसामयिक लघुकथाहरू संखुवासभामा नै बसेर लेख्छन् । उनको लघुकथा लेखनमा जातीय संस्कृति र पूर्वीय सौन्दर्य झल्किएको पाइन्छ । प्रस्तुत लघुकथा “तिर्खा” मा पुस्तकको महत्त्वलाई थोरै शब्दमा विशिष्ट रुपमा प्रस्तुत गरिएको छ ।

==========

४. समसामयिक लघुकथा – राष्ट्रियता
डा. कुसुमाकर शर्मा गौतम

सामाजिक पढाउने गुरुले आज पढाउने शीर्षक कालोपाटीमा लेख्नु अघि विद्यार्थीहरूलाई सोध्नु भयो, ‘हामी कुन देशका नागरिक हौँ ?’

‘नेपाल’ सबैले एक स्वरमा जवाफ दिए । ‘हामी नेपालका नागरिक हौँ भने हाम्रो राष्ट्रियता के हो ?’, गुरुले दोस्रो प्रश्न सोध्नु भयो ।

‘हाम्रो राष्ट्रियता नेपाली हो ।’, सबैले एकै स्वरमा उत्तर दिए।

गुरुले कालोपाटीमा आज पढाउने शीर्षकको नाम लेख्नु भयो, ‘राष्ट्रियता’। लेखिसकेर विद्यार्थीतिर फर्कनुभयो । यसो हेर्दा पीटर गोर्खाली कुनै उत्तर नदिएर चुपचाप बसेको देख्नु भयो । गुरुले पीटरलाई सोध्नु भयो, ‘तिमी किन चुपचाप छौ पीटर ?’

‘मेरो बुवा चाइनिज हुन र मेरी आमा मलयाली (केरलाकी) हुन्। बुवाले पच्चीस वर्षदेखि नेपालमा जलविद्युत उत्पादनको कम्पनीमा काम गर्नुहुन्छ। मेरी आमा त्यही जलविद्युत कम्पनीको एकाउन्टेन्ट भएर पन्ध्र वर्षदेखि नेपालमा काम गर्दै हुनुहुन्छ। दश वर्षअघि उहाँहरूले विवाह गर्नु भयो। म जन्मनुअघि मात्र उहाँहरूले नेपालको नागरिकता पाउनु भयो। त्यसैले म जन्मदै नेपालको नागरिक हूँ। नेपालमा जन्मिएकोले मेरो थर गोर्खाली राखे।’ एकै सासमा पिटरले आफ्नो कथा बतायो।

‘तिम्रो नागरिकता नेपाली भए पछि त तिम्रो राष्ट्रियता पनि नेपाली नै भयो नि। हैन र?’ गुरुले फेरि सोध्नु भयो।

पीटरले अनुहारमा मुस्कान ल्याउँदै भन्यो, ‘म चाइनिज हजुरआमालाई धेरै माया गर्छु। उहाँ बुद्धको पूजा गर्नुहुन्छ। अनि प्रत्येक गर्मीको छुट्टीमा उहाँलाई भेट्न चीन जान्छु। हजुरआमाको हातको खाना यति मीठो हुन्छ कि? सम्झँदै मुख रसाउँछ। भारतको केरलाका बाजे बज्यै मलाई असाध्यै माया गर्नु हुन्छ। उहाँहरू क्रिश्चियन हुनुहुन्छ। मलाई केरलको समुद्री किनार, त्यहाँको नाचगान र संस्कृति मनपर्छ। त्यसैले प्रत्येक जाडो याममा म केरला जान्छु। म चाइनिज बोल्छु, मलायली पनि मज्जासँग बोल्छु। म नेपालमा जन्मिएको हुनाले यहीँ नेपालीमा शिक्षा दिक्षा लिदै छु।’

टाउको उठाएर गुरुका आँखामा हेर्दै बोल्यो, ‘मेरो तन नेपालमा छ। रगतको नाता अन्तरदेशीय स्थानमा फैलिएको छ। अनि मेरो मन तीन तिर बाँडिएको छ। अब तपाईँ भन्नुहोस् गुरु मेरो राष्ट्रियता के हो ?’

###

यतिखेर राष्ट्रियताको ठूलो संकट परेको छ । पछिल्लो समय अन्तरदेशीय बिवहाले त राष्ट्रियता घाटमा पुगेको पनि महशुस हुनथालेको छ । यसै बिषयलाई लघुकथाकार डा. कुसुमाकर शर्मा गौतमले प्रस्तुल लघुकथामा प्रष्टाएका छन् । डा. कुसुमाकर शर्मा गौतम मूलत: मानवीय संवेदनाका लघुकथाहरू लेख्छन् । ड्यास्पोरिक पीडा र अनुभूतिहरूमा खेल्न रुचाउने शर्मा गौतम रुकमका हुन् हाल उनी क्यानडामा बसोबास गर्छन् । साहित्य पोष्टले सञ्चालन गरेको साप्ताहिक लघुकथा प्रतियोगितामा डा. कुसुमाकर शर्मा गौतमले उत्कृष्ट लघुकथाकारको उफाधि पाएका छन् । प्रस्तुत लघुकथा “राष्ट्रियता” राष्ट्रियताको पहिचानमा अल्मलिएको पात्रको यथार्थ चित्रण हो । यस्तो चित्र विदेशी भूमिमा मनग्य देखिन थालेको छ ।

==========

५. मलाई मन परेकोलघुकथा – आँट
गङ्गा खड्का

शोभा दाइको अपरेसनको दिनमा ११ वर्षीय भदैलाई पनि लिएर अस्पताल गई । बच्चालाई अस्पताल लिएर गएको भन्दै कतिजनाले उसलाई हकारे । कतिजनाले अपरेसन थियटरमा लैजाँदै गर्दा उसका दाजुले छोरीलाई देखेपछि तरक्क आँसु झारे भन्दै टीकाटिप्पणी गरे ।

“पढेलेखेका मान्छेको झन् बुद्धि नहुने रहेछ । त्यसरी छोराछोरी देखाइदिएपछि बिरामीलाई चिन्ता पर्दैन ?” कसैले उसको बौद्धिकतालाई आक्रमण गरे । शोभालाई नराम्रो लाग्यो तर केही भनिन ।

अस्पतालबाट घर फर्किएपछि नि यो कुरा सेलाएन । शनिबारको दिन बिरामी हेर्न आउनेको बाक्लो उपस्थिति थियो । त्यही मौकामा शोभाले दाजुसँग भनी, “दाइ मलाई माफ गरिदिनुहोला । मैले हजुरको अपरेसन गर्ने दिनमा हजुरको अगाडि छोरी देखाइदिएर चिन्ता पो थपिदिएछु ।”

“तिमीले मसँग माफ माग्ने होइन बहिनी । मैले चाहिँ तिमीलाई धन्यवाद दिनुपर्ने छ । मलाई अपरेसन गर्दा के हुने होला, मर्ने पो हो कि भन्ने एकदमै डर थियो । जब तिमीले छोरी लिएर मेरो सामु आयौ तब यो छोरीको लागि भए पनि मैले काललाई जित्नुपर्छ भन्ने आँट आएर डर त्यत्तिकै गायब भयो ।”

###

लघुकथाकार गङ्गा खड्का पेशाले शिक्षिका हुन् । नानीबाबूसँग समय बिताउनु र उनीहरूको स्वभाव बुझ्ने गङ्गाको दैनिकी नै हो । प्रष्ट लघुकथाहरू लेख्ने गङ्गा खड्का नानीबाबूहरूको विषयलाई पनि बेलाबखत लघुकथाको बिषय बनाइरहन्छिन् । गङ्गा खड्का नेपाली लघुकथामा उदाइरहेको एक तारा हो । कुनै गुठ वा उपगुठमा नल्झेको कारणले तत्काल उनीको चर्चा कम देखिन्छ तर एकदिन गङ्गा खड्काको लघुकथाले नै गङ्गालाई लघुकथाप्रेमीहरूको सम्मुख चर्चामा ल्याउने छ । प्रस्तुत लघुकथा “आँट” मनोविश्लेषणात्मक लघुकथा हो । यस लघुकथाले बालबालिकाको महत्त्व र सौन्दर्यको अतुलनीय व्याख्या गरेको छ । यो कथा गङ्गा खड्काको मात्र हैन नेपाली लघुकथाको नै एक महत्त्वपूर्ण लघुकथा हो ।

लेखक परिचय
प्रतिक्रिया
Loading...