“हैन ए ! मुर्दार कति घिच्छ्स्, घिच्न पनि । उफ् ! पचाउँदा पचाउँदा दिक्क भैसके ।” पेटले आगो हुँदै मुखसँग भन्यो।

“मसँग किन रिसाउँछौ ? मैले के गरेको छु र ? जति हातले कोच्छ, त्यति नै पठाउने त हो, मैले। यता ‘कति चपाउँनु हो’ भन्दै दाँतले बसिखान दिएको छैन ।” दिक्क मान्दै मुखले भन्यो।

“यो पेटले पनि गर्नु गर्यो । मलाई एकछिन बसिखान दिँदैन। पेलेको पेल्यै हुन्छ। उता मलद्वारले ट्वाइलेट जादाजाँदा हत्थु भो ! भनेर प्राण खाएको खायै छ। हे भगवान् !” आन्द्राले गुनासो पोख्यो।

उपस्थित सबैले हातलाई दोषी करार गरे । हातकहाँ पुगेर रिसाए, थर्काए । मुखलाई कम खुवाउन आग्रह गरे।

“हेर ! साथीहरू हो । तिमीहरू शान्त हौ। रिसाएर केही फाइदा हुन्न। म कति दु:ख पीडा छु, भन्ने मलाई नै थाहा छ। त्यो टाउकोले एकछिन शान्त बस्न दिँदैन। खाना जुटाउने देखि लिएर, खाने र धुने सबै मैले नै गर्नुपर्छ। के गर्नु माथिको आदेश मान्नै पर्यो।” हातले दुखित हुँदै भन्यो। हातले माथिको आदेश भन्ने बित्तिकै सबै चुपचाप लागे।

घोराही उपमहानगरपालिका १४, दाङ