बार्दलीमा बसेर सान्नानी पर पर …. सेतै फुलेका काँसघारी, भेरीको बगर र भेरीपारिको जङ्गललाई आँखाभरि समेट्छे । जँहा ऊ आफ्ना चन्चलता, खुसी र उमंगका साथ सपनाका थुङ्गाहरू बटुलेर बुन्दै थिई सुन्दर प्रेमिल जीवनमाला । धागोको पैया बनेको अल्लारे उमेर र पबित्र प्रेममा आफ्ना चाहना, खुसी र सुखको कल्पनाका पबित्रता गाँस्दै थिई ऊ । विस्वास अनि समर्पणलाई धागोको गाँठोमा बेस्सरी कसेर सिंगार्दै थिई भविष्यको सम्भावनाहहरू, टलक्कसँग टल्काउने भरोसामा ।

हो, यही बाटो, चौतारी, वन, झाडी, रूख, बुटा, पाखो र सललल बगेको भेरीको तिर अनि बलौटे बगर नै बन्नपुग्यो सान्नानीको लागी कहिले खुसी त कहिले पीडाले मुटु छेड्ने तीर ।

सान्नानी अर्धचेतनाबाट केही बोल्न खोज्छे । शब्दले नै गला थिचेझैं वाक्य निस्कदैन । आँखाका पानी सकिएर बगरका बालुवाझैँ ओभानो छ । कयौं दिनहरू बितिसक्यो उसको जीवन छताछुल्ल भएको, नसोरिने गरी पोखिएको, अनि समाजमबाट ठूलो अपराधीको पगरी पाएको र कलंकितको सम्मान भिरेको ।

ऊ सम्झन पुग्छे, सबैभन्दा प्रिय ठानेको मान्छे, उसका त्याग र बाध्यताहरू । सान्नानी ढल्दै-उठ्दै गर्दा पटकपटक ठोकिन्छे बर्दलीका खम्बासँग र ती रगताम्बे भित्री र बाहिरी चोटहरू बोक्दै, बजारिन्छे बार्दलीका तिखे कुनाहरूमा जीवन बजारिएकै जसरी, र फेरि थचारिन्छे उही जमीनमा डढेल्लो लागेको धरतीझैँ डढेको मन लिएर।

हरक्षण नयनभरि घुम्छ, त्यो तितो पल । हृदयले छाम्न पुग्छ, घर परिवार जसले उसका चाहनामात्र हैन, जिन्दगीलाई नै कष्टका साथ रेटीदिएका थियो । सान्नानी आफ्नो समाज र सामाजिक परिवेश सम्झन्छे, र भेट्छे छियाछिया मुटुको घाउमा नुन-चुक-खुर्सानी दलिदिने आडम्बरी मानवता । ऊ ताप्न चाहन्छे कानुन, न्याय र अधिकारको रापिलो घाम । तर सान्नानी आफ्नो निर्दोशितामा पाउँछे, केवल ऊमाथि बर्सिएका प्रश्नका वर्षा, घृणा र दुर्व्यवहारका भेल ।

सान्नानीलाई लाग्छ, अब आउने सारा समय अन्धकारका रातहरू मात्र हुन्, जँहा सान्नानीलाई नै उसैको भविष्यले मिर्मिरे चिहाउन दिने छैन |

सान्नानी अर्धचेतमै निसास्सेझैं भाग्दै भेरीको तिरमा पुग्छे, र फटाफट भेट्टाउँछे आफूले बटुल्न खोजेको र बुन्दै गरेको प्रेमिल जीवनमालाका थुङ्गाहरु, च्यातिएर लुछिएर, कुल्चियर, बाँधिएर भेरीमा बग्दै लास बनेर किनाराभरि लम्पसार परिरहेको सहयोगीसमेतका कयौं सुन्दर सृष्टिहरू ।