रविन थपलिया (क्यानडा)

कृति भाउजू पार्टीमा निकै ढिला आइपुग्नु भयो। ढिला आए पनि उहाँको रवाफमा भने कुनै कमी थिएन । ढिलो आएकोमा उनको अनुहारमा अलिकति पनि असजिलोपन झल्किएको थिएन ।

“घर व्यवसाय सबै थोक भ्याएर विदेशको ठाउँमा नेपाली समाजको सेवा गर्न सजिलो छैन, बाबू ।” उहाँले मैले प्रश्न सोध्नु अघि नै जवाफ दिनुभयो।

उहाँ आफैंले आफूलाई परिचय दिँदा सामाजिक अभियन्ता एवं व्यवसायी भन्न रुचाउनु हुन्छ।

“साथी आउनु भएन ?” मैले साथी साथमा नदेखेर सोधेँ।

“उहाँको रातिको काम छ, यो हप्ता । नर्सिङ्ग पेशामा सबै गुन, यही एउटा बैगुन ।” भन्दै कुनाको बारतिर लाग्नु भयो । बारमा नामी दामी मादक पदार्थहरु आफ्नो रोजाइअनुसारको पिउने व्यवस्था थियो ।

म पनि साथीहरुसँगै बसेर खानपिनमा रमाउन थालेँ । नाचगान र गीत संगीतमा मान्छेहरु झुमेका थिए । साँच्चै नेपालमय साँझ थियो त्यो ।

मेरो राति अलिक चाँडै सुत्ने बानी भएकोले १२ बजेतिर निस्कन लाग्दै थिएँ । भाउजूलाई रेस्टुरेण्टको बाहिर निस्कने गेट नजिकै सानो पानीको बोतलमा कपबाट केही खनाइरहेको देखेँ।

“भाउजू, के खनाउँदै हो ? अलिक उज्यालोमा बसेर खनाउँदा सजिलो हुन्थ्यो नि ?”

“तपाईंको साथी ब्लाक लेबल भनेपछि हुरुक्कै हुनुहुन्छ, अलिकति लग्दिऊँ कि भनेर ।” लाजलाई पनि लाज लाग्नेगरि खिसिक्क हाँस्नु भयो ।

म चकित परेँ । एक/ दुई घण्टा काम गरेको पैसाले यो बोत्तल नै किन्न सकिने ठाउँमा पनि किन यसरी -याल चुहाउनु भएको होला भाउजूले जस्तो लाग्यो एउटा मनमा ।

अर्को मनमा ब्यर्थै देखेछुजस्तो लाग्यो । आखिर दरिद्रपन त व्यक्तिगत स्वभाव न हो । अनि अर्को मनले जिस्कायो- “पिरती गाढा रहेछ मेरो साथी र भाउजूको, समुदायको हित अवश्य हुन्छ ।”