१. काल विभाजनको लघुकथा – व्यापार
सत्या अधिकारी
जीविकोपार्जनको लागि उनले धेरै ठाउँमा पैसा रोपे । अहँ, कहिल्यै पनि उंभो लाग्न सकेनन् । भाग्यलाई दोष दिंदै रामवीरका जोइपोइ दुखेसो पोख्दै थिए।
“भएभरको जायजेथा सकिन लाग्यो। कहिले होला हामीलाई भाग्यले साथ दिने ? विदेशको पसिना जम्मा गरेको भए सूर्य चिस्याउन पुग्ने बगाएँ होला। सबै ब्यर्थ भयो।”
आफ्नै देशमा आएर केही गरुँ भन्दै, सरकारी अनुदान कुम्ल्याउने सुरमा माछा, कुखुरा र भैंसी फारम खोलें।सबैमा घाटा मात्र बेहोर्नु पर्यो। यो टाउकोमा उल्टै ऋण थुपरियो।
एम. ए. पास भएको छोराको प्रमाणपत्रमा ढुसी पलाएको छ। अब के गर्ने होला त बुढी?” निरासाको भाव ओकले, रामवीरले।
धेरैबेरको सोचाइ पछी उनकी बुढीले मुख फोरिन् , – “बूढा! जीवनमा हरेस् र चरेस् कहिल्यै नखानु भन्छन् ।
हाम्रै घर छेउको त्यो स्कुल हेर्नू त! कहाँबाट कहाँ पुगिसक्यो। बरु त्यतै मिल्काउँ दुईचार मुठा । ” छोराको प्रमाणपत्र पनि बिक्छ र हाम्रो वयवसाय पनि टिक्छ।”
###
नेपाली लघुकथामा ७० को दशकलाई सामाजीक सञ्जालमैत्री काल भनिनु पर्छ । यसै समयमा सामाजिक सयय्जालमा देखिएको एक लघुकथाकार हुन् सत्या अचिकारी । सत्या अधिकारी पछिल्लो समय लघुकथामा देखिएको एक आशा लाग्दो नाम हो । उनी अनुभूतिलाई जीवनको रंगमा घोलेर लघुकथा लेख्छिन् । अहंमा नअल्झि लेखनमा निरन्तर लाग्ने हो भने उनी नेपाली लघुकथाको “लम्बे रेसकी घोडा” हुन सक्छिन् । प्रस्तुत लघुकथा “व्यापार”मा सत्या अधिकारीले शिक्षामा मौलाएको व्यापारको चित्रण गरेकी छिन् ।
=========
२. सङ्गहभित्रको लघुकथा – डिभोर्स
गायत्रीकुमार चापागाईं
कल्पना पढे-लेखेकी आँट र हठ दुबै भएकी भएकी केटी । जागिर । दुई सन्तानको आमा । छोराछोरी नहुर्कीकन अमेरिका जाने सपना बुन्न थाली । डि.भी. भरि, परेन । स्टुडेन्ट भिसाका लागि निवेदन हाली । एम्बेसीले फर्कायो । सल्लाह दिनेले भनि दिए – “लोग्नेसंग डिभोर्स गर भिसा लागि हाल्छनी ।” त्यसै गरी । आश्चर्य, भिसा लागिहाल्यो ।नयाँ संसारको कल्पनामा बूढो र छोराछोरीलाई पछि मिलाउँला भन्दै एक्लै उडी ।
सिकेको सीप र सहृदयीहरूको भरथेगले ठूलै सहरमा काम पाई । ब्युटिसियन ।उनी हरिया डलरमा जमी । पाँच वर्षमा फर्केर आई । पुन: बिहे दर्ता गरि ।अब पक्का भिसा लाग्छ भन्ने ठानी ।फर्कि उता, ग्रिनकार्ड बन्यो । सिटिजनसील भयो । लोक्ने, छोराछोरी लान लाख जुक्ति गरि तर असफल । दस वर्ष बित्यो । उ एक्लै उता, यता परिवार । अन्तिम पटक उ आफैइमिग्रेसन अफिस पुगी । अफिसरलाई रूदै आफ्नो व्यथा बताई । फायल देखाई । अफिसरले भन्यो- ” मन नमिलेर डिभोर्स गरिएको त्यही मान्छेसंग फेरि बिहे भयो भनेर म कसरी पत्याउँ । संसारमा त्यो भन्दा अर्को लोग्नेमान्छे तिमीले पाइनौ ?” उ निरुत्तर भई । उसका लागि संसार अँधेरो भयो ।
मनमनै निर्णय गरि – “म अब नेपालै फर्कन्छु ।”
बूढोलाई फोन गरी । बूढोले भन्यो, “नआउ, बरू पैसा पठाउ ।”
उसको मन झन् अशान्त र चिसो भयो ।उसले बुझे बुझेजस्तो लाग्यो -” डिभोर्सको वास्तविकता सार्थक भएछ ।”
###
प्रस्तुत लघुकथा “डिभोर्स” गायत्रीकुमार चापागाईंद्वारा लिखित “साइत” लघुकथासंग्रहभित्रको लघुकथा हो । यसमा ६४ वटा लघुकथाहरू छन् । गायत्रीकुमार चापागाईं पाका र अनुभवी लघुकथाकार हुन् । उनी समाजको विविध विषयमा गहिराईभित्र नै डुबेर लघुकथा लेख्न सिपालु छन् । प्रस्तुत लघुकथा पारिवारीक सुखको लागि विदेशीने नेपाली नारीहरूको दुखद् कथा हो ।
=========
३. समूहभित्रको लघुकथा – भिखारी
शिव नेउपाने (रुम्तेक सिक्किम)
“ए ! घरपति आमै,बाबै जदौ गरें, म भिखारी तपाईंहरुको कुटीमा भिक्षा लिँदै आएको छु ,केही माग्नलाई ।”
घरपति – “भन के माग्छौ ?”
भिखारी – “म पनि यही माटोको उपज हुँ हजुर…तर…
दिनु हुन्छ भने एक कटौरो पानी पाऊँ पहिले तर हजुर कै सिम्सारमा उम्रिएको होस्।
खानलाई एउटा फापरको रोटी होस् जो हजुर कै गाई गोठको मलमा फलेको फापर होस् ।
अचारमा पुदिना पिसिदिए हुन्छ ।
बस्..साँझ पनि पर्यो सिकुवामा बास पाउन..केही त्यस्तो पर्दैन ।
एउटा स्वदेशी राडी र खादीको खास्टो भए मलाई मीठो निन्द्रा लाग्छ कसो मिल्ला त ?”
आमै बाबै मौन थिए…….
भिखारी उभिरहेको थियो ।
###
नेपाली लघुकथालाई भारत र नेपालबीच सेतुको काम गर्ने उद्देश्यले खोलिएको “सिक्किमेली लघुकथा समाज”ले शान्त र भद्र पारामा नेपाली लघुकथाको विकासको प्रयासहरू थालेको छ । प्रस्तुत लघुकथा यसै पेजबाट लिइएको हो । कथाकार शिव नेउपाने रुम्तेक सिक्किम निवासी हुन् । उनका लघुकथाहरू शब्दले छोटा तर भावले गहन हुन्छन् । प्रस्तुत लघुकथा “भिखारी” थोरै शब्दमा लेखिएको एक मार्मिक कथा हो । यस कथाले हाम्रो हराएको “बास प्रथा”को सानो झझल्को दिएको छ । कथाले स्थानीय उत्पादनको जगेर्न गर्न उत्पेरणा पनि जगाएको छ ।
========
४. समसामयिक लघुकथा – लात्ती
उद्धवप्रसाद प्याकुरेल
“ऐया ! साह्रै गाह्राे पाे भयाे !” अफिसबाट थकित मुद्रामा आएका श्रीमानले बेडरुम छिर्दै भने ।
“हैन, आज फेरि के भयाे ?” श्रीमतीले श्रीमानकाे काेट फुकाल्न सहयाेग गर्दै साेधिन् ।
” के हुनु नि ! आज सक्ताे लात्ती खाएर आइयाे ।”
” तपाईंलाई कसले लात्ती हान्याे ? छिटाे भन्नुस् म तुरुन्तै कारबाई गराउँछु ।” श्रीमतीले खलखल पसिना काड्दै फाेन डायल गर्न तम्सिइन् ।
” सरकारी पूरै संयन्त्रकाे त केही चलेन तिमीले कारबाई गर्ने रे !” श्रीमान् खिस्याउँदै भने ।
” अफिसमा झगडा गर्नुभयाे कि के हाे ?”
” के म झगडालु जस्ताे छु र ?”
” कतै बाटाेमा केटी जिस्क्याउनु त भएन ?
” म तिमीलाई त जिस्क्याउन्न । अरूकाे के कुरा । तिमीले त्यस्ताे साेच्याै भने त पाप लाग्छ ।”
“तपाईँमाथि कसले लात्ती चलायाे छिटाे भन्नुस न त ?”
” खै काे हुन्, झाँ झुँ झीँ गर्दै थिए ।”
” चाइनिज हुन कि क्या हाे ?” छिटाे भन्नुहाेस् न !”
” मेराे सभ्यलाई म भित्र विकास भएकाे असभ्य व्यवहारले । अब त बुझ्याै ?”
” के भनेकाे त्यस्ताे मैले त फिटिक्कै कुरा बुझिन ।” श्रीमती जी अकमक परिन् ।
” नबुझेकाे भए म बुझाउँछु सुन, म अफिसबाट आउँदै थिएँ । सडकमा त ठुला ठुला पहाड पाे बनेछन् । त्याे पहाडले मलाई देखाएर गिज्याउँदै भन्याे, ” हा हा हा यिनै हुन् सहरका सभ्य मानिस ।” मलाई लाजभयाे र मैले मुख छाेपेँ । त्याे पहाडमा लडाकुका जत्थै जत्था थिएँ । म डराएर फटाफट हिँड्दैथिएँ । झाँ झुँ झीँ गर्दै सयाैँ जत्था आए र मलाई लात्ती बजाउँदै गए ।”
“सिधा कुरा गर्नु नि ! खाली नचाहिँने कुरा गर्नुहुन्छ !” श्रीमती झन्किइन् ।
“के नचाहिने हुनु नि । सडकका फाेहाेरमा बसेका झिँगाले तिमीलाईचाहिँ लात्ती हानेका छैनन् र ?”
###
पछिल्लो समय काठमाडौ उपत्याको फोहरहरू अस्तव्यस्त भएका छन् । यही अस्तव्यस्त फोहरको बिषयमा लघुकथाकार उद्धवप्रसाद प्याकुरेलले “लात्ती” शीर्षकमा उतारेका छन् । लघुकथाकार उद्धवप्रसाद प्याकुरेल मूलत: बाल रचनाका वरिष्ठ सर्जक हुन् । उनी लघुकथाको विकासमा काम गरिरहेको एक सम्मानित “आधुनिक नेपाली लघुकथा” समूहको एक एडमिन पनि हुन् । प्रस्तुत लघुकथा “लात्ती” फोहरमाथि लेखिएको सफा कथा हो । यस लघुकथाले कौतुहलता निरन्तर कामय गरि अन्त्यमा पाठकलाई दमदार झड्का दिएको छ ।
=======
५. मन परेको लघुकथा – हिसाब किताब
जीवन दाहाल
धोएर थुपारेका लुगा पट्याउँदै गरेको लोग्नेले स्वास्नीतिर फर्किएर ठट्टा गर्यो-“बुझ्यौ बुढी, संसारमा मभन्दा दु:खी लोग्नेमान्छे अर्को छैन होला ।”
“किन र ?”
“स्वास्नीको कट्टु पट्याएरै जिन्दगी जाने भएर नि ।”
“हो बुढा हो, हामीभन्दा दुखिया संसारमा अर्को छैन होला; हो”- स्वास्नीले सही थपी लोग्नेको कुरामा ।
स्वास्नीको कुरा सुनेर लोग्नेले आश्चर्य मान्दै सोध्यो-“मैले त स्वास्नीको कट्टु पट्याएर जिन्दगी बिताउनु परेकाले दु:खी भएँ तिमी चैं कसरी दु:खी भयौ नि ?”
“लोग्नेको कट्टु धोएर जिन्दगी बिताउनु परेकाले”-स्वास्नीको उत्तर थियो ।
###
लघुकथाकार जीवन दाहाल थोरै तर स्तरीय लघुकथा लेख्ने लघुकथाकार हुन् । उनी आफ्नो एक मौलिक फर्म्याट तयार बनाएर लघुकथा लेख्छन् । लघुकथाहरूको राम्रो अध्ययन गरेका जीवन दाहाल “लघुकथा डबली” को संस्थापक एडमिन हुन् । राम्रो लघुकथाको खोजी र अघ्ययन उनको बिशेषता हो । प्रस्तुत “हिसाब किताब” लघुकथा लोग्ने र स्वास्नीबीचको लघुकथा हो । कथाले सामान्य तर हल्का अश्लील लाग्ने बिषय प्रस्तुत गरे पनि सारशंमा कथाले जीवनको एक साश्वत सत्य बोलेको बोलेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।