हरिचन्द्र ढकाल

‘यो अमेरिका हो सानी,यहाँ साना साना कुराहरुमा ख्याल गर्नुपर्ने हुन्छ’ आजमात्र आइपुगेकी श्रीमतीलाई संम्झाउन सुरु गर्यो श्रीमानले ।

‘अब यही मेहनत गर्ने हो,जति खट्यो त्यति आम्दानी, हाम्रो जीवन यही सुखमय हुन्छ’ बाथरुमबाट निस्केकी श्रीमतीलाई भन्दै थियो श्रीमान ।

“यहाँको नियम कानुन साह्रै कडा पो छ त ! केही समय त हामीलाई दिक्क लाग्छ भन्या पछि बिस्तारै ठिक हुदै जान्छ” सबै कुरा आजै सकुला झैं गरि फतफताइरह्यो श्रीमान ।

डि.भी.परेर दुईवर्ष अगाडि आएको सुरजले कागतपत्र मिलाएर आफ्नी प्राण प्यारीलाई बोलाउन पाउदा हर्षको सिमै थिएन । आफुले फुर्सत पाउनासाथ श्रीमतीलाई घुमाउने उसको आदत बन्दै थियो । उसले श्रीमतीलाई नयाँ नयाँ ठाँउमा लग्यो । श्रीमतीले गगनचुम्बी महलदेखि, चिल्ला सडकदेखि,ठुला ठुला सपिङ्ग कम्प्लेक्स हेरी । समुन्द्रको तटमा आनन्द लिन पनि सिकी । नेपालमा रहदा सुनेका र साथी भाइले हेर्न सुझाएका सबै कुराहरु उसले हेर्न भ्याई ।

आज पनि घुम्न निस्कने र ? श्रीमानको आग्रहमा प्रश्न गरी श्रीमतीले ।

श्रीमतीको गाला चिमोट्दै श्रीमानले भन्यो – यी सहरहरु जति घुमियो त्यति परिचित हुन्छन नि काली ।

“हजुर बिदाको दिन आराम गर्नु न ! अरु दिन सधैं काम काम मात्र भन्नु हुन्छ” श्रीमतीको मनमा माया पालायो ।

पहिला छुटेका स्थानहरुको आज अवलोकन भयो । श्रीमानले कुनै कुरा छुटाएन । न चर्को बोल्न पाइने, न जहाँ मन लाग्यो त्यहा हिँडडुल गर्न पाइने,न शरीरले आराम पाएको छ ,छरछिमेकको हो अत्तोपत्तो छैन । यस्तो पनि जिन्दगी हैट ! श्रीमतीले मनमनै धेरै प्रश्न उब्जाइन् ।

“अब घर खोज्नु पर्छ बुडी । लोनमा गाडी पनि चढौँ न , अर्को महिनाबाट त तिमी पनि काममा जान्छौ” कोठामा आइपुगेपछि सुरजले श्रीमतीलाई योजना सुनाए ।

“हामी कति भाग्यमानी है काली , भोलि हाम्रा सन्तान यहाँका बासिन्दा बन्छन् । भगवानले हामीलाई हेरेकै हुन्’ दैनिक जसो श्रीमानले दाहार्याउने कुरा आज नि भन्न भ्याए ।

श्रीमतीले आज अनायसै आफ्नो फुस्रो घर सम्झिइन् । गाँउको ग्राविल गरेको बाटो सम्झिइन् । खेतीबारी सईसाथी,उकाली आराली, बस्तुभाउ,सासु ससुरा,आमाबाबु, छरछिमेक एकै पटक सम्झिइन् ।

“किन घोरिएको कोपिला ? फ्रयाङ्कली कुरा गर्ने बानी बसाल है ।” अलि अप्ठ्यारो मान्दै सुरजले कोपिलासँग बुझ्न खोजे ।

श्रीमानलाई गम्ल्याङ्ग अंगालोमा कस्दै श्रीमतीको वाक्य निस्कियो “हामी नेपाल कहिले फर्कने बुडा ?”

सशस्त्र प्रहरी निरिक्षक, जनकपुर