बालकृष्ण गजुरेल

 

“जित्नेको नाम सिकन्दर ।” नेपाली राजनीतिमा उपयोग हुने एउटा स्ट्राटेजी । यही अनुरुप सबै चल्थे । जसरी पनि जित्नु पर्ने । चुनावी तालमेल देखि गठबन्धन गर्नेहरु समेत देखियो । यही बिचमा युक्रेन तथा रसिया युध्द विकसित हुँद‌ै थियो । विश्वमा रस्साकस्सी र नयाँ समीकरण बन्दै थियो ।

बिमल राज शर्मा नेपाली भाषी भारतीय कुटनीतिज्ञ थिए । उनलाई रसियामा खटाइयो । भारतको सम्पुर्ण हात हतियार रसियन प्रविधिबाट बनाइएको हुनाले कम्युनिष्ट प्रणाली मान्न इन्दिरा गान्धी तयार रहेको ब्यहोरा उनी बेला-बेला उप्काउँथे । यसले स्पष्ट के संकेत गर्दथ्यो भने राष्ट्रहितको लागि जुन सुकै प्रणाली पद्धति मान्नु पर्छ । गोर्खाली भनेर चिनीने उनी कुटनीतिमा माहिर थिए ।

यूरोपको ब्रोसेल्समा विश्वका कुटनैतिक सभा हुँदै थियो । बिमल राजलाई भारतले खटायो । नेपाली भाषीको नाताको हैसियतले मस्कोबाट नेपाली कुटनीति पनि घुम्नको लागि ब्रसेल्स पुगेका थिए । नेपाली कुटनीतिज्ञ त हो । के थाहा कुटनीति ? आठ पढे नेता । मान्छे मारे राजनीतिज्ञ । जेल बसे मन्त्री तथा प्रधानमन्त्री । मन्त्री तथा नेताका आफ्नै भाइ भारदार राजदुत । घुम्नु तथा रमाउनु उनीहरुका दिनचर्या थियो ।

पश्चिमा देशका कुटनीति प्रतिनिधीहरुले रसिया बिरुद्ध गठबन्धन गरेर जाने निर्णय गरे । आर्थिकदेखि रणनैतिक रुपमा नाकाबन्दी गर्ने निर्णय सुनाए । कार्यक्रम सकियो । खाजा खाने क्रममा नेपाली कुटनीतिज्ञले प्रश्न गरे, “रसिया विश्वमा एक्लो हुँदैछ । आर्थिक मन्दी र नाकाबन्दीको सामना गर्नु पर्ने छ । गठबन्धनको जीत सुनिश्चित देखियो ।”

नेपाली कुटनीतिज्ञको बिचार सुनेर बिमल राज हाँसे । एउटै भाषी हुनाले सम्झाउँदै भने, “यो नेपालको गठबन्धन सरकारजस्तै हो । रणनीतिक रुपमा चुनावमा जीते पनि मानसिक रुपमा हारेको छ ।”