सामाजिक पढाउने गुरुले आज पढाउने शीर्षक कालोपाटीमा लेख्नुअघि विद्यार्थीहरूलाई सोध्नु भयो, ‘हामी कुन देशका नागरिक हौँ ?
‘नेपाल’ सबैले एक स्वरमा जवाफ दिए ।
‘हामी नेपालका नागरिक हौँ भने हाम्रो राष्ट्रियता के हो ?’ गुरुले दोश्रो प्रश्न सोध्नु भयो ।
‘हाम्रो राष्ट्रियता नेपाली हो।’ सबैले एकै स्वरमा उत्तर दिए।
गुरुले कालोपाटीमा आज पढाउने शीर्षकको नाम लेख्नु भयो ‘राष्ट्रियता’। लेखिसकेर विद्यार्थीतिर फर्कनुभयो । यसो हेर्दा पीटर गोर्खाली कुनै उत्तर नदिएर चुपचाप बसेको देख्नुभयो । गुरुले पीटरलाई सोध्नुभयो, ‘तिमी किन चुपचाप छौ पीटर ?’
‘मेरो बुबा चाइनिज हुन् र मेरी आमा मलयाली हुन् । बुबाले पच्चीस वर्षदेखि नेपालमा जलविद्युत उत्पादनको कम्पनीमा काम गर्नुहुन्छ । मेरी आमा त्यही जलविद्युत कम्पनीको एकाउन्टेन्ट भएर पन्ध्र वर्षदेखि नेपालमा काम गर्दै हुनुहुन्छ । दश वर्षअघि उहाँहरूले विवाह गर्नुभयो । म जन्मनुअघि मात्र उहाँहरूले नेपालको नागरिकता पाउनु भयो । त्यसैले म जन्मदै नेपालको नागरिक हूँ । नेपालमा जन्मिएकोले मेरो थर गोर्खाली राखे ।’ एकै सासमा पिटरले आफ्नो कथा बतायो।
‘तिम्रो नागरिकता नेपाली भएपछि त तिम्रो राष्ट्रियता पनि नेपाली नै भयो नि । हैन र ?’, गुरुले फेरि सोध्नु भयो।
पीटरले अनुहारमा मुस्कान ल्याउँदै भन्यो, ‘म चाइनिज हजुरआमालाई धेरै माया गर्छु । उहाँ बुद्धको पूजा गर्नुहुन्छ । अनि प्रत्येक गर्मीको छुट्टीमा उहाँलाई भेट्न चीन जान्छु । हजुरआमाको हातको खाना यति मीठो हुन्छ कि, सम्झँदै मुख रसाउँछ । भारतको केरलाका बाजे बज्यै मलाई असाध्यै माया गर्नुहुन्छ । उहाँहरू क्रिश्चियन हुनुहुन्छ । मलाई केरलको समुद्री किनार, त्यहाँको नाचगान र संस्कृति मनपर्छ । त्यसैले प्रत्येक जाडोयाममा म केरला जान्छु । म चाइनिज बोल्छु, मलायली पनि मज्जासँग बोल्छु । म नेपालमा जन्मिएको हुनाले यहीँ नेपालीमा शिक्षादीक्षा लिँदै छु । मेरो तन नेपालमा छ तर मन तीनतिर बाँडिएको छ।’
आफ्नो टाउको उठाएर गुरुका आँखामा हेर्दै प्रश्न गर्यो, ‘अब तपाईँ भन्नुहोस् गुरु मेरो राष्ट्रियता के हो?’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।