धमलाको हमलामा परेको मन्त्री ठूलो स्वरमा भन्दै थियो टेलिभिजनमा– “भ्रष्टाचार ! कसले गर्‍यो ? कसले देख्यो ? मात्ने ? पत्रकार हुँ भन्दैमा जे नि बोल्ने ? जस्लाई नि पेल्ने पाइन्छ ? के छ प्रमाण ?”

उनी हेर्दै थिए राष्ट्रिय नामको टेलिभिजन र नेता नामको मान्छे । छोरो टिभी रुममा पस्यो । बा नजिकै बस्यो । बाको मसिन्याइएको कपालमा हात धस्यो, र व्यङ्ग्य कस्यो – “तक्लु !”

“सलहले खायो कपाल । तेरो नि खान्छ बुढो हुँदै गएपछि ।” – बाबुले भने ।

“बूढो, सलहले त बाली पो खान्छ नि, कहाँ खान्छ कपाल ?” – समाचारको रैखिक जानकारी बोल्यो छोराले ।

बाबुले भने – “यो दुनियाँमा धेरैथरि सलह छन् छोरो । बाली खाने सलहले कपाल खाँदैन, कपाल खाने सलहले घुस खाँदैन ….. ।”

समाचारको तमसुक पढिरहेथ्यो टेलिभिजन– “चार-पाँच करोडको एक झुन्ड सलह देश पस्दै छ । एकातिर कोरोनाको महामारी अर्कोतिर सलहको दुश्चक्र ! यो देशको थाप्लोले कसरी धान्न सक्ला दोहोरो महामारीको नाम्लो ?”

“बाली खाने सलहले घुस खाने सलह खान्छ कि खान्न बा ?”– छोराको बालप्रश्नले अन्जानमै तेस्रो महामारी ताकिसकेको थियो ।