साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साताका छानिएका चर्चित पाँच लघुकथा

Chovar Blues Mobile Size

१. काल विभाजनको लघुकथा – कथा बाँकी छ

कणाद महर्षि

कणाद महर्षि

कुनै समय …

भन्दै थिएँ …

… ऊ आउँदै छ।

उसले भन्यो …

… ऊ आउँदैन ।

सोधेँ …

… किन र ?

भन्यो …

… कारण छैन।

मैले जोड दिएर भनेँ …

… ऊ आउँछ अवश्य !

उसले सोध्यो …

… कसरी ?

भनेँ …

… कारण छैन

तर

… समय !

###

नेपाली लघुकथामा तीसको दशकलाई स्वर्णकाल मानिनु पर्छ । यसै समयमा देखिएका लघुकथाकार हुन्  कणाद महर्षि । कणाद महर्षि आख्यान र  काव्यलाई संगै डोर्याएर हिडिरहेका बौद्धिक स्रष्टा हुन् । उनी आफ्ना सृजनाहरूलाई सुत्रात्मक बनाउन खप्पिस छन् । प्रस्तुत लघुकथा “कथा बाँकी छ” समयको कथा हो । कथा पढ्दा कवि गोपाल रिमालको “आमाको सपना”को झझल्को पनि कहिं कतै आउन सक्छ ।

===========

२. सङ्ग्रहभित्रको लघुकथा – पुस्तान्तरण

कात्यायन

कात्यायन

– खै, उसको हजुरबाले नौ-सिन्देमा जागिर खाँदा के कति घर-जाम जोडे थाहा थिएन उसलाई ।

– नब्बे रूपैयाँ हात पर्दा यी सबै घडेरी जोडेको हो भनेर सुनाउँथे उसको बा ।

– नौ सयको जागिरको पहिलो तलब पाउँदा आधा तोलाको सुनको सिक्री हालेको भने पक्कै सम्झना थियो उसलाई ।

– आज उसको छोराले पहिलो तलब पाउँदा नौ हजारको जुत्ता किनेर ल्याएको छ ।

– भर्खरै जन्मिएको नातिलाई पुलुक्क हेर्छ र बडबडाउँदै कसम  खान्छ – यसलाई पनि नब्बे हजारको कुसुमे रूमाल किन्न सक्नेसम्म त पक्कै बनाउनु नै पर्छ ।

###

सुत्र-उपन्यास “कोमामा आमा”  कात्यायनको हालै प्रकाशित लघुकथाहरूको क्रमवध्द सिलसिला हो । कात्यायन शान्त र सौम्य व्यक्ति हुन् । उनी थोरै शब्दहरूको सहारामा बोल्ने र लेख्ने गर्छन् । उनका प्राय: बोली र लेखाइ बुद्धवाक्य बनेका छन् । प्रस्तुत लघुकथा “पुस्ता:न्तरण” सुत्रात्मक लघुकथा हो । कथाले चार पुस्ताको आर्थिक पक्षबाट समयबोध गराएको छ ।

===========

३. समूहभित्रको लघुकथा : मनोरञ्जन

प्रेम पुन मगर

रात्रिबसमा बुर्तिबाङ घर गइरहेको थिएँ । राति बस खराब भयो । बिहान छ सात बजे गन्तव्यमा पुग्नुपर्ने बसलाई दिनको दुई बजे पुग्नुपर्ने भयो ।

हाँडीखोलासम्म भन्दै गलकोटबाट तीन जना सुन्दरी महिलाहरू चढिन् । बस स्टाफ र ड्राइभरले क्याबिनतिर बसाले ।

केहीबेरपछि हाँसोमजाक सुरुवात भयो । स्टाफ र ड्राइभरले गलल.. हाँस्दै बोल्न हुने नहुने शब्दहरू प्रयोग गरे । महिलाहरू पनि उत्तेजित हुँदै उनीहरूलाई साथ दिए । धेरैले निकै मजा लिए । मलाई भने कस्तो सङ्कोच लागिरह्यो ।

हाँडीखोला बजारनेर ती महिलाहरूको झर्ने गन्तव्य आइपुग्यो ।

स्टाफले दुई दुई सयको दरले छ सय रुपैयाँ भाडा माग्यो ।

महिलाहरू एकैस्वरमा कड्किदै प्रश्नको ओहिरोसहित झरे, “केको पैसा ? यतिञ्जेल हामीबाट मनोरञ्जन लिएका होइनौ ? कि हामी महिलाहरूलाई तिमीहरूका मनोरञ्जन गर्ने भाँडो सम्झेका छौ र ?”

###

नेपाली लघुकथाको विकासमा “आधुनिक नेपाली लघुकथा” फेसबुक ग्रुप पेजको योगदान पनि अतुलनीय छ । यो पेज शान्त तर निरन्तर तरिकाले चलिरहने पेज हो । प्रस्तुत लघुकथालाई यसै पेजबाट लिइएको छ । प्रेम पुन मगर सरल स्वभावको लघुकथाकार हुन् । उनी समसामयीक बिषयमा लघुकथा लेख्छन् । पछिल्लो केही समययतादेखि   उनको लेखनले सुमधूर गति र प्रगति गरेको भान हुन्छ । प्रस्तुत लघुकथा “मनोरञ्जन” नारीलाई मनोरञ्जनको साधन बनाउन खोज्नेहरूको लागि लेखिएको कथा हो । तर कथा पुरै कौतुहलमय छ ।

==========

४. समसामयिक लघुकथा : ऐनलाई गन-तन्त्र

वसन्त अनुभव

वसन्त अनुभव

“ए पख् पख् ! तँ, यो थोत्रो साइकल डोर्याएर कहाँ जाँदैछस् ? महामहिम राष्ट्रपतिज्यूको सवारी हुँदैछ भन्ने तँलाई थाहा छैन !”, बाटोमा तैनाथ सुरक्षाकर्मीले ऊमाथि आदरभाव देखायो ।

“किन ? के भयो र हजुर ?”, उसले आश्चर्यता प्रकट गर्यो।

“कुरो बुझेर पनि बुझ पचाएको हेर न ? आज गणतन्त्र दिवस, यहीँ बाटो भएर महामहिम राष्ट्रपतिज्यूको कार्यक्रममा सवारी हुँदैछ । तँ छिटो यहाँबाट गइहाल् भनेको सुनेनस् ?”, सुरक्षाकर्मीले ऊतर्फ बन्दुक तेर्सायो । अनि मधुर वचनका साथ हल्का शक्ति प्रदर्शन गर्यो ।

परिणामस्वरूप साइकल नालीको पल्लोछेउ पुगेर दुई टुक्रा भयो । चटपटे सामग्री नालीमा पौडी खेल्न थाले । सुरक्षाकर्मीको उक्त शालीन व्यवहार देखेर उसको आठ वर्षे बालक पर डरले काँंपिरहेको थियो।

त्यसको लगत्तै हातहतियारले सुसज्जित सुरक्षाकर्मीहरूको गाडी अगाडि-पछाडि लावालस्कर लगाएर राष्ट्रपतिज्यूको गाडीमा सवारी भो । रुखको आडमा दप्किएर उसले उक्त गाडी, आफ्नो भाँचिएको साइकल र नालीभरि छितरिएको सामग्री अश्रुसिक्त आँखाले पालैपालो हेरिरह्यो।

“बाबा ! त्यो कालो गाडीमा चढेको को हो ? अनि गणतन्त्र भनेको के हो ?”, एकाएक छोराको जिज्ञासाले ऊ झस्कियो।

“बेटु ! उहाँ त ठुलो मान्छे, यो देशको नवमहाराज हुनुहुन्छ। अनि तिमीले देखिहाल्यौ नि, गन भनेको बन्दुक र तन्त्र भनेको शासन ।”, छोरालाई सुम्सुम्याउँदै उसले भन्यो।

###

गणतन्त्र एकदिन वा एकहप्ताको चर्चामा रहनु हुन्न । तर पछिल्लो समय जो आफू वा आफ्नो पार्टीलाई गणतन्त्रको महिशा सम्झन्छ उही नै गणतन्त्रलाई एकदिने सम्झनामा राख्न खोजिरहेछ । यही कारण गणतन्त्र गनतन्त्रमा रुपान्तरण भइरहेको भान हुन्छ । वसन्त अनुभव समसामयीक लघुकथा लेखनमा पोख्त हस्ताक्षर हुन् । कल्पना उनको लघुकथाको जलप हो । नेपाली लघुकथामा वसन्त अनुभव दाङबाट चम्किएको एक झिल्को हुन् । उनले लघुकथामा कुनै दिन आगो लगाउन सक्छन् । प्रस्तुत लघुकथा “गनतन्त्र” बालखको जिज्ञासाको लघुकथा हो । कथामा विविध परिवेष र परिस्थितिले चर्चा गर्दै गणतन्त्रलाई  गन र तन्त्रमा टुक्राइदिएको छ ।

============

५. मलाई मन परेको लघुकथा – नाच

लक्ष्मीप्रसाद पौडेल

लक्ष्मीप्रसाद पौडेल

विनय र भावना, उनीहरूको भेट भएको एक महिनाजति भएको थियो । चिया-चमेना, पार्क-बगैंचा , सिनेमाघरमा राम्रै भेट्घाट हुन्थ्यो । तर हिजो विनय एक्लै थियो रोधीघरमा । अचानक भावना देखापरी त्यहाँ । नर्तकीको भूमिकामा । विनय हेरेको हेर्यै भयो । केही समय बिताएर बाहिर निस्कियो ।

आज उनीहरू एउटा खुल्ला चउरमा छन् ।  विनयले कुराकानी सुरु गर्यो । उसलाई हिजोको दृश्यले सताइरहेको थियो ।

“हाम्रो भेट भएको पनि निकै भयो । तिमी के गर्छौ, कहाँ बस्छौ ? मैले केही सोधखोज गरिनँ । हिजो तिमीलाई अचानक त्यहाँ देख्नुपर्दा असहज महसुस भयो । तिमी यो नाचगान छोड्न सक्दिनौ ? के तिमी सन्तुष्ट छ्यौ त्यहाँ ?”, विनयले विनम्र भावमा आफ्ना कुरा राख्यो ।

“तिमीले पनि त भनेका छैनौ,  तिमी के गर्छौ ? कहाँ बस्छौ ?”, भावनाले प्रतिप्रश्न गरी ।

“म एउटा निजी कम्पनीमा काम गर्छु । एमबिए गर्दै लोकसेवाको तयारी पनि गर्दैछु,” विनयले आफ्नो बारेमा सबै बतायो ।

“ए, त्यसोभए तिमी पनि नाच्दैछौ ?”, भावनाले कुरो टुङ्ग्याउन चाही ।

###

धनगडीको थाकथलोमा नै रहेर स्रष्टा लक्ष्मीप्रसाद पौडेलले नेपाली लघुकथाको केन्द्रमा स्थान जमाएका छन् । उनी कोमल हृदयबाट समाजको विसङ्गतिका कथाहरू लेख्छन् । गरिवी र भोक उनको लघुकथाको प्रमुख बिषयहरू हुन् । प्रस्तुत लघुकथा “नाच”ले प्रेमको घुम्टी उघारेर गरिवी र भोकको कथा नै बोलेको छ । कथा चट्ट र चिटिक्क बनेको छ ।

लेखक परिचय
प्रतिक्रिया
Loading...