म एक दिन गिजुभाइको पात्र रिन्छेनको घर पुगेपछि:

उसले फूलको बिरुवालाई पानी दियो । पातहरू पुछ्तै हेर्यो । हरिया चिल्ला देखेर खुसी फुरायो । ढोकानेर पुगेर फेरि फर्क्यो । मिसले स्कुलमा ‘फूल सार्नु’पर्छ भनेको सम्झिरह्यो ।

फेरि घरभित्र छिर्यो । झ्यालबाट फेरि फूललाई हेर्यो ।

‘मैले हालिदिएको पानी कति छिटो खाइसकेछ फूलले’, भनेर सोच्यो । उसले खोजेको पात्र ढोकामा अझै आएन, जसलाई उसले देखाउनु थियो आफूले सारेको फूल ।

फेरि फूलसामु गयो । फूल निकै खुसी भएको महसुस गर्यो । मुसार्यो । हाँस्यो । गमलानेर पोखिएको थोरै मल गमलामै राख्यो । उसलाई लाग्यो, अब फूल हाँस्यो । साँझपरिसक्यो, तर ढोकाले उसको मान्छेभित्र छिराएन । ऊ कुर्दाकुर्दै रात परेपछि यसै निदायो ।

भोलिपल्ट बिहानै उठ्यो । उसले फूल देखाउन भनेर उनलाई बोलाउन गयो । उनी जग्गाको बैठक भनेर बिहानै उठेका रहेछन् । उसले बलजफ्ती गरेर उनलाई फूल सारेको ठाउँनेर पुर्यायो । उसलाई अचानक रिंगटा लागेजस्तो भयो ।

आफूले सारेको फूल देखाउन चारै बजे बिहान ब्युँझिएको रिन्छेनले बिहानिबहानै सुनेको भ्रमजस्तो आवाज सम्झ्यो, ‘यस्तो झारपात कसले सारेको, लगेर फालिहाल ।’

‘होइन, होइन ! बाबुले सारेको, नफाल्नूस् ।’, फूलको गमला फुटाउने उसकै बुवा रहेछन् । उनले त्यही रात जग्गाको ठगीधन्दामा पुलिसले पक्राउ गरेको सपना देखेका रहेछन् । रिन्छेन फुटेको गमलानेर बसेर ‘सरी बाबा अब फूल सार्दिनँ’ भन्दै बरबराइरहेको थियो ।

म सोच मग्न हुँदै घर फर्कें, र गमलामा फूल सार्नथालें ।

(मैले फूल सार्न लागेको ठाउँमा एक पाठक आएर सुझाउँदै थिए, ‘म भएको भए सानासाना नानीबाबुहरूलाई उत्साहित गर्न पक्का पनि ‘कति राम्रो फूल, कति राम्रो काम’ भन्थें, अनि आफ्नो तनाव बच्चामा खन्याउँदिनथें’।)

जगन्नाथ पौडेलभर्जिनिया