१. काल विभाजनको लघुकथा – क्रान्तिकारी बाहुनहरू
राजव
ऊ एक्लै पहाडी बाटो हिँडिरहेको थियो। एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरूको भेट भयो। तिनले उसलाई हल्ट गरे । बन्दुक तेर्स्याउँदै घेरे । उसको कट्टु भिज्न थाल्यो । उसको मुखको पानी हरायो । एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो, ‘किन डराएको ? ‘
ऊ झन् डरायो । उसका खुट्टा काम्न थाले । ऊ बोल्न नसक्ने भयो ।
कमान्डरले फेरि सोध्यो, ‘किन डराएको दाइ ? ‘
अहिले पनि ऊ बोलेन । अघिनभन्दा दोब्बरसँग उसका खुट्टा काम्न थाले । उसको कट्टु थप भिज्यो । कमान्डरलाई शङ्का लाग्यो । त्यसकारण कमान्डरले सोध्यो, ‘तपाईं पुलिस हो ?’
‘होइन ।’
‘अत्याचारी हो ?’
‘होइन ।’
‘छद्मभेषी हो ?’
‘होइन ।’
‘गुप्तचर हो ?’
‘होइन ।’
‘त्यसो भए डराएको किन त ?’
तर ऊ बोल्न सकेन । किनभने उसको मुखको रस सुकिसकेको थियो । कमाण्डरले झर्केर भन्यो, ‘त्यसो भए को तपाईं ?’
तर उसले म गाउँको गरिब दमाइँ हुँ भन्न सकेन । किनभने ती क्रान्तिकारी बाहुनहरूलाई छोइएला र तिनको हातको बन्दुक पड्केला भन्ने त्रासमा थियो ऊ ।
###
नेपाली साहित्यमा ३० को दशकलाई स्वर्णकाल मानिनु पर्छ । यसै समयका एक सफल स्रष्टा हुन् राजव । राजव मूलत: आख्यानकार हुन् । आख्यानमा नेपाली यथार्थ आकर्षक तरिकाबाट पस्कनु उनको विशेषता हो । उनी डास्पोरिक नेपाली भावहरू पनि आफ्नो लेखनमा सजाउन खप्पिस छन् । प्रस्तुत लघुकथा “क्रान्तिकारी बाहुनहरू” राजवले २०५७ सालताका लेखेका हुन् । माओवादी आन्दोलन चरमचुलीमा पुगेको थियो । निमुखाको नाममा गरिएको भनिएको क्रान्तिमा निमुखाहरुका नै ओठ तालु सुकेको विषय प्रस्तुत कथामा शान्त भावमा प्रस्तुत गरिएको छ ।
=============
२. सग्रहभित्रको लघुकथा – पैसा
दीप मङ्ग्रान्ती “निरीह”
मेरो घोत्लाएको थोपोडा देखेर सायद श्रीमतीजीले लख काटिसकेकी थिइन् कि आज पनि जागिर मिलेन । त्यही भएर उनी झन् ठ्वास्स परिन्, दिनभरि काठमाडौंका अफिसहरू चाहर्दा चाहर्दा लखतरान म, एक कप चियाको अभिलाषी थिएँ तर उनको हाउभाउ देखेर भन्ने हिम्मत भएन । दुई चारवटा वाणी सुन्नुभन्दा आफैं पसें किचनमा ।
“मम्मी, मम्मी, मेरो स्कुलको बिल आ”को छ ” भन्दै छोरीले बिल लेखाई ।
“तेरो बाउलाई नै दे, मैले तिर्ने हो र ? जन्माएपछि, पालनपोषण पनि त गर्न सक्नुपर्यो नि ।”
छोरी वाल्ल परिन् । अनिर्णयको अवस्थामा उनलाई थाहा छ, बाबासँग अहिले पैसा छैन भनेर ।
मैले केवल विवशता भरिएको नजर छरिदिएँ छोरीको अवाक् अनुहारमा अनि उनको हातमा बोकिएको स्कुलको बिलमा ।
“यो बीस हजार रुपियाँ भाइलाई आई.एम.ई.बाट पठाइदिनु त, अर्जेन्ट चाहिएको छ अरे” भन्ने आदेशात्मक स्वर ।
सानो, अहिले हामीलाई नै पैसाको अभाव छ । अहिले भाइलाई पैसा नपठाऊँ, हुन्छ ?”
“तपाईंको कमाइ पठाउन लागेको हो र ? मेरो आफ्नो कमाइ पो पठाउन लागेकी हो त ।”
###
“छोइछिटो” लघुकथासंग्रहलाई कथाकार दीप मङ्ग्राती “निरीह”ले २०७८ सालमा प्रकाशन गरेका हुन् । यहाँ स्तरीय लघुकथाहरूलाई स्तरीय तरिकाबाट प्रकाशन गरिएको छ । प्रस्तुत लघुकथा “पैसा” यसै संग्रहबाट लिइएको हो । दीप मङ्ग्राती “निरीह” उपनाममा निरीह भए पनि लेखन र प्रस्तुतिमा सक्षम छन् । मुक्तकसँग खेल्दै र सजाउँदै साहित्यमा प्रवेश गरेका दीप विसंगति र विकृतिको विरुद्ध चेतना जगाउने कथाहरू लेख्छन् । प्रस्तुत लघुकथा “पैसा” मा दीपले ठाउँ ठाउँमा संयुक्त वाक्यहरूको प्रयोग गरेका छन् । सिद्धान्तले यो गलत हो भन्छ तर कथा प्रष्ट छ भने गल्ती आफैं छोपिँदो रहेछ । कथाले अभाव र नारीहठलाई मज्जाले प्रस्तुत गरेको छ ।
==========
३. समूहभित्रको लघुकथा – छ्या !
दिनेश निरौला
दुःखलाई घृणा गर्थें म । यसो त्यसो दुःखकै सेरोफेरोमा पुगिहाल्थेँ । फेरि हिजो पनि पेटको लागि त्यहीँ पुगेछु । मेरो एक्लै पेट हो । मसँग आश्रित पेट छैन । एक्लो पेटको पनि कथा छ, व्यथा छ ।
बुबाले दोस्रो बिहे गरेपछि आमा पनि सँगै बसिनन् । खुलस्त भनौ आमाले पनि दोस्रो बिहे गरिन् । मेरी आमा पोइला हिँडिन् । बाल्यकालमा के- के दुःख भोगियो सम्झन चाहन्नँ । समयले मलाई जिउँदो टुहुरी बनाएको थाहा पाउँदा म अठारको मस्त जवानीमा थिएँ । आफ्नै खुट्टामा उभिने चाहना मनभरि थियो । मध्यम खालको पढाइ अधुरो छोडेर रोजगारीको लागि भौतारिन थालेँ । सिफारीस गरिदिने नहुँदा सबैतिर असफल मात्र भएँ।
“सावित्री यौटा कथा सुन्छ्यौ” उसले जबरजस्त कथा सुनायो । सुनिदिन बाध्य मैले सुनिदिएँ । नियत जे सुकै होस् कथाको सार थियो ‘साबित्री पात्र कथा वाचकको पृय पात्र हो ।’ ऊ आफूलाई ४२ को भन्दथ्यो । म २२ की थिएँ । दैनिक कुराले कुतकुती लगाउँदथ्यो ।
“लभ यू सावित्री”, ऊ रोमान्चित थियो । न समर्थन न विरोध गर्न सकें । म आफैंमा हराएँ ।
अन्तर्मनले भन्यो । छ्या दुःखको पहाड ।
###
नेपाल र भारतकाका नेपालीभाषी लघुकथाकारहरूको एक सेतु बन्ने अभिप्रायले खोलिएको एक सभ्य समूह हो “सिक्किमेली लघुकथा समाज” । यस समूहमा अर्गानिक सदश्यहरू जोडिने क्रम निरन्तर जारी छ । यसै समूहबाट दिनेश निरौलाको “छ्या” लघुकथा लिइएको हो । दिनेश निरौला पछिल्ला समयमा लघुकथामा देखिएको आश लाग्दो नाम हो । उनी बिषयलाई चट्ट समातेर बिषय संगसंगै कुद्छन् । अनि त्यही बिषयलाई पाठकको दिमागमा विपरीत भावका साथ पछार्छन् । प्रस्तुत लघुकथा “छ्या !” मा दिनेश निरौलाले दु:खको धुलो बटुलेर दु:खको पहाड नै निर्माण गरेका छन् ।
=============
४. समसामयिक लघुकथा – अवसर
जीवन दाहाल
“भाइ यसपालिदेखि त घर भाडासँगै बिजुली पनि प्रति युनिट २० रुपियाँ भयो है”, घरबेटीले उर्दी लगाइन् बिहानै ढोकामा आएर ।
“सरकारले १२ रुपैयाँ प्रति युनिटमा दिएको बिजुलीमा तपाईंले किन बढाउनु पर्यो नि आठ-आठ रुपियाँ ? त्यही पनि तपाईंले बढाउन पाउने हो र ?”, भाडावालले प्रतिवाद गर्न खोज्यो घरबेटीको ।
“खर्च धान्न । पेट्रोलमा ७० रुपियाँ, ग्यासमा ३५० रुपियाँ, खाने तेलमा ५०० रुपियाँ र अरु सामानको भाउ पनि किन्नै नसक्ने गरी बढेको तपाईंलाई थाहा छैन र ?”, घरबेटीको उत्तर थियो ।
###
नयाँ सरकार आएपछि नयाँ चुनाव पनि आयो । चुनाव सँगसँगै प्रत्येक हप्ता मूल्यवृद्धि पनि आइ नै रह्यो । त्यही मूल्यवृद्धिलाई चोटिलो पारामा लघुकथाकार जीवन दाहालले लघुकथा “अवसर”मा प्रस्तुत गरेका छन् । जीवन दाहाल थोरै शब्दमा कुशल लघुकथा लेख्ने शिल्पी हुन् । उनी थोरै लघुकथा लेख्छन् तर प्रत्येक लघुकथा चोटिलो बनाएरै छोड्छन् । उनी भारतीय लघुकथाबाट प्रभावित पनि छन् । प्रस्तुत लघुकथा “अवसर” घरभेटी र भाडावालको कथा हो । तर यही पात्रहरूले मूल्यवृद्धिको बारेमा रोचक वर्णन गरेका छन् ।
===========
५. मलाई मन परेको लघुकथा – भिखारी
दीपक खनाल ‘अगम’
आफ्नो व्यवसाय गर्दै हिडिरहेको भिखारीको भेट मन्दिरदेखि केही पर पुजारीसँग भयो । पुजारीको दयालु मुहार देखेर भिखारीले विनम्र हुँदै भन्यो, “भगवान्को नाममा केही दिनोस् हजुर ! दुई दिनदेखि भोकै छु ।”
पुजारी, “ल, हिँड्… मन्दिरसम्म म खुवाउँछु !”
भिखारी खुसी हुँदै पुजारीको पछि लाग्यो ।
पुजारीले बाटामा भिखारीलाई केही व्यक्तिगत प्रश्नहरु गरेर उसको अवस्था बुझ्यो ।
मन्दिरको प्राङ्गणमा पुग्नसाथ भिखारीलाई औजार देखाउदै आग्रह गर्यो, “तपाईं मन्दिरको वरपर सफासुग्घर गर्नुहोस् ! म खाना बनाउँछु ।” अनि दुबै मिलेर भोकको हत्या गरौँला । भिखारी एकछिन हच्कियो । तर, भोको पेटको लागि काम गर्न तयार भयो । खाना तयार भएपछि दुबैले मज्जाले खाए ।
केहीबेरमा भिखारी हिँड्न खोजेको देखेर पुजारीले भन्यो, “ल, तपाईं मन्दिरमा हुनुहुन्छ,अझ केही खानुपर्छ ।”
भिखारी उत्सुकताले, “के हजुर ?”
“हेर्नुस्, तपाईं भुसतिघ्रे हुनुहुन्छ । मागेर होइन काम गरेर मात्र खाने कसम !”
###
दीपक खनाल अगम युवा लघुकथाकार हुन् । अगम समसामयिक विषयलाई लघुकथामा भित्राउन खोज्छन् । आदर्श उनको लघुकथाको अत्यन्तै सुन्दर पक्ष हो । प्रस्तुत लघुकथा “भिखारी”मा लघुकथाकार दीपक खनाल अगमले कतै नसुनेको चोखो विषय उजागरण गरेका छन् । कथामा आदर्श त छँदै छ, कथामा सन्देश पनि छ । कथाको बीजवाक्यले कथालाई मात्र हैन, भुसतिघ्रे भिखारीलाई नै विपरित भावमा पुर्याइदिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।