रनवनमा एउटी माकुरी बस्थी । सृष्टिको नियम, उसले गर्भधारण गरी र फुल पारी । आफ्नो शरीरभन्दा चार गुना ठूलो त्यो फुललाई बढो सुरक्षित साथ छातीमा टाँसेर हिँडी । रोगव्याधी, घामपानी, हावाहुरी जस्ता प्राकृतिक प्रकोपबाट जोगाएर सय बढी छोराछोरीलाई एकसाथ जन्म दिई ।

परिवारका साथसाथै खाने पेट बढ्यो । सबैले आँ आँ गर्न थाले । तिनको पेट भर्न उसलाई निकै कठिन हुन थाल्यो । सुत्केरी ऊ आफैँलाई पौष्टिक आहाराको खाँचो थियो । तर उसलाई त्यो जोहो गरिदिने कोही थिएन । यद्यपि उसले सास अड्याएर तिनलाई जसोतसो हुर्काइ, बढाइ । हुर्केपछि आमाको सहारा बन्नु पर्ने छोराछोरी आहारा खोजेर खानुको साटो आआफैँ चुपी, भाला, खुँडा, खुकुरी लिएर एकापसमा लड्न र भिड्न थाले । सम्झाउँदा पनि कसैको केही लागेन । आखिर तिनले आफ्नो भोक मेटाउन आमालाई नि बाँकी राखेनन् । सबै धुर्रिए, चिथोरे, कोपरे, मारे, लुछालुछ पारे अनि चपाए । खाए ।

“तिमीहरूले कुनै पौरख गर्न पर्दैन ? आजसम्म त म थिएँ, लुछ्यौ र छाक टर्यौ । म नै नरहेपछि भोलिदेखि तिमीहरू के खाएर बाँच्छौ बा ?” आमाको हंसले चिन्ता प्रकट गरिरहँदा ती टोकाहा दुष्कर्मीहरूका कानमा बतास लागेन । उनीहरू केवल मांस लुछ्न र पेट भर्न मात्र तल्लीन रहे ।