गौरीघाट हुँदै बागमतिको तीर नै तीर भएर नारायणटार पुग्ने बाटोमा हरियो माइक्रोबाहेक अरु सवारी साधान नचल्ने हुनाले सधैँ भरिभराउ हुन्थ्यो । आज पनि मित्रपार्कबाट ओरालो झर्दै गर्दा एकजना बुढोमान्छेले माइक्रो रोक्यो । हातमा बोरा र नाम्लो बोकेको त्यो बुढोमान्छे चढ्ने बित्तिकै माइक्रो भरियो ।

गाडीमा अधबैँसे महिला पुरुष, तरुण तन्नेरीहरु थिए । सबैले आ–आफ्नो हैसियतअनुसार राम्रै पहिरनहरु पहिरिएका थिए । कोही कोहीले चाहिँ परफिन लाएर आफूलाई बास्नदार पनि बनाएका थिए । त्यहाँका मध्ये केहीले घाँटी, नाक र कान मात्र होइन कि हातको औंलासमेत बाँकी नराखी सुनका गरगहना पहिरिएका थिए । कोहीको जिउमा हिरा र मोतीजस्ता बहुमूल्य धातुहरु पनि देखिन्थे । एकप्रकारले भन्ने हो भने त्यस माइक्रोभित्र एकभन्दा अर्को धनी, खान्दानी, बुज्झकी, पढेलेखेका शिक्षित, विद्धान्, भद्रभलाद्मी मानिसहरु थिए ।

यकिना अगाध

‘छि: छि: छि: के हो यस्तो कुहिएको गनाउँने ’ त्यो बुढोमान्छे माइक्रोमा चढ्ने बित्तिकै सबैले नाक थुनेँ ।

‘ह्वास ह्वास्ती पसिना गन्हाउँदा पनि कस्तो ननुहाई हिंड्न सक्ने मान्छे रहेछ यो त ।’

‘सार्वजनिक गाडीमा चढ्दा अरुलाई पनि असर हुन्छ भन्ने त बुझ्नु पर्छ नि ।’

‘मान्छे भए पो । कुकुर हो के कुकुर ।’

सबैले त्यस बुढोप्रति घृणा ओकले । गाडीको पछाडि कुनाको सिटमा रहेको मलाई पनि त्यस्तै लाग्यो ।

त्यो बुढोमान्छे एयरपोर्ट डाँडा पारी मुलपानीमा पुग्नु पर्ने रहेछ । गाडी नचढी हिँडिँयो भने एकघन्टा भन्दा बढी समय लाग्ने हुनाले हिंडेर जाने कुरा भएन । कुनै उपाय नभएपछि मानिसहरूको घृणाको छि छि दूर दूर सुनेर पनि नसुनेझैं गरी चुपो लागेर बस्यो त्यो बुढोमान्छे ।

गुजेश्वरी मन्दिरअगाडि पुग्दा एक जना स्वास्नीमान्छे माइक्रोमा चढिन् । तिनको काखमा दुई महिना जतिको बच्चा थियो । माइक्रो सानो भएकोले जिउलाई सिधा पारेर बस्न सक्ने कुरा नै भएन । नानी काखमा चेपेर टुक्रुक्क बस्न पनि सकिनन् । साह्रै अप्ठेरो गरी नानीलाई काखमा एक हातले च्यापेर निहुरिएर उभिइन् । सिटमा रहेका धनी, खान्दानी, बुज्झकी, पढेलेखेका शिक्षित, विद्धान्, भद्रभलाद्मी मानिसहरु देखे तापनि नदेखेझैं गरी बस्न थाले । मैले पनि त्यसै गरें । त्यो बुढोमान्छेले ती स्वास्नीमान्छेको अप्ठेरो देखेर आफू बसेको सिट छाडिदिए ।

यो दृष्यले मेरो मस्तिष्क हल्लियो । यो माइक्रोमा रहेका परफिनको बास्नासहित नयाँ नयाँ लुगा, घाँटी, नाक, कान, औंला भरिभरि सुन, हिरा, मोती पहिरिएका धनी, खान्दानी, बुज्झकी, पढेलेखेका शिक्षित, विद्धान्, भद्रभलाद्मीको हुल र त्यो पसिना गन्हाउने थोत्रो लुगा, हातमा बोरा, नाम्लो, घाँटीमा मैलो जमेको बुढोमान्छेमा कुन चाहिँ गन्हाउँने र कुन चाहिँ बास्नादार मैले छुट्याउन सकिनँ ।