१. काल विभाजनको लघुकथा – प्रतिक्रिया
विष्णुविभु घिमिरे

फोनको घण्टी बज्यो ! कमलले फोन उठायो । पल्लोछेउबाट आवाज आयो– ‘हेलो !’

– ‘भन्नुहोस् म कमल बोल्दैछु ।’

– ‘ओहो कमल ! क्याम्पसमा रिजल्ट निस्केछ ।’

– ‘तिमी अहिले जान्छौ राजेश ?’

– ‘अँ म जाँदैछु, तिमी पनि आउन ।’

– ‘म यहाँ बेफुर्सदी छु, तिमी जाऊ मेरो पनि हेर्देउ, सकेसम्म चाँडो फोन गर । मेरो रोल नम्बर १४४३ ।’

– ‘ल त म गएँ ।’ राजेशले फोन राख्यो । आधा घण्टापछि फोनको घण्टी बज्यो । कमलको दाजुले फोन उठायो ।

– ‘हैलो ।’

– ‘हैलो, म मोहन बोल्दैछु । कमल त्यहाँ छैन ?’

– ‘अहिले बजार गयो ।’

– ‘कमललाई भन्दिनु, उसको संस्कृति ४१५ बिग्रिएछ ।’

मोहनले ड्याम्म फोन राख्यो । बाहिर निस्कनासाथ कमल देखापर्यो । मोहनले तुरून्त भन्यो– ‘एउटा विषय त बिग्रिएछ, राम्ररी पढ्नु छैन ।’

कमल टोलाइरह्यो ।

मोहनले नै फेरि भन्यो– ‘संस्कृति ४१५ ।’

कमलले विस्मय मानेन – मनमनै सम्झ्यो– शायद टिचरलाई अस्ति दिएको प्रत्युत्तरको फल हो ।

टिचरले भनेकै थियो – सेमेष्टर फाइनलको तालाचाबी त मेरै हातमा छ ।

###

नेपाली लघुकथाको क्षेत्रमा ३० को दशकलाई “स्वर्णकाल” मानिनु पर्छ । यो समयमा नेपाली लघुकथाको लेखन र प्रकाशनमा फरक फरक र स्तरीय दृष्यहरू देखिएका छन् । यसै कालका एक स्रष्टा हुन् विष्णुविभू घिमिरे । विष्णुविभू घिमिरे मूलत: कवि हुन् । तर उनीले आफ्नो उर्वर उमेरमा नाटकमा अभिनय, लघुकथा लघुकथा लेखन र साहित्य सम्पादन गरेका छन् । उनका हरेक कर्म र रुचीहरू नेपाली साहित्यमा सम्मानित र लोभ लाग्दो छन् । प्रस्तुत लघुकथा “प्रतिक्रिया” घिमिरेले २०३३ सालको आसपास लेखेका हुन् । संवादात्मक शैलीमा लेखिएको यस कथाले त्यतिवेलाको समाज र शिक्षाको दृष्य प्रस्तुत गरेको छ ।

==========

२. सङ्ग्रहभित्रको लघुकथा – विजयी-क्रम
कृष्ण शाह यात्री

पहिलोपटकको चुनावमा मैले जनताको घरदैलोमा गएर आफ्नो राजनीतिक व्यथाहरू सुनाएर, थुप्रै आश्वासन बाँडेर भोट मागेँ र विजयी पनि भएँ । सांसद् पश्चात मन्त्री बन्ने सौभाग्य पनि पाएँ । यो अवसरको सदुपयोग गर्दै राजधानीमा सानो चारतले घर र अलिकति जग्गा जमिन जोड्दा जोड्दै जनतालाई दिएको आश्वासन नै बिर्सिएँ ।

दोस्रोपटकको चुनावमा जनतालाई पैसा बाँडेर, भोज खुवाएर, रक्सीको खोलो बगाएर चुनाव जिते । पाँच वर्षको अवधिमा मैले दशथरी मन्त्री बन्ने सु–अवसर पाएँ । तर अति व्यस्तता, विदेश भ्रमण र सातपुस्ते सम्पति जोड्दा पदावधि सकिएको पत्तो नै भएन ।

तेस्रो पटकको चुनावमा मैले आफ्नो शक्ति प्रयोग गरेको छु । मसँग गुण्डागर्दी गर्ने कुख्यातहरू हजारौँको सङ्ख्यामा छन् । भित्री र बाहिरी बल प्रयोग गरेकै भरमा सजिलै चुनाव जित्ने कुरामा म विश्वस्त थिएँ तर पनि म निर्विरोध विजयी भएँ ।

###

कृष्ण शाह यात्री सम्मानित लघुकथाकार हुन् । उनीले नेपाली साहित्यलाई लघुकथाका केही महत्त्वपूर्ण कृतिहरू दिएका छन् । “सूक्ष्म शिखाहरू” लघुकथासङ्ग्रह शाहले २०५६ सालमा प्रकाशित गरेका थिए । प्रस्तुत लघुकथा “विजयी-क्रम” यसै सङ्ग्रहभित्र सङ्ग्रहित छ । यात्री विशेषत: देश र जनताको विषयमा लघुकथा लेख्छन् । पछिल्लो समय कृष्ण लघुकथामाभन्दा बढी अध्ययन, अनुसन्धान र नाटकमा केन्द्रित छन् । 

===========

३. समूहभित्रको लघुकथा – धर्म
इन्दिरा चापागाईं

अष्टकाजीले दूध र तरकारी बेचेर बल्लतल्ल जहानलाई एकसेट गहना बनाउने पैसा पार्यो । जोरजाम गरेको एकपोको पैसा खुसी हुँदै रूपमतीलाई थमाउँदै भन्यो, “ल मन पर्ने गहना किन ”।

“भोलि बाकँहा गएर किन्छु है !” उसले खुसी हुँदै भनी।

“हुन्छ । आफ्नो बाको सुनपसल छ, अन्त गहना किन्ने त कुरै आउँदैन नि ।’, अष्टकाजीले सहमति थप्यो।

भोलिपल्ट बाको पसलमा काे हुन्छ ? सोधखोज गरी । बालाई मन पर्ने खुवा पकाएर लगेकी थिई । अलिकति खुवाई । बासँगको भलाकुसारिपछि बाहिरी कोठामा, पसलमा आई ।

“नजिकै भएर के गर्नु ? तिहार नभै भेट हुँदैन । तिमी आउन पाउँदिनौ । म पनि पसल छोड्न पाउँदिनँ ।” भाइले दिदीसँग भेट भएकोमा खुसी हुँदै भन्यो।

भलाकुसारीपछि, “अहिले चलेको रानीहार सेटसहित हेर्दिनू त दाजु !” झोलाबाट पैसाको पोको झिक्दै भनी।

यो कुरा भित्र सुनिरहेका उसका बाले थोरै खुलेको ढोकाको चेपबाट देखे र हतारिँदै स्वाँस्वाँ गर्दै भने, “ए बाबु ! दिदी गहना किन्न आइछ । मिलाएर दे है छोरा, आफ्नो धर्म नछोड्नू ।”

“हुन्छ बा ! मिलाएर त दिन्छु नि आफ्नी दिदीलाई ।” छोराले भन्यो ।

छोरीले गहना हेरी, मन पराई।

**

ज्याला र जर्तिमा अरूलाई लिनेभन्दा केही प्रतिशत बढी जोडेको बिल दियो । रूपमतीले बाले भनेको र दाजुले मानेको “धर्म” बल्ल बुझी, र मन खिन्न पार्दै फर्की ।

###

“लघुकथा डबली” नेपाली लघुकथाको विकासको लागि स्थापना गरिएको फेसबुक समूह हो । यस समूहमा क्रियाशील लघुकथाहरूको राम्रो उपस्थिति छ । लघुकथाकार इन्दिरा चापागाईंले हालसालै यही समूहमा प्रस्तुत लघुकथा पोस्ट गरेकी थिइन् । चोटिला, समसामयिक र नारी अन्तर्मनका पीडा, रहर र अनुभूतिहरूलाई तथ्य र कथ्यमा उतार्न सिपालु इन्दिरा बौद्धिक र मिलनशार लघुकथाकार हुन् । प्रस्तुत लघुकथा “धर्म”ले व्यापारको धर्म मात्र नाफा हो भन्ने बताएको छ । कथा कौतूहलमय छ ।

============

४. समसामयिक लघुकथा – बालेनको लौरो
ऋषि तिवारी

‘सायद उनी हक्की स्वभावका हुन् ।’

म यस चुनावताका काठमाण्डौँमै थिएँ । को हुन बालेन ? म चिन्दिन थिएँ । उनी स्वतन्त्र उम्मेदवारबाट मेयरमा उठेका थिए । उनको चुनाव चिन्ह नै शानदार लाग्थ्यो मलाई । चुनाव चिन्ह लौरो । सायद म यस काठमाडौँको बासिन्दा हुन्थेँ भने म पनि लौरोमै मत दिन्थेँ ।

उनी भोट माग्न निस्किएको दृश्य फेसबुकको युट्युबहरूले निर्धकसाथ सम्प्रेषण गरिरहेको थिए । त्यो हेरेर म फिलिम नायक अनिल कपुरलाई बालेनको अनुहारसँग दाँज्न पुगेँ । अनिल कपुर हिरो । यो परिस्थितिमा युवा, बालेन हिरो ! मत परिणाम पनि बालेनको अग्रता देख्दा, भनेँ मैले, बालेनको लौरोले अब काठमाडौँबाट बिग्रिएको राजनीति ठिक गर्छ ।

फेसबुक युट्युबमै बालेनको अनुहार हेर्दैछु र, भन्दैछु, ‘वाह ! बालेन तिम्रो लौरो ! अग्रता कायम रहोस् शुभकामना ।’

###

काठमाडौँ महानगरपालिकाको मेयरको चुनावले नेपालमात्र हैन नेपालभाषी विश्वको हरेक भूभागलाई छोएको छ । बालेन साहको क्रेज हरेक घरघरमा देखिएको छ । यही विषयलाई लघुकथाकार ऋषि तिवारीले आफ्नो लघुकथा “बालेनको लौरो”मा उतारेका छन् । ऋषि तिवारी लघुकथाको क्रियाशील स्रष्टा हुन् । उनी समसामयिक विषयमा निरन्तर लघुकथा लेखिरहन्छन् । प्रस्तुत लघुकथा “बालेनको लौरो” ऋषि तिवारीको पछिल्लो लघुकथा हो । यस लघुकथाले युवा जोशको लौरोबाट नेपाली राजनितीलाई ठिक दिशामा हिँडाउनु पर्ने बताएको छ ।

=======

५. मलाई मन परेको लघुकथा – सच्चा कमाइ
तुलसी पण्डित

योगी लामो समयको तपस्यापछि सहर छिरे ।

लामो समयको तपस्याले गर्दा उनी अति भोकाएका थिए । उनले आफ्नो भोकको दर्द मेट्न तीन जना व्यक्तिको घर जाने योजना बनाए ।

उनको योजनाअनुसार सबैभन्दा पहिले उनी नेताको घर पुगे । नेताले उनको ठूलै आदर सम्मान गरे । सुनको आसनमा बसाए । कुशल मङ्गल सोधे ।

धेरै समयको बातचितपछि योगीका निमित्त खाना तयार भयो । उनी खाना खान गए । उनको लागि चौरासी ब्यञ्जन तयार थियो । सुन्दर परीहरू उनको खाना थपिदिने योजनाका साथ राखिएका थिए ।

योगीले खाना देखेर केही समय टोलाए । उनले खाना खान सकेनन् । केही समयपछि खाना न खाइकन उनी फरक्क फर्के । नेताले यसलाई अशुभ ठाने ।

भोको पेटमा बेगले छट्पटीदै हिँडेका योगी कर्मचारीको घर पुगे । त्यहाँ पनि सम्मानको कुनै कमी थिएन । खाना तयार भएपछि योगी खाना खान गए । त्यहाँ पनि चौरासी ब्यञ्जन तयार थियो । तर उनी हेरेर उभिरहे ।अँह, उनले त्यहाँ पनि खाना खान सकेनन् ।

उनी फरक्क फर्केर गरिबको घर पुगे । गरिब उनलाई देख्नेबित्तिकै लिन परसम्म पुग्यो । आदरसम्मानका साथ घर लग्यो । घर लगेपछि योगीलाई एक काठको पिर्कामा बसाल्यो । भित्र खाना तयार भएको थियो । एक सिलोटको अम्खोरामा हात धुन पानी आइपुग्यो । योगी हात धोएर खाना खान गए । केराको पातमा कोदाको ढिडो राखिएको थियो । सिस्नोको तरकारी पकाइएको थियो । त्यो देखेर योगीले कपाकप खाए ।

आफ्नो घरमा खाना न खाइहिँडेका योगीलाई खोज्दै नेता र कर्मचारी त्यहाँ पुगे । केही नभएको गरिबको घर त्यसरी खाएको देख्दा उनीहरू जिल्ल परे । उनीहरूले आश्चर्य मान्दै सोधे, “किन हजुर हाम्रो घरमा चौरासी ब्यञ्जन खानु भएन ? यहाँ त्यस्तो पनि रुच्यो ।”

योगीले भने, “हजुर, मलाई सच्चा कमाइको गन्धमात्र मनपर्छ ।”

###

तुलसी पण्डित नेपाली लघुकथामा धेरै लघुकथा लेख्ने स्रष्टा हुन् । उनी समाचार, देखाइ, भोगाइ र अनुभूतिबाट अनेक विषयगत लघुकथा लेख्छन् । हालसम्म पण्डितले करिब दश हजार जति लघुकथा लेखिसके । तर उनका सबै लघुकथा लघुकथा नभएर मात्र “गसिप” पनि भएका छन् भने उनका थोरै लघुकथा ज्यादै चोटिला पनि छन् । “सच्चा कमाइ” यही चोटिलो कथाहरूमघ्येको एक कथा हो ।