लक्ष्मी पौडेल

सधैंजसो कुखुराको डाकोभन्दा पहिले उठेर घरायसी कामकाज भ्याइसक्ने बम्मनलाल माझी आज अबेर गरेर उठ्यो । सञ्चो भएन होला भन्दै रामधुनीले पनि लोग्नेलाई उठाइन् ।

“के भो ? सञ्चो भएन ?”, उसले सोधी ।

“ठिकै छ । यस्तै हो, शरीर अलि भारी भएको छ ।”, उसले भन्यो ।

“काममा जाने होइन ?”, भन्ने स्वास्नीको प्रश्नमा उसले केवल, “जान्छु” मात्र भन्यो ।

रामधुनीले खाजा पोको पारिदिई । ऊ जाली बोकेर माछा मार्न हिँड्यो । भर्खरै उठेकी छोरीले, “बाई बाबा..” भन्दै हात हल्लाई ।

उसले खोलामा जाल फाल्यो । जतिपटक फाले पनि जालमा माछा परेनन् । पर्दै परेनन् ।

“बिहानैदेखि मन मानिरहेको थिएन । आज खाली हात फर्कनु पर्ने भो !”, उसले अन्तिम पटक जाल हाल्यो । एउटा सुनको औँठी जालमा अड्किएर आयो । ओर्काइफर्काई हेर्यो । “सुन नै हो” भन्ने यकिन भएपछि पाइजामाको गोजीमा सुरक्षितसँग राख्यो ।

ऊ घर नगइकन सिधै त्यसलाई बेच्न बजारतिर लाग्यो । सुनारले राम्रो मूल्य दिएर त्यो औंठी किन्यो । पैसा लिएर उसले चाहिए जति सरसमान, लुगाफाटो किन्यो । बाटोमा सोच्दै फर्क्यो, “बिहानीले दिनको झल्को दिन्छ भन्थे, मिथ्या रहेछ ।”

रामधुनीले एक एक गरेर सबै सरसामान, लुगाफाटो खोली । रातो धोती, रातै पेटिकोट । एक जोर चप्पल । छोरीलाई पहेंलो फुलबुट्टे जामा !
लोग्नेको मुखमा पुलुक्क हेरी । मायाले भित्रैदेखी च्वाप्प म्वाई खाई, मनमनै ।

झोलाको पोका सबै खोलिसकेपछि एकाएक रामधुनी खिन्न भई । छोरीले पनि कालो अनुहार लाएर आमाको मुखमा हेरिरही । उसले स्वास्नी र छोरीको भावभङ्गीमा अचानक परिवर्तन आएको देख्यो, र प्रश्नवाचक दृष्टिले आमाछोरीलाई हेर्यो।

“खै त माछा ?”, आमाछोरी दुबैको मुखबाट एकैचोटि निस्केको यो प्रश्नले बम्मनलाल माझी झल्याँस्स भयो ।