१. काल विभाजनको लघुकथा – हाम्रालाई कि राम्रालाई ?
कृष्णजी शर्मा
स्थानीय चुनाव नजिकिँदैछ । विभिन्न राजनीतिक दलहरूको चुनावी कोणसभा, र्याली र घरदैलो कार्यक्रम अन्तिम अवस्थामा पुग्दैछ । दिनदिनै कुनै न कुनै पार्टीको साना ठुला जत्था छिमेकी घरमा झैँ मेरो घरको कम्पाउण्ड गेटमै उभिएर कराउने गर्छन् , “घरमा को हुनुहुन्छ ? बाहिर निस्किनु पर्यो !”
मेरो घरको कम्पाउण्ड गेटमै ‘अनुमति बिना प्रवेश निषेध !’ लेखिएको सूचना बोर्ड टाँसिएकोछ । यो बोर्डले जो कोहीलाई मेरो घरको दैलोसम्म सिधै पुग्न अवरोध गरेकोछ ।
अरु बेला अति जरुरी पर्दा र अन्यायमा परेर न्याय खोजिरहँदा जनताको घरदैलोमा नपुग्ने तर दोषी र अपराधी बचाउन लाग्ने नेता र तिनका अघुवा पछुवाहरू चुनावताका हुलका हुल घरदैलो भन्दै झर्को लाग्ने गरी जसरी हुन्छ जनताको भोट तान्न हिँड्नु, ठीक लाग्दैन, मलाई ।
मेरी श्रीमती कम्पाउण्ड गेट सम्मै पुग्छिन् र विभिन्न पार्टीका स्थानीय उम्मेदवारहरू र उनीहरूसँग आएका कार्यकर्तालाई धैर्यतापूर्वक सुन्छिन् । आउने सबैका प्रायः एउटै आग्रह र अनुनय विनय हुनेगर्छ, ” तपाईंको घरको भोट हामीलाई फरक नपरोस् है ! बिगार्नु होला नि ! अन्त नपरोस् नि ……….!”
उनीहरूको अन्तिम याचना; अनुरोध, चेतावनी वा कसैको त नम्र धम्की जस्तो पनि लाग्छ । मानौँ, उनीहरू हाम्रो मतलाई आफ्नै मात्र अधिकार सम्झन्छन् । मलाई यस्तो महसुस हुन्छ कि, उनीहरू याचक हुन् , माग्ने अधिकार राख्छन् । हामी (जनता) दानवीर हौँ, माग्नेहरूलाई यथेष्ट दान दिन्छौँ ।
………
“प्रायः सबै पार्टीका उम्मेद्वार आफ्नै नातेदार र आफ्नै साथीभाइ छन् ! भोट कसलाई दिने ?” चुनाव आउनु दस दिन अघि श्रीमतीले मलाई अन्योल हुँदै सोधिन् ।
“हामीले, हाम्रा मत, हाम्रालाई दिने कि राम्रालाई दिने ?” मैले उल्टै श्रीमतीलाई नै सोधेँ ।
“राम्रा भन्या कस्ता हुन् र ? हाम्रा नै राम्रा हैनन् र ?”
“सबै हाम्रा, राम्रा नै छन् र ? हाम्रा मान्छेहरू अनैतिक, अनुशासनहीन् , भ्रष्ट प्रवृत्ति र मनसिकताका छन् भने; नैतिक, अनुशासित, निष्कलङ्क र इमानदार प्रवृत्ति र मनसाय भएका राम्रा उम्मेदवारलाई नै हाम्रा मत दिने हो । हाम्रा मत, हाम्रा मान्छेको लागि हैन, देश र जनताको लागि हो ।”
###
नेपाली लघुकथामा ७० को दशकलाई सञ्जालमैत्री काल भनिनु पर्छ । यही दशकबाट नेपाली लघुकथाले सामाजिक सञ्जालमा प्रवेष पाएको हो । यही कालमा उदाएका एक लघुकथाकार हुन् घनश्याम डल्लाकोटी “कृष्णजी शर्मा” । उनी नेपाली लघुकथाको बिकाशको लागि खटिएका एक कुशल अभियन्ता पनि हुन् । कृष्णजी शर्मा “नमस्ते आधुनिक लघुकथा मञ्च”को स्थापक एडमिन हुन् । उनी र उनको टिमले मानव सेवा र लघुकथाको विकाशको कार्यक्रम समानान्तर रूपमा अगाडि बढाइरहेको छ । यस समूहले “लघुकथाको सुगन्ध” नामक वार्षिक विशेषाङ्क पत्रिकाको रुपमा फरक र नौलो बिषयहरू उप्काएर लघुकथालाई थप चलाएमान बनाइरहेको छ । कृष्णजी शर्मा पुराना स्रष्टा हुन् । साहित्यको अन्य विधामा ३० वर्षदेखि कलम चलाउँदै आएका उनी लघुकथामा भने ७० को दशकमा देखापरे । लघुकथामा कलम चलाउन थालेपछि भने उनी लघुकथाको विकासमा पनि संगसंगै लागे । लघुकथाको लागि उनी एक अभियन्ता पनि हुन् । प्रस्तुत लघुकथा “हाम्रालाई कि राम्रालाई ?”ले भोट उमेदवारको लागि हैन जनताको लागि हो भन्ने मुद्दा उठाएको छ ।
===============
२. सङ्ग्रहभित्रको लघुकथा : घोषणा सभा
डा. विदुर चालिसे
उहिले उहिले राजाहरू खुब जन्मन्थे । उनीहरूको राज्य टाकुरामा हुन्थ्यो । तिनीहरूलाई भुरेटाकुरे राजाको रुपमा जानिन्य्यो । उनीहरूको जीवन र राज्य सञ्चालनको एक मात्र उपाय कर कर बुझाउनु थियो । ती राजाहरूलाई कदर राजा भनिन्थ्यो ।
– “सिर्तो तिरिबक्सियो !”
पछिल्लो समय कमाई धमाई भएका एक प्रजाले अर्को फुच्चे गरिव राजालाई सोधे । त्यतिबेला सिर्तो खुब प्रचलनमा थियो । सिर्तो अधिराज्यले जबरजस्ती लगाउने र उठाउने दणड थियो ।यसलाई अर्को अर्थमा कर भनिन्थ्यो ।अधिराज्यको चर्को प्रभाव भएको बेला त्यहाँका उमराव, पैकेला रमहन्तलाई कर उठाउने अधिकार महाराजद्वारा दिएको थियो । उनीहरूसंग भुरे राजा वा धनी प्रजाले कि सिर्तो तिर्नुपर्दथ्यो कि झुक्नुपर्दथ्यो ।
– “हजुरलाई त अकर बिर्ता हुने भो, हैन ?”
– “बरू गरेको निर्णय फिर्ता नहुने भो रे ! बिर्ता पनि थमौती ।”
– “कुरा कसरी मिल्यो त ?”
– ” खै ! केमा केमा हजुर कुरै भन्दैनन् ।”
दिक्क भएका टाकुराको राजालाई महन्थले भेटे । ती टाकुराका छोटा राजा थिए । त्यसैले तिनलाई छोटेराजा पनि भनिन्थ्यो । सिर्ता तिन्न नसक्नेलाई चोरी जारीको दण्ड दिने व्यवस्था पनि थियो । घुसको त कुरै थिएन । भष्टाचार त झन छदै थिएन । त्यहाका रैतीहरू आफूलाई रामराज्य समान राज्यका मानिस ठान्थे । सबतिर कर छुट थियो । एकदिन अबदेखि सिर्तोलाई भष्टाचार भन्ने भनेर महाराजाले घोषणा गरे । त्यसपछि सबै कर उमराव, पैकरा र महन्थको हातमा पुग्यो । सभ्य समाजका नागरिकहरू लुरु लुरू खोपिमा पुग्थे । खातापाता पनि तिनै बटुल्थे । कामको ढाँचा हेर्दा जताततै सिर्तो तिर्न नाकाहरू देखिन्थे ।
-“नाम चढ्नुपर्यो है, नाम ।”
– “सिर्तोको ? ए ल ल ।, मलाई पनि भाग ?”
– “अलिकति है । यो पाली कुरो मिल्यो ।”
वाक्क भएका अरू धेरै भुरे जनता थिए । तिनका आआफ्नै समस्याहरू थिए । उनीहरू एकदिन संगै बसे अनि सल्लाह गरे ।
– ” सिर्तो बुझाएको याने घुस ।”
– “छैन ।”
– “आफ्नो त आफन्त पर्थो ।”
– “ल बधाई छ । भाग्यमानी हुनुहुँदो रहेछ ।”
भष्ट्राचार उन्मूलन ऐन दराजमा थियो । सिर्तोको अर्थ शब्दकोषमा ।
– “तर राजा ! ठीक्क भो । ठीक्क ।”
गाउँलेहरू सबै लौरो लिएर लघारी लघारी आए ।
– “हामीलाई उल्लु बनाउँछौ ? गोर्खे लौरी कसौ ? तिमीहरूको राज धर्म समाप्त ?”
उहिलेका न अहिलेका राजा र राजा जस्ता जति सबै भागाभाग थिए । नयाँ राजाहरूको घोषणा सभामा बलमान राजा घोसेमुन्टो लगाएर लज्जा पोखिरहेका थिए ।
###
प्रस्तुत लघुकथा “घोषणा सभा” जलान लघुकथासंग्रहबाट लिइएको हो । यस लघुकथाको स्रष्ट हुन डा. विदुर चालिसे, जो बौद्धिक लघुकार हो ।
डा. विदुर चालिसेमा सामान्य कुरालाई पनि लघुकथामा उतार्न सक्ने खुबी छ तर उनका हरेक लघुकथा बौद्धिक छन् । भाषा, शब्द र प्रस्तुती भिन्न र क्रिष्ट छन् । डा. विदुर लघुकथाको समीक्षक र समालोचक पनि हुन् । प्रस्तुत लघुकथा “घोषणा सभा” भ्रष्टाचारको विरोधी लघुकथा हो । यहाँ प्रस्तुत गरिएका केही शब्दहरू बोलीचाली बाहिरको छन् । कथाले घुस इतिवृती बोलेको छ ।)
==========
३. समूहभित्रको लघुकथा : महादान
नवराज शर्मा
उनीहरु कहिले जिन्दाबाद भन्थे कहिले मुर्दाबाद । बा सोध्नु हुन्थ्यो,’ के का लागि यी बादहरू ?’
‘सुखी र समृद्धि, स्वतन्त्रता र स्वाभिमानको लागि ।’ उनीहरूको जवाफ हुन्थ्यो ।
सत्तामा बसेर मत्ता भएकाहरू उनीहरूलाई अ. त. अर्थात् अराष्ट्रिय तत्व भन्थे ।
बा उनीहरूलाई असल तत्व ठान्नु हुन्थ्यो ।
ज्यानको बाजी थापेर बा उनीहरूलाई लुक्न बास दिनुहुन्थ्यो, बाँच्न गाँस दिनुहुन्थ्यो; आफ्नु जीवन दाउमा लगाएर अभयदान दिनुहुन्थ्यो।
‘ सुनको बिहान आउँछ रे !’ बा कहिले ‘ महाकवि’ बन्नुहुन्थ्यो । ‘एक जुगमा एक दिन एकचोटि आउँछ ।’ बा कहिले क्रान्तिकारी कवि बन्नुहुन्थ्यो ।
सेतो हात्तीको अस्तित्व इतिहासको पानामा समेटिएपछि सडकमा नारा लगाउनेहरू सिँहदरबार पुगे, सत्तामा पुगे । आ-आफ्नो सङ्घर्षको बखान गरे, त्यागको गीत गाए । बाको योगदानको न त चर्चा भयो, न कदर नै भयो । अनि न कल्पेको त्यो ‘ सुनको बिहान आयो ‘ न सपना देखेको त्यो ‘एक दिन ‘ नै आयो । आयो त सधैँ झैँ घुमीफिरी ‘ निर्वाचन ‘ आयो । मतदान भयो । बा बाटोमा भेटिनु भो । सोधेँ, ‘ बा ! मतदान गर्नु भयो ?’
‘ मतदान होइन पुरुषत्व दान गरेँ ।’ बाको उत्तर थियो । बुढा सड्के कि जस्तो लाग्यो ।
‘ होइन के भन्नु भा’को ? कुरा बुझिन नि !’
‘ हो नि ! असल तत्व, असल नेता जन्मिहाल्छ कि !’ बाको जवाफ थियो ।
आशय बुझेपछि कोट्याएँ, ‘ जन्मिएन भने के गर्ने नि ?’
‘अब पनि नजन्मिए महादान गर्ने ।’
म केही नबुझेर बाको मुख हेरिरहेको थिएँ।
‘ अझ बुझेनौ ? महादान भनेको बलिदान ।’
‘बलिदान !’
‘हो बलिदान । अब पनि नसुध्रिए बोको पर्सियो भनी ठान्नु पर्छ ।’
म ट्वाँ परेर ठिङ्ग उभिरहेको थिएँ । ‘ के भन्या हुन् ‘ जनता ‘ बाले कुन्नि !’ को भाउमा ।
###
(सामाजिक सञ्जालमा लघुकथाको पेज खोल्ने श्रेय “लघुकथा कुनो”लाई जान्छ । यस समूहमा ३५ हजार पाठकहरू रहेका छन् । लघुकथाकार नारायण तिवारीको परिकल्पनामा यो समूहको स्थापना गरिएको थियो । लघुकथाकार नवराज शर्मा अनुभवी लघुकथाकार हुन् । उनी पछिल्लो समय समसामयिक लघुकथाहरू लेखनमा कृयाशील छन् । प्रस्तुत लघुकथा “महादान” आशा, क्रान्ति र भरोसाको कथा हो । कथाले निराशा पनि बोलेको छ । तर निराशामा पनि आशा जगाइएको छ । कथा खुल्ला समापनमा लेखिएकोले पाठकले आफ्नो अभिव्यक्ति पनि प्रस्तुत गर्न सक्छन् ।)
==========
४. समसामयिक लघुकथा : झर्को
खगेन्द्र बस्याल
स्थानीय चुनावको मिति तोकिएदेखि ती बाबू र छोराले कुनै आमसभा छुटाएनन् ।
केन्द्रीय नेताहरु पनि क ख ग घ ङ र च दलको सभामा आए । सवैले अरु दलका नेताहरूलाई हिलो छ्यापेर मात्रै फर्के।
चुनावको दिन नजिकै हुँदा बाबुले छोरालाई पुनः अर्को आम सभामा लान खोज्दै थिए । उसले भन्यो `अबदेखि म मात्रै होइन तपाईंलाई पनि जान दिन्न ।
उनी अचम्मै परेर सोधे ` किन बाबू?´
उसले भन्यो`अर्कोलाई हिलो छ्याप्ने र आफू पानी माथिको ओभानो हुने राजनीतिले देश बिग्रेको महसुुस भयो । हिलो छ्याप्ने बाहेक नेताहरूले अरु केही जानेका छैनन् र ! ´
###
चुनावी माहोल चलेको छ । यस समय चुनाव प्रचार-प्रशारमा नेताहरू आफ्नो एजेण्डामा भन्दा बिपक्षीहरूलाई गाली गलोचमा समय खेर फ्याकिरहेका छन् । कथाले यही समसामयिक बिषयलाई दुरुस्त उतारेको छ । खगेन्द्र बस्याल लघुकथामा समर्पित पाका लघुकथाकार हुन् । मानवीय चेतका लघुकथा लेखन उनको रुचि हो । प्रस्तुत लघुकथा “झर्को”ले अरूलाई गालिगलोच गर्ने नेताहरूबाट वितृष्णा जागेको समाजको एक झलक उतारेको छ ।
==============
५. मलाई मन परेको लघुकथा : आखिर भाेट कसलाई ?
तारा श्रेष्ठ
निर्वाचनका दिन जति जति नजिकिँदै गयाे उति उति घरदैलो कार्यक्रम तातिदैं गइरहेको थियो । निकै तामझामका साथ नेता तथा कार्यकर्ताहरु गाउँगाउँ, बस्तीबस्ती,घरघर पुगेर हात जाेडेर भाेट त मलाई नै दिनुहाेला भनेर विनम्र अनुरोध गर्दै थिए। भाेट माग्दा बिराला र जितेपछि सिंह जस्ता बन्ने नेताहरु झुपडी झुपडीमा अनुनय वीनय गरिरहेका थिए। चुनाव जित्न उनीहरू जनताकाे मन जित्नभन्दा पैसा खर्च गर्न र मत किन्न आतुर देखिन्थे । राज्यको स्रोत दुरुपयोग गरेर जनता किनेर चुनाव जितौंला भन्ने दम्भ प्रष्ट देखिन्थ्यो उनीहरुमा ।
उनीहरुसँग बिदा भएर घरभित्र मात्र पसेथें ।
बाहिर काेही सहयाेगकाे याचना गरेर,एक युगल देखा परे । झट्ट हेर्दा उनीहरू निम्नवर्गीय परिवारका झैं देखिन्थे । नमस्कार काे आदान प्रदानपछि थाहा भयो उनीहरु भाेट माग्न आएका रहेछन्। उनले भने – ‘हजुर म पढेलेखेको मानिस हूँ ,५० वर्षको भएँ,’ देशकाे खस्कदाे अवस्थादेखेर, केही गरेर मर्न पाए हुन्थ्यो भन्ने भिजन र मिसन लिएर अगाडि बढेकाे छु। आउँदाे निर्वाचनमा स्वतन्त्र उमेदवार भएर वडा अध्यक्षको रूपमा तपाईंहरुकाे वार्डकाे उमेदवारी दिएकाे छु।’
आश्चर्य मान्दै मैले साेधे – ‘अनि खै त तपाईंका कार्यकर्ता ? ब्यानर ?? झण्डा ??? ‘
उनले भने -‘हजुर दिनभर भाेट माग्न ,साथ र सहयोग गर्ने वहाँहरुलाई साँझ रक्सी मासु खुवाउने र हातमा थमाउने रकम मसँग छैन । म कसैलाई किनेर आफ्नो र आफु बिकेर अरुकाे बन्न सक्दिनँ ।’
###
तारा श्रेष्ठ नेपाली लघुकथामा पछिल्लो समय चर्चामा रहेकी लघुकथाकार हुन् । नारी स्वभाव, अनुभूति र आशाको ज्योती उनका लघुकथाको बिषयहरू हुन् । प्रस्तुत लघुकथा “आखिर भोट कस्लाई ?” छोटो कथा हो । कथामा संवादको राम्रो प्रयोग गरिएको छ । कथाले आदर्श र हुनुपर्ने कुरो बोलेको छ । विचारको दृष्टिकोणले कथा धेरै उम्दा छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।